समायोजन खबर खोटाङ, खोटाङमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सयवर्ष भन्दा पूरानो गुम्बा पुनर्निर्माण गर्ने भएको छ। २०७२ बैशाख १२ गतेको भुकम्पले क्षति गरेको केपिलासगढी गाउँपालिका–१ फेदीको तेछेन छोलिङ गुम्बा पुनर्निर्माण गर्ने भएको हो।
प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ बाट उक्त गुम्बा पुनर्निर्माणको प्रक्रिया अगाडी बढाएको छ। क्षति भएको सो गुम्बाको निर्माण मिति यक्किन पत्ता लाग्न नसके पनि सयवर्ष भन्दा पूरानो गुम्बा भएकाले पुनर्निर्माणका लागि टेण्डर प्रक्रिया भईरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका ईन्जिनियर अर्जुन राउतले जानकारी दिए।
यस्तै, प्राधिकरणले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा ५४ लाखमा बुद्ध छोलिङ गुम्बा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेमा ७९ लाखमा थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ गुम्बा पुनर्निर्माणको कार्य अघि बढाएको छ । ऐसेलुखर्क र मुढेको गुम्बा पुनर्निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता भईसकेको छ। उपभोक्ता समितिले ३०/३० प्रतिशत पेश्की समेत लगेको छ।
भुकम्प र पराकम्प गए पश्चात २०७५ बैशाख २१ गते कार्यालय स्थापना भएपछि जिल्लामा मर्मतका लागि १० वटा र पुनर्निर्माणका लागि ७ गरी १७ वटा गुम्बा छनोट भएको थियो। पुनर्निर्माणका लागि ऐसेलुखर्क, मुढे र फेदीको गुम्बा लागि मात्र वजेट आएको र बाँकी चार वटा गुम्बालाई वजेट नआएको ईन्जिनियर राउतले बताए।
मर्मत संभारमा १० वटा गुम्बा परेकामा ऐसेलुखर्क गाउँपालिकामा छेङ छोलिङ गम्बा, उर्गेन रेन्जिङ छोलिङ गुम्बा, तमु बुद्ध छोलिङ गुम्बा, केपिलासगढी गाउँपालिकामा बुद्ध छोलिङ गुम्बा, ङमदोङ छोलिङ गुम्बा, पेमा छोलिङ गुम्बा तथा साकेला गाउँपालिकामा नियाङला गुम्बा र ट्याम्के कर्मादोर्जे बुद्ध गुम्बाको मर्मतसंभार भई कार्य सम्पादन भईसकेको छ । ऐसेलुर्खकको छेजेलो रेन्जिङ छोलिङ गुम्बा र ओगेन साङाक छोलिङ गुम्बा भने समयमा सम्झौता गर्न नआएको कार्यालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology