समायोजन खबर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । मुलुकमा विकसित पछिल्लो परिस्थितिबारे छलफल गर्न एमालेले शनिबार संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान साढे १० बजे संसदीय दलको बैठक बस्ने बताइएको छ । यस्तै बालुवाटारमै दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
गत २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि नयाँ परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले जनाएको छ । तर, वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने दुबै बैठकमा उपस्थित नहुने भएको छ ।
नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले आफूहरु बालुवाटारमा बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने बताउनुभएको छ । ‘हामीबीच बैठकमा नजाने कुरो भएको छ,’ उहाँले भन्नुभयो ।
नेपाल समूहले चैत ५ गते बालुवाटारमै बोलाइएको संसदीय दलको बैठक बहिष्कार गरेको थियो । यस्तै प्रधानमन्त्री ओलीले चैत ३ गते बालुवाटारमा बोलाउनुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रमलाई पनि नेपाल समूहले बहिष्कार गरेको थियो ।
यसअघि फागुन २८ गते अध्यक्ष ओलीले आफूनिकटका केन्द्रीय सदस्यहरुको भेलाबाट गरेका निर्णयहरु फिर्ता नगरेसम्म बैठकमा सहभागी नहुने अडानमा नेपाल समूह देखिएको छ । उक्त बैठकका लागि प्रधानमन्त्री ओलीले नेपाल समूहलाई आमन्त्रण गर्नुभएको थिएन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology