समायोजन खबर खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा सञ्चालनमा ल्याइएका डुंगा कवाडीमा परिणत भएको छ । करिब ३३० मिटर लम्वाई र २१० मिटर चौडाई भएको बराहपोखरीमा जलयात्रा गर्दै पर्यटक आकर्षित गर्नका लागि २०७४ साल चैत १० गतेदेखि सञ्चालनमा ल्याइएको प्लाष्टिकका डुंगा कवाडीमा परिणत भएको हो । 
पाईदलले चल्ने तीन वटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा शयरको उचित व्यवस्थाले निरन्तरता पाउन नसक्दा पोखरीमा शयर गर्न प्रयोग भइरहेको हुनुपर्ने डुंगा हाल अलपत्र अवस्थामा थन्किएको छ । कतिसम्म भने डुंगामाथि स्थानीयले झ्याँस थुपारेका छन् । उक्त तस्विर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ ।
कार्यकर्तामुखी बजेट वितरणको परिणाम बराहपोखरीको डुंगा फोहोर फाल्ने भाँडो बन्न पुगेको कांग्रेसका महासमिति सदस्य बिष्णुकुमार राईले सामाजिक सञ्जालमा लेखेका छन् । ‘दीर्घकालिन र परिपक्व योजनाको अभावमा केवल आफ्ना कार्यकर्ताको मुख हेर्दाको परिणाम आज जलविहार होईन, फोहर वुट्यान राख्ने भाँडोको रुपमा यी प्लाष्टिक डुँगाहरु…!,’ जिल्ला विकास समितिका पुर्वसभापति समेत रहेका राईले प्रश्न गरेका छन्, ‘मेरो त चित्त कटक्क भयो, जुन निकाय वा व्यक्तिबाट लाखौँ वजेट यसका लागि खर्च भयो, यहाँ आएर एक पटक अनुगमन गरे त्यो निकाय वा व्यक्तिको चित्त थामिएला ?’
यसअघि बराहपोखरीका वडाध्यक्ष टंक मगरले डुंगा सञ्चालन कार्यविधि, नियम र समिति बनाएर ठेक्कामा दिने तयारी भइरहेको बताएका थिए । उचित संरक्षण र संबद्र्धनको अभावमा हालसम्म ओझेलमा रहेको बराहपोखरीको पर्यटन प्रबद्र्धनका लागि आव २०७३/०७४ मा तत्कालिन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईको निर्वाचन क्षेत्र विकास कोषबाट बिनियोजन गरिएको बजेटमध्ये ६ लाख ५० हजारमा भारतबाट एक पटकमा चार जना अट्ने तीन वटा डुंगा ल्याएर जलयात्राको व्यवस्था मिलाइएको थियो । दुई वटा डुंगा ल्याउनेक्रममा बाटैमा बिग्रिएर मर्मत गरिएको स्थानीय बताउँछन् ।
नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीमा डुंगा परिक्षण हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय आशावादी थिए । तर, कार्यकर्तामुखी बजेट वितरणले डुंगा अलपत्र हुंदा स्थानीयहरु निराश बनेका छन् । दुर्लभ रातो माछा पाइने बराहपोखरीमा संम्भावित अध्ययनविना डुंगा सञ्चालन गर्दा माछा समेत लोप हुंदै गएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology