समायोजन खबर खोटाङ, नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी कांग्रेसले गाउँ/नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ/नगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय गरेको छ ।
कांग्रेसले पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधि चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई नेपालको संविधानबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । उक्त निर्णय पार्टीको आगामी चौधौँ महाधिवेशनमा राखिने पार्टी कार्यालयले जनाएको छ ।
बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजील्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरल्याण्ड, स्वीडेन, स्वीट्जरल्याण्ड, साउदी अरब, बेल्जियम, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराइन, ओमन, फ्रान्स र लग्जम्बर्गस्थित नेपाली जनसम्पर्क समितिको अवधि समाप्त भएको मितिले आगामी असारभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि यही फागुन १५ गतेभित्र तोकेको उहाँले बताउनुभयो ।
साथै केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकिएको समेत उहाँले बताउनुभयो । बैठकले कांग्रेसको विधानबमोजिम क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा रमेश लेखक र सदस्यमा आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीलाई मनोनयन गरेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology