चिसाङ शेर्पा खोटाङ, खोटाङमा स्थानीयले निर्माण गरेको कृत्रिम ‘कांसाहोप ताल’मा पर्यटकको संख्या बढ्न थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले भंगेटारमा निर्माण गरेको तालमा दिनानु–दिन आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनकैबीच खार्मीको माथिल्लो भेग लेकगाउँका २२ घर स्थानीयले भंगेटार भनिने ठाउँमा निर्माण गरेको तालमा हाल दैनिक सरदर १०/१५ जना जिल्लावासी पुग्ने गरेका छन् । चाडबाडमा दैनिक ७०/८० जना आन्तरिक पर्यटक तालको भ्रमणमा आउने गरेको कांसाहोप ताल निर्माण समितिका सचिव दिपकुमार तामाङले जानकारी दिए ।
स्थानीयकै पहलमा स्वदेश तथा विदेशमा रहने समाजसेवीहरुवाट संकलन गरेको साना–साना सहयोग तथा श्रमदानवाट निर्मित तालमा व्यवसायिक रुपले २ वटा काठको डुंगा सञ्चालन गर्न थालेपछि आन्तरिक पर्यटक तालमा जान लोभिएका हुन् । हाल लाईफ ज्याकेटसहित तालमा डुंगा सञ्चालन भएपछि प्रतिव्यक्ती ७५ रुपैयाँ शुल्कमा २० मिनेट शयर गर्न सकिने व्यवस्था छ । तालमा आठ सय रुपैयाँमा डुंगा रिजर्भ गरेर एक घण्टासम्म शयर गर्न सकिन्छ भने, एकवटा डुंगामा एक पटकमा आठ जना शयर गर्न सकिनेछ ।
कांसाहोप, बाँझोबारी, रमितेडाँडा लगायतका ठाउँको पर्यटन प्रवद्र्धनका लागि स्थानीयले चन्दा उठाएर करिब ३ लाख ५ हजारको खर्चमा कृत्रिम ताल निर्माण गरिएको समितिले जनाएको छ । । जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाई गर्न मिल्नेगरी निर्माण गरिएको एल आकारको तालको वाहिरी घेरा ६ सय ७० फिटको रहेको छ । नियमित पानी उम्रने मुहान भएको सानो खाल्डोलाई लकडाउनकै बेला स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो ।
डुंगा सञ्चालनको लागि दुई–दुई जनाको टीम वनाईएको छ । डुंगा सञ्चालन वापत आम्दानी भएको रकममध्ये डुंगा चलााउनेलाई ५० प्रतिशत दिएर अन्य समितिमा राख्ने गरिएको छ । तामाङ भाषामा मटेंग्रा बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाई ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मटेंग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई कांसाहोप भनिएको स्थानीय बताउँछन् । तालसम्म पुग्नका लागि दिक्तेलवजार–मुढे–पैंयाँ हुँदै कच्ची सडक बनिसकेको छ । यस्तै दिक्तेलवजार–सोल्मा–तालखर्क–वाँझोवारी र खार्मी स्कुल हुँदै पनि कच्ची सडकमार्फत तालसम्म पुग्न सकिन्छ ।२०७७ कार्तिक १४ गते दिउँसो ४ :३३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology