समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सोलार बत्ती (सडक बत्ती) बल्न छोडेको छ । उज्यालो नगर बनाउने उद्देश्यले जडान गरिएको केही स्थानका सोलार बत्तीहरु वर्ष दिनमै बल्न छोडेको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा १ करोड १४ लाख ७८ हजारमा बिराट इर्नजी प्रालिले जडान गरेको १५० थान सोलार बत्ती मध्ये अधिकांश सोलार बत्ती मधुरो बल्ने र अन्त्यमा बल्नै छोडेको छ ।
नगरपालिकाको केन्द्र दिक्तेलबजार तथा अन्य १४ वडाको मुख्य–मुख्य स्थानमा जडान गरिएको सोलार बत्तीमा यस्तो समस्या देखिएको हो । अहिले दिक्तेलबजारको रत्नपार्क, सामुदायिक प्रहरी सेवा केन्द्र, माटिकोरे कर्भडहल नजिक जडान गरिएको सोलार बत्ती बलेको देखिन्दैन ।
बिराट इर्नजी प्रालिले आर्थिक वर्ष २०७५÷०७६ को असार मसान्तसम्म जडान गरेको सोलार बत्ती कतै नबल्ने र कतै मधुरो बल्नेजस्ता गुनासो आएको नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले जानकारी दिए । सोलार बत्ती ५ वर्षे ग्यारेण्टी भएकाले बिचमा यस्तै समस्या आउन सक्ने भएकाले नियमअनुसार काटिएको धरौटी रकम प्रालिलाई फिर्ता नदिई नगरपालिकासँगै रहेको सूचना अधिकारी भट्टराईले बताए ।
सोलार बत्तीमा समस्या आएको भनेर गत असारदेखी नै गुनासो आएको भए पनि कोरोनाको कारण हिड्डुल गर्न नसक्ने अवस्था आएकाले मर्मत गर्नमा ढिलाई भएको बिराट इर्नजी प्रालिका म्यानेजर सरोज शर्माले बताएका छन् । प्राविधिक कुरा भएकाले दशै अगाडीसम्म समस्याको समाधान गरिने शर्माले बताए । गुणस्तरीयतामा भने नगरपालिकाको मापदण्ड अनुसारकै सामान प्रयोग भएको उनको भनाई छ ।
नगरपालिकाबाट फोन गर्दा फोन नउठाउने गरेकाले बिराट इर्नजी प्रालिको धरौटी रकमले नै दक्ष जनशक्ति खोजेर तत्काल सोलार बत्ती मर्मत गरिने तयारी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।२०७७ असोज ८ गते बिहान १० :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology