समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उत्कृष्ट एकजना कर्मचारीलाई सम्मान गरेको छ । १७ औं निजामती सेवा दिवसको अवसर पारेर गाउँपालिकामा कार्यरत स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीलाई सोमबार सम्मान गरेको हो ।
गाउँपालिका स्थापनाकालदेखी स्वास्थ्य संयोजकको रूपमा कार्यरत मन्सुरीले गाउँपालिकामा आएका आरोह अवरोहरूको सामना गर्दै गाउँपालिकाको समृद्धि, विकास र अग्रगमनको लागी कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा अतुलनीय योगदान पु¥र्याएको तथा कोभिड–१९को महामारी र बढ्दो संक्रमण नियन्त्रणका लागी संचालन गरिएका कार्यक्रमहरूलाई सफल बनाउन सकृय रूपमा खटेकाले कामको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट निजामती कर्मचारीको रुपमा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य संयोजक मन्सरीलाई १० हजार नगदका साथमा प्रशंसा–पत्र प्रदान गरिएको छ । उनलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, उपाध्यक्ष सपना राई, प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद दाहालले माला र अविर लगाइदिएर प्रशंसा–पत्र प्रदान गरेका थिए । गतवर्षको निजामती सेवा दिवसमा आइटी अफिसर मणिचन्द्र राईलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएकोे थियो ।
‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाइदै आएको भए पनि कोभिड–१९ जोखिमका कारण सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले यसपटक कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन भनेको थियो ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोभिड–१९ प्रकोप नभएको ठाउँमा भने कार्यक्रम गर्न भनेको थियो । खोटाङमा कुनैपनि बाहिरी कार्यक्रमहरु नगरी कार्यालयमै बसेर निजामती दिवसको शुभकामना आदानप्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’को नारालाई कसरी साकार पार्न सकिन्छ आ, आफ्नो तहबाट भन्ने कुराको मनन् गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने, आफ्नो पदीय दायित्वबाट बिचलित नहुने, आफ्नो आचरण कायम राख्दै सेवा प्रवाह गर्नमा दत्तचित्त रहने भन्ने कुराको प्रतिवद्धता गरिएको प्रजिअ पौडेलले बताए ।२०७७ भदौ २२ गते साँझ ७ :३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology