समायोजन खबर खोटाङ, अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा आएको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता रहेका छन् । प्रहरीका अनुसार मंगलबार राति कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका–५ स्थित सैनी बजारका ३० पसल तथा घर बगाउँदा १७ जना बेपत्ता भएका थिए ।
तीमध्ये ६ जनाको शव भेटिएको छ भने बाँकी ११ जना अझै सम्पर्कविहीन रहेको रामारोशन गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिनुभयो । मृत्यु हुनेमा सैनी बजारका १३ वर्षीय नवीन साउँद, ३३ वर्षीया गौरी शाह र ४८ वर्षीय चन्द्र साउँद रहनुभएको छ । अन्य तीन जनाको सनाखत हुन सकेको छैन । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
मंगलबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले सैनी चुरेपानी बजार बगाउँदा ठूलो मानवीय क्षति भएको अध्यक्ष साउँदले जानकारी दिनुभयो । बर्षापछि आएको बाढीले बगाउँदा ठूलो मानवीय क्षति भएको छ,’ गाउँपालिका अध्यक्ष साउँदले हिमालय टाइम्ससँग भन्नुभयो, ‘सैनी चुरोपानी बजारको नाम निसाना छैन । अन्य धेरै ठाउँमा ठूलो क्षति भएको छ’, उहाँले भन्नुभयो । बाढीले धेरै खेत बगाएको बताउँदै उहाँले पशु चौपायाको पनि ठूलो संख्यामा क्षति भएको जानकारी गराउनुभयो ।
बाढीले बगेर बेपत्ता भएकाहरूको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बुधबार बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । सरकारले अछामको रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारका कार्यलाई अगाडि बढाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेटी तत्काल राहत र उद्धार कार्यलाई अगाडि बढाउने विषयमा छलफल गरेको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो ।२०७७ भदौ ४ गते बिहान ९ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology