समायोजन खबर खोटाङ, रोल्पामा नाइट भिजन हेलिप्याड निर्माण गरिएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको बताइएको छ । रोल्पा नगरपलिकाले सदरमुकाम लिबाङ बजारदेखि करीब ५०० मिटर दूरीमा रहेको सो हेलिप्याड मनोरम दृश्यसहित निर्माण गरेको हो ।
रोल्पा अस्पताल नजीकै रहेकाले बिरामी, विपद् र सुत्केरी महिलाको आपत्कालीन उद्धारमा सहजता होस् भन्ने उद्देश्यले उक्त हेलिप्याड निर्माण गरिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिनुभयो । “अब जतिखेर पनि बिरामीको उद्धार गर्न सकिने भयो”, केसीले भन्नुभयो ।
अघिल्लो वर्ष १५ लाख बजेट खर्चेर बनाइएको हेलिप्याड बर्सातसँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याएको थियो । “अघिल्लो वर्ष बनाएको हेलिप्याड भत्किएपछि यस वर्ष पिलर तथा सरिया बिछ्याएर ढलानसहित हेलिप्याड निर्माण गरिएको छ”, प्रमुख केसीले भन्नुभयो । सो हेलिप्याडका लागि यस वर्ष रु २० लाख थपिएको हो । “यस वर्ष थपिएको बजेटले हेलिप्याड निर्माणका साथै वरपरका संरचना पनि निर्माण भएको छ”, केसीले थप्नुभयो ।
बर्षातको मौसमसँगै रोल्पाका अधिकांश सडकमा आउने पहिराले छ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा विपद्मा परेकाले अकालमा ज्यान गुमाउने गरेका छन् । हेलिप्याड निर्माणपछि यस्तो समस्या भोग्दै आएका रोल्पालीलाई ठूलो राहत मिल्ने अधिकारकर्मी श्रीकुमारी रोकाले बताउनुभयो ।
जिल्लाका सुनछहरी गाउँपालिकाको पोवाङ, रुन्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा हेलिप्याड निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा नेपाली सेनाले लिएको थियो । रोल्पा नगरपालिकाको लिवाङमा निर्माण गरिएको हेलिप्याड भने नगरपालिका आफैँले निर्माण गरेको हो ।२०७७ साउन २७ गते दिउँसो २ :३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology