समायोजन खबर खोटाङ, बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएसँगै लुम्बिनीमा भिक्षुहरु वर्षावासमा बस्नुभएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा भए पनि यो वर्ष भने मलमासका कारण वर्षावास एक महिनापछि सरेको हो ।
थाइल्याण्डका केही भिक्षुहरु भने असार पूर्णिमादेखि नै वर्षावासमा बस्नुभएको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले जानकारी दिनुभयो । “असोजमा परेको मलमासका कारण यस पटकको वर्षावास एक महिनापछि सरेको हो”, भिक्षु मैत्रीले भन्नुभयो, “वर्षावास हिजो मङ्गलबारदेखि शुरु भई कात्तिकको कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।”
सोमबार साँझ लुम्बिनीमा विशेष धार्मिक कार्यक्रम गरेर भिक्षुहरु वर्षवासमा बस्नुभएको हो । लुम्बिनीको राजकीय बुद्ध विहारमा सोमबार साँझ आयोजना गरिएको धार्मिक कार्यक्रममा भिक्षु, गुरुआमा, स्थानीय बौद्ध उपासक उपासिका सहभागी हुनुभएको थियो । वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनभित्रका जीव तथा किरा बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्नुहुन्छ । बुद्धजन्मस्थल लुम्बिनीमा पनि विभिन्न विहारमा भिक्षुहरु वर्षावास बस्नुभएको छ । वर्षावास भनेको भिक्षुहरु तीन महिना एकै विहारमा बसेर अध्ययन एवं चिन्तनमनन गर्नु हो । वर्षाको समयमा मानिस खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरु यताउता आवतजावत गर्न गाह्रो हुने भएकाले भगवान् बुद्धले वर्षावासको व्यवस्था गर्नुभएको भिक्षुहरुको भनाइ छ ।
अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीका अनुसार लुम्बिनीका विभिन्न विहारमा २० भिक्षु वर्षावासमा बस्नुभएको छ । राजकीय बुद्ध विहारमा भिक्षु सागर धम्मको नेतृत्वमा तीन भिक्षु वर्षावासमा बस्नुभएको छ । यस्तै थाइ विहार, बर्मा, महावोधी सोसाइटी, श्रीलङ्का विहार, थेरवाद विहार, पण्डिताराम विपश्यना केन्द्र र धर्मोदय विहारमा भिक्षुहरु वर्षावासमा बस्नुभएको छ । भिक्षु मैत्री पनि वर्षावासमा बस्नुभएको छ ।
भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ । भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा विहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावास भनिन्छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ ।
भिक्षु सागर धम्मका अनुसार सिद्धार्थ गौतमले आषाढ पूर्णिमाको रातमा कपिलवस्तुका राजा शुद्धोधनकी रानी मायादेवीको गर्भमा प्रवेश गर्नुभएको थियो । उहाँले २९ वर्षपछि पूर्णिमाकै दिनमा महाभिनिष्क्रमण (घरबार त्याग) गर्नुभएको बौद्ध शास्त्रमा उल्लेख छ । अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि बुद्धले पहिलोपटक पाँच ब्राह्मणलाई शिक्षा दिनुभएको थियो । जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ अर्थात् आषाढ पूणिर्माकै दिनदेखि बुद्धधर्मको प्रचारप्रसार अभियान प्रारम्भ भएको मानिन्छ ।
वर्षावासको समयमा विहारमा दैनिक धार्मिक गतिविधि सञ्चालन हुने भएकाले उपासक उपासिका नियमितरूपमा विहार गई पञ्चशील ग्रहण गर्ने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान प्रदान गर्ने कार्यक्रम हुने भिक्षु धम्मले जानकारी दिनुभयो । वर्षावास बस्नुअघि भिक्षुहरूको सिमानाभित्र रहेको उपोसधगारमा भिक्षुसङ्घमा भेला हुुनु जरुरी छ । यसपछि भिक्षुसङ्घको सङ्घनायक अगाडि आफूले जानी नजानी गरेका भूल वा दोषहरू स्वीकार गरी क्षमादान गर्न आह्वान गरिन्छ । यस सङ्घकर्मलाई उपोसध कर्म भनिन्छ । यस उपोसधपछि आआफ्ना विहार वा आफूले इच्छा गरेका विहारमा भिक्षुहरू वर्षावासका लागि प्रस्थान गर्ने गर्छन् ।
वर्षावास बसेको अवसरमा एउटा छुट्टै पवारण भनी कार्यक्रमको व्यवस्था गरिएको हुन्छ । यस अवसरमा आफूले भोगेका पीरमर्का, कठिनाइ र आफूले गरेका भूल भिक्षुसङ्घ अगाडि आफूभन्दा ज्येष्ठ भिक्षुहरू सामुन्ने संयमित भई क्षमायाचना गरी पवारण विनय पालन गरिन्छ । आफूले गरेको भूलप्रति स्वीकार्न अनुरोध गरेकाले यस अवसरमा आत्मदेशना र पवारण विनय पालन गरिएकाले भिक्षुसङ्घले क्षमा स्वीकार गर्ने बताइन्छ ।
भिक्षुहरूको तीनमहिने वर्षावास अधिष्ठान सकिएको अवसरमा स्थानीय बिहारका उपासक उपासिका खुशीले कठिन उत्सव मान्ने परम्परा छ । उपासक उपासिकाबाट वर्षावास बसेका भिक्षुहरूलाई कठिन चीवर दान गर्नेछन् । उक्त दिनमा पूजापाठ, दान गरी भोजनको व्यवस्था गराइने बौद्ध उपासिका टस्का कट्टेल बताउनुहुन्छ । यसरी प्रत्येक वर्ष गरिने वर्षावास तथा कठिन उत्सव मनाउने गरिन्छ । यो कठिन उत्सव वर्षमा एउटा विहारमा एकपटक मात्र मनाइन्छ । कठिन दानको अवसरमा पूजापाठ गरी दान शील भावना राखी प्रवचन सुन्ने र भिक्षुगण, अनागरिक र अन्य श्रद्धालु भक्तजनलाई समेत निमन्त्रणा गरी भोजन दान गर्ने प्रचलन छ ।रासस,२०७७ साउन २१ गते बिहान ९ : २८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology