सन्जय कुमार राई खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा साबिक वडा नं. २ लेक्पा निवासी स्वर्गीय बुबा शेर बहादुर राई तथा स्वर्गीय आमा कावरलक्षी राईको आठ सन्तान, चार बहिनी चेलीहरु, चार भाई छोराहरु मध्येका माहिलो छोराका रुपमा जन्मिनु भएको हो प्रभुराम राई । बि.स १९९९ साल श्रावण २४ गते जन्मिनु भएको उहाँ २०१७ पौष १० गते बेलायती सेनामा भर्ति भई १६ वर्ष सेनामा जागिरे बन्नुभयो । नानिदेखि लागेको बानि साह्रै सृजनात्मक र रचनात्मक । भर्ति भएपछि वहाँले राईफल चलाउन मात्र जान्नुभएन, दिमाग चलाउन पनि जान्नुभयो, शत्रुलाई परास्त गर्न मात्रै सिक्नुभएन, समस्यालाई परास्त गर्न पनि सिक्नुभयो । विकसित मुलुकलाई देखेरै, भोगेरै पनि थुप्रै नयाँ ज्ञानहरु सिक्नुभयो र जान्नुभयो । जीवनको महत्वपूर्ण यौवन बेलायती सेनामा योगदान गरेपछि अवकाश जीवन आफ्नै जन्मभूमिमा फर्किएर जानेका सीप र कलाहरु, सपनाका बिउहरुलाई व्यवहारमै खेति गर्न थाल्नुभयो । देश फर्कन साथ समाजसेवाको साँचो राजनीतिमा प्रवेश गरि गाउँ फर्किएर २०४३ सालमा तत्कालिन बुईपा गाविसको प्रधानपञ्चको जिम्मेवारी सम्हाल्दै सम्पूर्ण बुईपालीहरुको सेवामा समय, श्रम र सीप लगानी गर्न थाल्नुभयो । नविनतम बिषयहरु बुईपामा सुरुवात गरि हाल्नु पर्ने उहाँको खास ब्राण्ड विशेषता नै बन्दै गयो । 
थुप्रै सामाजिक कामहरु गरिसकेपछि वहाँले एक नयाँ महत्वपूर्ण निर्माण कार्यको थालनी गर्नु भयो राजाबास खेल मैदान । निर्माणको सुरुवातमा आफैले १ लाख ५ हजार आर्थिक सहयोग गर्नुभयो । उहाँले बेलायत रहदै म्यानचेस्टर युनाईटेड क्लबको खेल मैदान देखेपछि आफ्नो जन्मभूमि र गाउँको युवाहरुको लागि देख्नु भएको सपना थियो जुन सपना साकार पार्नु थियो, जागिरे जीवनमा उहाँले थाईल्याण्ड, मलेसिया, सिंगापुर, ब्रुनाई, हंङकङ, स्कटल्याण्ड, साईप्रस, फिजी, ओमन,भारत, आयरल्याण्ड, बेलायतलगायत विभिन्न देशहरुको भ्रमण गर्नु भएको थियो । यहि विकसित मुलुकहरुको भ्रमणबाट पनि उहाँले खेलको महत्व, खेल संस्कृतिको महत्व बुझ्नुभयो । खेलकुदको भौतिक संरचना निर्माणहरुको बारेमा धेरै सिक्नुभयो । २०६४ को संविधानसभाको चुनावताका राजधानीबाट आफ्नो गाउँ आफै निर्माण गर्ने पवित्र चिन्तनका साथ ६/७ जना युवाहरु गाउँ फर्किएका थिए । उनै युवाहरुको साथ लिई उहाँ थप अगाडि बढ्नु भयो ।
कल्पनाशील व्यक्तिले नै सपना देख्छ तर, सबैले देखेका सबै सपनाहरु यथार्थमा परिणत हुदैनन् । तर वहाँले यो निर्माण कार्यको लागि बलियो अठोट कस्नुभयो २०६५ सालमा ६६ वर्षको पाको र अनुभवी उमेरमा सुरुमा उमेर अनुसारको कर्म भएन, सबैले सजिलै पत्याएनन्, तथापी कामले पत्याउने वातावरणहरु बन्दै गयो । तत्पश्चात जमिन खरीद गर्नुपर्ने भयो । बेलायत र हंङकङमा रहेका सबै माटोप्रेमी तन र मनहरुले १४ लाखको हाराहारीमा आर्थिक संकलन गरि सहयोग रकम हस्तान्तरण गरे । यहिदेखि यो खेल मैदानको आकार जन्मिएर स्थानीय औजारहरुको प्रयोग गर्दै २०६५ साल असार १५ गते विधिवत थालनी गरियो । कुटो कोदालो र झम्पलले खन्न थालियो, राँगाको छालामा माटो तानियो, जोश, जाँगर र उत्साहका साथ स्थानीय सबैले सहयोग गरे । सुरुमा २७ रोपनी किनीएको जग्गा हाल ३१ रोपनी जोडी सकिएको छ ।
प्रभुराम राई ।
प्रगतिका लागि प्रयासहरु निरन्तर हुदै गए । तत्कालीन गाविस परिषदबाट पहिलो पटक ५ लाख र दोश्रो पटक ३ लाखगरि जम्मा ८ लाखको सहयोग प्राप्त भयो जुन नेपाल सरकारको पहिलो सहयोग र लगानी थियो । राष्ट्रिय खेलकुद परिषदबाट दुइ पटक गरि ५ लाख प्राप्त भयो । यो श्रोतले किनी सकिएको र निर्माण सुरु गरिएको जमिनमा २०६६ सालदेखि जेसिभी मेशिनले मैदान सम्याउने काम सुरु गरियो । सुन्दर खेल मैदानको आकार बन्दै गयो, मैदानको ग्रेड मिलाईयो । माननीयद्वय पाँचकर्ण राई र सरस्वती बजिमयको सांसदीय विकास कोषबाट रु ४० लाखको लगानीमा सुन्दर र आकर्षक कार्यक्रम मंच स्थल निर्माण सम्पन्न भयो ।
यो प्रगतिहरु संगै मुलुकमा ऐतिहासिक तिन तहको चुनाव सम्पन्न भयो। खेल मैदानको प्रगतिले छलाङ्ग मार्न सुरु गर्यो । नेतृत्वकर्ताका अनुसार प्रदेश न १ को आ व ०७४/७५ को ५० लाख र आ व ०७५/७६ को थप ६० लाख आर्थिक सहयोगले द्रुत गतिमा आधुनिक प्याराफिट निर्माण हुदैछ । आ व ०७७/०७८ मा थप ५० लाख प्रदेशको बजेट बिनियोजन भएको छ । यसले थप प्रगतिहरु अगाडि बढाईनेछ । सम्पूर्ण खोटांगे खेलकुदकर्मी र दर्शक दर्शकदीर्घाको लागि यो खुसीको खबर हो । त्यसैगरि खेलाडीहरुले अब जिल्लामा पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदा चित्राको बारामा लुगा फेर्नु पर्ने बाध्यता रहेन आधुनिक चेन्जिंग रुम बन्दैछ खेलाडीहरुको लागि अनिवार्य र अत्यावश्यक सुविधा हो यो । 
जिल्लामा मैदान निर्माणको लहड नै चलेको छ । एकातिर अस्वस्थ प्रतिस्पर्धा छदैछ । आवश्यकताले हैन फेशनको रुपमा माटोको कुमारीत्व भंग गरिदैछ । केहि समुहले भने पहुँचको आधारमा बजेट खन्याइ दिन्छन स्थानीय सरकारहरुले । कुनैले प्रतिफल देलान् पनि पक्कै तर धेरै जसो बालुवामा पानि खन्याए सरह बन्दैछ । सबै कर्मको एक न्याय र प्राविधिक सिद्धान्त हुन्छ । सिद्धान्त विपरित निर्माण गरीएको लगानी खेर नै जाने हो । जिल्लामा निर्माणाधीन अधिकांश मैदानहरु खेल विज्ञान र खेल मैदान निर्माण प्राविधिक नियमको मापदण्ड विपरित छन् । धेरै जसो मापदण्ड विपरित बनेका मैदानहरु प्रयोगमा नआइ निकट भविष्यमा चौपायाको चरण स्थल बन्ने निश्चित देखिन्छ । यसो हुदा एकातिर राज्यको सम्पत्ति दुरुपयोग हुन्छ भने अर्कोतिर माटोको ओरिजिनालिटी र भर्जिनिटि मात्र ध्वस्त हुन्छ । युवाहरुको उर्जा र पसिना खेर जानेछ, ग्रामिण भेगको उर्वर जमिन नष्ट मात्रै हुनेछ । त्यसकारण जुन पवित्र र दुरदर्शी उद्देश्यका लागि खेल मैदान निर्माण गरिएको हो, भोलि उसैगरी प्रयोगमा नआउन पनि सक्छ जुन सबै पक्षलाई हानि मात्रै हुने निश्चित छ ।
तर, यो खेल मैदान भने जानकारीमा आए अनुसार अहिलेसम्म बनेकाहरु मध्ये खोटांग जिल्लाकै उत्कृष्ट प्राविधिक र वैज्ञानिक विधि र नीतिलाई अङ्गालेर निर्माण गरिएको खेल मैदान हो । अहिले यो खेल मैदानको लम्बाई १२५ मिटर र चौडाई ८५ मिटर, जबकि फिफाको अन्तर्राष्ट्रिय मापदण्ड नै न्युनतम १००/६४ र अधिकतम ११०/७५ लम्बाई र चौडाई हो। यो मैदानलाई थप बढाउन सकिने प्रशस्तै सम्भावना रहेको छ । निकट भविष्यमा यसलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ऐथलेटिक्स ट्र्याक एण्ड फिल्डसहितको एलईन वान खेल मैदानको रुपमा पनि निर्माण गर्न सकिनेछ । साथै यही मैदानको आसपास अन्य खेलहरुको लागि अत्याधुनिक कवर्डहल निर्माण गर्न सके सम्पूर्ण इनडोर खेलहरु एकै ठाउँमा आयोजना गर्न सकिन्छ । यसले दिक्तेल रुपाकोट मझुवागढी र खोटांङलाई नै खेल पर्यटनमा दिगो रुपमा टेवा पुर्याउन सक्छ । आउने दिनहरुमा राजाबास खेलमैदान (प्रस्तावित यलम्बरहाङ्ग खेल मैदान) को निर्माणमा लगानी गरिएको प्रत्येक पसिनाको थोपाहरुले न्याय पाउने निश्चित छ । दुरदर्शी युवा तथा खेलकुदप्रेमी अति आदरणीय व्यक्तित्व श्री प्रभुराम राई ज्युको सपना साकार हुदैछ । बुईपा ११ स्पोर्ट्स क्लबसँग आवद्ध युवाहरुको हत्केलामा उठेको ठेलाहरुले विस्तारै शितलताको अनुभुति गर्नेछन् । सबै खाले लगानीकर्ताहरुको लगानीले भोलिको दिनमा खेल प्रगति मार्फत विस्तारै खेलाडीहरुको कडा मेहनतसँगै फुल्ने र फल्नेमा कुनै शंकै रहेन अब । एक कोणबाट फुलेर चिचिला लाग्न सुरु गरिसकेको छ ।
तिनै ६/७ युवाहरुले उबेलादेखि, हालसम्म बुईपा र खोटांङको विभिन्न सामाजिक, साँस्कृतिक र राजनैतिक क्षेत्रमा नेतृत्व गर्दैछन् । उ बेला यी युवाहरुले खुबै संघर्ष गरे । सिकाईको पाईलाहरु यी सबै युवाहरुलाई यहि खेल मैदानले सिकाएको हो । सुरुमा सबैले मैदान र समाजलाई महत्वपूर्ण यौवन, श्रम र सीप दिए । अहिले समाजले उनीहरुलाई विश्वास दिएको छ, प्रेम र सम्मान दिएको छ । यहि विश्वासको डोरीको सहायताले सबै युवाहरु आआफ्नो क्षेत्रमा जम्दैछन्, जमाउदैछन । मनग्गे बुईपा र खोटाङलाई योगदान गरिरहेको र गर्न सक्ने देखिन्छ ।
फेरि पनि यो मैदान निर्माण कार्य सजिलै सकिनेवाला भने छैन । धेरै कामहरु बाँकि नै छन् । आगामी दिनहरुमा थप बजेटहरुको व्यवस्था गरि प्रवेशद्वार निर्माण गर्नुपर्छ । बेलायति दुबोे छरिएको छ, भर्खर उम्रिदैछ, यसलाई हुर्काउनु छ । मैदानको जग्गा र एरिया कम्पाउडिंङ र घेराबाराको काम गर्नुछ, नयाँ माटोमा भूक्षय रोक्ने जातको वनस्पति, अम्लिसो वा अन्य उन्नत जातको विरुवाहरु रोप्नुपर्छ जसले मैदानको आयु र दर्शकलाई लोभ्याउन सक्छ । पिउने पानीको व्यवस्थापन गर्नु पर्छ । भोलिको भविष्यलाई मध्यनजर गरि खेल मैदान आसपास नयाँ एकीकृत वस्ती विस्तारसँगै बजार व्यवस्थापन गरिनु अबको अपरिहार्य आवश्यकता रहेको छ ।
धेरै पुर्खाहरुले बेलायती सेनामा यौवन बिताए । अवकाश पश्चात मुलुक फर्किए । कुनै न कुनै क्षेत्रहरुमा नयाँनयाँ कामहरु हामीलाई सिकाए । महत्वपूर्ण योगदानहरु गरे, अझ गर्दैछन् । वहाँहरुप्रती उच्च सम्मान छ । प्रभुराम राईले समाजको विभिन्न क्षेत्रहरुमा महत्वपूर्ण योगदानहरु पुर्याउनुसँगै नयाँ युवा पुस्ताहरुको लागि अति महत्वपूर्ण भौतिक संरचना उपहार दिनु भएकोमा अति आदरसहित उच्च सम्मान छ । प्रत्येक जिल्लाहरुमा एकएक जना प्रभुराम राईहरु मात्रै जन्मिए पनि ७७ वटैै जिल्लामा एक एक ओटा नयाँ खेल मैदान बन्ने थियो । यस अर्थमा पनि बुईपाली र खोटाङगे जनताहरु भाग्यमानी हौ । पाको उमेरमा पनि समाजलाई उर्जाशील युवाको स्तरमा पुर्याउनु भएको यो ऐतिहासिक र महत्वपूर्ण कार्यको लागि विशेषत बुईपाली र खोटाङगे जनताहरुले उहाँलाई भुल्नु हुदैहुन्न । यो मैदान यो अवस्थासम्म आई पुग्नुमा सबैको महत्वपूर्ण योगदान रहेको छ । सबैको नाम उल्लेख गर्न नसकिए पनि यहाँ भूल्नै नहुने एक नाम हो स्वर्गीय समाजसेवी व्यक्तित्व आदरणीय हिराधन राई बुईपा छिप्ति निवासी, वहाँ सधै भन्नुहुन्थो । बुईपाली युवाहरुले बुईपा ईलेभेन स्पोर्ट्स क्लब स्थापना गरि खेलकुदको चिराग बालेको ठाउँ अब जाज्वल्यमान हुदै गएको छ । यसरी उहाँहरुले सुरुवात गर्नु भएको खेलकुदको विकासे ग्रावेलमा नयाँ पुस्ताले पिच निर्माण गर्नु निकै चुनौतिपूर्ण छ र उत्तिकै जरुरी पनि छ । 
अन्त्यमा यहि मतिमा यो खेल मैदान निर्माणको कामहरुले गति लिए बिस्तारै सबै समस्याहरु समाधान हुनेमा विस्वस्त छु । सबैका अति प्रीय अनि कर्मले सबै युवाहरुको मन जित्दै अगाडि बढेका दिनेश राई वडा अध्यक्ष रहेको वडाभित्र निर्माणाधीन खेल मैदान स्तरीय र गुणस्तरीय बन्नेमा ढुक्क छु । एक खेलकुदकर्मी युवा र सचेत नागरिक हुनुको नाताले ढिलै भए पनि समाजमा हुदै गरेको चौतर्फी विकास देखेर मख्ख पनि छु ।
अब यो सपना अति आदरणीय श्री प्रभुराम राई (पासुङ्गरपुर्खा) र बुईपालीहरुको मात्रै रहेन । यो सपना अब सबै खोटाङगेहरुको साझा सपना बन्नुपर्छ । सबैले आआफ्नो पदीय हैसियत अनुसार सक्ने दिलदेखिको निस्वार्थ सहयोग गर्नुपर्छ । समाजका जिम्मेवार नागरिकहरु, सम्पूर्ण खेलकुदकर्मीहरु, समाजसेवीहरु, राजनीतिकर्मीहरु सबै सबैले सहयोग र संकल्प गरौ, प्रदेश न १ कै पहाडी जिल्लाहरु मध्येकै नमुना र उत्कृष्ट खेलमैदान निर्माणका लागि सबै लागि परौ म विनम्र अनुरोध गर्दछु । 
आगामी दिनहरुमा थप प्रगतिहरु हुदै जाओस खोटाङगे जनताहरुको कामना छ । खोटाङगे युवाहरुले छिट्टै आधुनिक र स्तरीय खेलमैदानमा फुटबल खेल्न पाउन् । साथै प्रदेश न १ कै चर्चित फुटबल प्रतियोगिताहरु बुढा सुब्बा गोल्डकप धरान, उदयपुर गोल्डकप गाईघाट, बिराट गोल्डकप मोरंग, माई भ्याली गोल्डकप ईलाम, झापा गोल्डकप झापा, मदन भण्डारी गोल्डकप ईटहरी, मनमोहन गोल्डकप दुहबी, फाल्गुनन्द गोल्डकप पाँचथर, नारदमणि थुलुङ्ग गोल्डकप बसाहा उदयपुर, जस्तै यो मैदानले पनि ऐतिहासिक र सफल यलम्बरहाङ्ग गोल्डकप खोटाङमा आयोजना गर्न सकोस । मुलुककै व्यावसायीक ए, बि र सी डिभिजन लिग खेल्न सक्ने खेलाडीहरु उत्पादन हौउन शुभकामना छ । खोटाङगेहरुले छिट्टै नै यहि खेल मैदानमा प्रतिष्ठीत १ न मुख्यमन्त्री कप प्रदेश लिगहरु हेर्न पाओस । आयोजनाको लागि सबैले पहल गरौ ।
लेखक : सामाजिक अभियन्ता तथा नेपाल सितोरियो कराते संघ खोटांगका अध्यक्ष हुन् ।
२०७७ असार १५ गते बिहान ११ : ४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology