समायोजन खबर खोटाङ, शनिबार भारतबाट तराई प्रवेश गरेको सलह किरा खोटाङका विभिन्न स्थानमा पनि देखिएको छ । ठूलो समुहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा फाट्ट–फुट्ट मात्रामा देखिएको हो । शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ । 
वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माल्खुमा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । ‘बालीनालीमा देखिएको छैन, घरको भित्तामा आएर बसेको अवस्थामा २०–२५ वटा सलह फेला परेको छ,’ नगरप्रमुख राईले भने, ‘ठूलो समुहमा देखिन्न । पानीले रोकेर घरमा ओत लागेको हुन सक्छ ।’
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको बैंकचोकका एक पशल, सरस्वती माबिको भित्तामा पनि केही सलह किरा फेला परेको छ । बैंकचोकमा भेटिएको सलह किरा स्थानीयले पहिचानका लागि लिएर आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनीले बताए । ‘झट्ट हेर्दा ठ्याक्कै सलह जस्तै देखिन्छ । हामीले सलह नै ठाने पनि यकिन हुन भने बाँकी छ,’ कृषि प्रशार अधिकृत कलौनीले भने, ‘यसको पहिचानका लागि किट विज्ञान महाशाखा, कृषि मन्त्रालय र प्रदेशमा पठाइएको छ । त्यहाँबाट यसको आधिकारिक पुष्टी हुन्छ ।’
झुण्डमा देखिनुपर्ने सलह एक–दुई वटा मात्र देखिएको विषयमा अध्ययन भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले पनि दिक्तेलमा छिटफुट सलह किरा फेला परेको जानकारी आए पनि पूष्टी हुन बाँकी रहेको बताए ।
२०७७ असार १४ गते दिउसो १ :३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology