• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उभौली सुरु, छैन रौनक

उभौली सुरु, छैन रौनक


समायोजन खबर
  • बिहिबार, बैशाख २५ २०७७

  • गतवर्ष माटिकोरे खेलमैदानमा साकेला नाच्दै किराती समुदायका मानिसहरु ।

    चिसाङ शेर्पा खोटाङ, किरात समुदायको महान चाड साकेला उभौली शुरू भएको छ । बैशाख पूर्णीमाको अवशरमा पुर्वी खोटाङ सहित किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला उभौली सुरु भएको हो । किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आई नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको छ ।

    साकेला पर्वको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला नाच्ने प्रचलन छ । साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा दुई पटक महिना दिनसम्म मनाईन्छ ।

    तर, यसवर्ष कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनिकरण तथा रोकथामा लागि सरकारले देश लकडाउन गरेपछि विधिवत रुपमा मात्रै साकेला चाड मनाइएको छ । १५ बैशाखमा किरात राई यायोक्खा केन्द्रीय कार्य समितिले यसवर्षको साकेला धुमधामका साथमा नमनाउन निर्णय गरेकाले अधिकतम २५ जनाको सहभागिता र भिडभाड नगरी सामाजिक दुरी कायम गर्दै साकेला चाड मनाउन जिल्लामा रहेका सम्पूर्ण साकेलासँग सम्बन्धित संघ, संस्था, पाछा, वंश, साकेला पगरिलाई अनुरोध गरिएको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले जानकारी दिए ।

    २३ बैशाखमा कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको आयोजनामा किरात राई यायोक्खा जिल्ला कार्य समिति बैठकले पनि विधिका रुपमा मात्रै नेपाल सरकारले जारी गरेको नियम अनुसार साकेला मनाउने निर्णय गरेको थियो । जिल्लामा हरेक वर्ष किरात राई यायोक्खाको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीमा सामूहिक साकेला नाचेर विधिवत रुपमा उभौली सुरु हुने गर्दथ्यो । तर, यस पटक यायोक्खाको कार्यालयमा विधिवत साकेलाको औपचारिक सुरुवात गरेर बिहिबार थोरै संख्यामा मझुवागढी पुगेर औपचारिकता मात्र निभाइएको छ ।

    चाडवाड मनाउनेक्रममा नेपाल सरकारले तोकेको अधिकतम २५ जनाभन्दा बढिको उपस्थिति नगर्न/नगराउन तथा दुई व्यक्तीबीचमा अनिवार्य न्यूनतम १ मिटरको सामाजिक दुरी कायम गर्न आग्रह गरिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङले बताए ।
    साकेन्वा, साकेवा, साकेला लागायतका नामबाट चिनिने साकेलाको अवशरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा रहिआएको छ । साकेलाको अवसरमा महिना दिन आफन्त, साथीभाई, नरनाता, छरछिमेकबीच पारिवारिक तथा ब्यक्ति–ब्यक्तिबीच भेटघाट गर्दै उभौली चाडको शुभकामना आदान प्रदान गर्ने चलन भएता पनि यस वर्ष त्यस्तो हुने छैन । कोरोना भाइरस संक्रमण फैलिने त्रासले साकेलाको रौनक छैन । ढोल, झ्याम्टाको आवाज गुन्जयमान हुने छैन । साकेलाको शुभकामना यसवर्ष फोन र सामाजिक सञ्चालबाटै साटासाट हुनेछ ।

    साकेला पर्व र साकेला नाचको शुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको शुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । यद्यपी, किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन् । उभौली पर्व खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाईन्छ । २०७७ बैशाख २५ गत साँझ ५ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology