समायोजन खबर खोटाङ, यूएई (दुबई)मा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदीप तामाङको शव स्वदेश ल्याउन समस्या भएको छ । भिजिट भिसामा यूएई पुगेको अवस्थामा गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्काउन समस्या भएको हो ।
कम्पनीमा आवद्ध हुनु अगावै ज्यान गुमाएका तामाङको शव हाल रसिदिया अस्पताल दुबईमा राखिएको छ । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालको रिपोर्टमा उल्लेख छ । ‘लकडाउन’ सुरु भएपछि मात्र तामाङको मृत्यु भएको जानकारी प्राप्त भएकाले यस अवधिमा शव नेपाल पठाउन नसकिएको खोटाङ सेवा समाज यूएईका अध्यक्ष हिमाल गुरुङले बताए ।
तामाङको शव निकाल्नका लागि अस्पतालले पटक–पटक फोन गरिरहेको भए पनि ‘लकडाउन’का कारण उडान नहुँदा शव अस्पतालमै राखिएको छ । भिजिट भिसामा यूएई गएको र कम्पनीमा आवद्ध भइनसकेकाले तामाङको शव नेपाल ल्याउनका लागि नेपाली दुताबासले पनि अपेक्षित सहयोग गर्न नसकेको यूएईमा रहेका नेपालीको गुनासो छ । तत्काल ‘लकडाउन’ खुल्ने सम्भावना नभएको र अस्पतालले बारम्बार शव हटाउनका लागि फोन गरिरहेकाले शव यूएईमै अन्त्येष्टी गर्नुपर्ने बाध्यता आएको हिराधन चाम्लिङले बताए ।
सुदीप परिवारका एक्लो छोरा हुन् । रोजगारीका सिलसिलामा यूएई पुगेको केही समयपछि उनको मृत्यु भएको हो । परिवारले भने सुदीपको शव नेपाल ल्याउनका लागि याचना गरिरहेका छन् । उनको शव घरसम्म ल्याउने वाताबरण मिलाइदिनका लागि परिवारले पटक–पटक आग्रह गरिरहेको चाम्लीङले बताए । उडान नहुँदा यूएईमा ११ नेपालीको शव रोकिएको जनाइएको छ । २०७६ चैत २९ गते अपरान्ह ४ :३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology