समायोजन खबर खोटाङ, कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि यतिबेला देश लकडाउन गरिएको छ । लकडाउनको आज १७ औं दिन आइपुग्दा लकडाउनको प्रभावकारिता, दैनिक आपूर्ति व्यवस्थापन लगायतका विषयमा खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलसँग समायोजन खबर डटकमले कुराकानी गरेको छ ।
लकडाउनको अवस्था कस्तो छ ।
बैशाख ३ गतेसम्म लकडाउन पुनः थपिएको छ । सबै मिडिया र प्रशासनले अनुगमन गर्दा लकडाउनको अवस्था खोटाङमा प्रभावकारी ढंगले पालना भएको महशुष गरेका छौ । र, जति पनि मिडिया हेरेको छु त्यसबाट पनि लकडाउन प्रभावकारी रुपमा लागू भएकोे महशुष गरेको छु ।
खासगरी लकडाउन बजार केन्द्रीत देखिन्छ, गाउँघरसम्म प्रभावकारी बनाउन के उपाय अपनाइरहनु भएको छ ।
तपाईले सरकारको पछिल्लो निर्णय हेर्नुभयो भने दुरी कायम गरेर आफ्नो परिवारभित्र, आफूले गर्दै आएको खेतीपातीहरु गर्नका लागि कुनै अफ्ठ्यारो छैन । कोभिड १९ को उच्च जोखिम छैन भन्ने कुरा केन्द्रीय सरकारले पछिल्लो निर्णय गरेको छ । यसबाट के बुझिन्छ भने गाउँघरमा घाँस दाउरा गर्न, हिड्नै नहुने, खेतीपाती गर्नै नहुने भन्ने हैन, तर त्यहाँ के हो भने आफ्नो परिवारभन्दा बाहिरबाट आयो, बिदेशबाट आयो, पाहुना आयो भने तिनिहरुसँग चाँहि दुरी कायम गर्नुप-र्याे ।
डब्ल्यूएचओले निकालेको तथ्यमा पनि एक मिटरको दुरी कायम गर्न, संक्रमति व्यक्तिको थुक, सिगान मुख, नाक, आँखाबाट भित्र नछिरेसम्म कोरोना रोगबाट संक्रमित भइन्न भन्ने कुरा प्रमाणित भएको अवस्था छ । त्यसो भएको हुनाले गाउँघरमा एकदमै हिडडुल नै गर्न हुन्न भन्ने चाँहि हैन भन्ने कुरा सरकारले पनि जारी गरेको छ । त्यही किसिमले गाउँमा हामीले अहिले धेरै कडाइ गरेका छैनौ, गाउँमा अलिक संम्भव देखिएन तर त्यसबाट त्यति उच्च जोखिम देखिन्दैन ।
बाँकी लकडाउनलाई अझ प्रभावकारी बनाउन के उपाय अपनाउनु हुन्छ ।
एकदम हामी यसमा चाँहि लागि परिरहेका छौ । टाढाको बजारको चाँहि मैले पनि सूचना लिने हो । सवै व्यापारिक र ठूला बजारमा पुग्न सकेको छैन । तर दिक्तेलबजारबाट हामीले अन्दाज गर्न सक्छौ कि लकडाउन धेरै नै प्रभावकारी भएको छ । कतीपय मिडियाबाट त के पनि आएको छ भने गाउँघरमा झन सचेत रहेछन् नागरिक । दिक्तेलबजारलाई हामीले बढी फोकस गरेका छौ । बजारमा संक्रमण हुने संम्भावना बढी हुन्छ । हामीले खोलेको २ घण्टाको समयमा पनि धरै भिडभाड छैन सामान खरीदका लागि । सामान किन्नेलाई पनि हामीले दुरी कायम गर्न भनेका छौ ।
त्यसो भएको हुनाले आजसम्म लकडाउन प्रभावकारी छ । अब बैशाख ३ सम्म पनि प्रभावकारी रुपमा कार्यान्यवन गर्छाै । हामीलाई खोटाङगे जनताले पूर्णरुपमा साथ दिएका छन्, बाँकी दिनहरुमा पनि साथ दिनेछन् भन्नेमा विश्वस्त छौ ।
कतीजना क्वारेन्टाइन, कतीजना होम क्वारेन्टाइनमा राख्नु भएको छ ।
विभिन्न पालिकाहरुले ३७५ वटा क्वारेन्टाइन बेड बनाएका छन् । पालिकाहरुले बनाएको बेडमा नभएर जनरल्ली बिदेशबाट आएका यात्रुहरुको संख्या, भारत र तेश्रो मुलुकबाट आएका १३८ जना छन् । १३८ जनामध्ये पालिकाले बनाएको क्वारेन्टाइनमा १७ जना, बाँकी सवै होम क्वारेन्टाइनमा रहेको छ । होम क्वारेन्टाइनमा १३८ जना मात्रै नभएर उहाँहरुको सवै परिवार होम क्वारेन्टाइनमा रहेका छन् ।
अबको हाम्रो पहिलो प्राथमिकता भनेको क्वारेन्टाइन हो । विदेशबाट आएकाहरुको खोजी खोजी र ति सँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सबभन्दा पहिला क्वारेन्टाइनमा राख्नु नै हो । दोश्रोमा संकास्पद चैत महिनाभित्र जिल्ला छिरेकालाई क्रमशः स्वाव संकलन गर्ने र परिक्षणमा लाने, विदेशबाट आएका काहुलेका १ जनाको स्वाव परिक्षण ग¥र्यौ नतिजा नेगेटिभ आयो । र, तेश्रोमा राहत वितरण हो ।
राहत वितरणमा पनि साँच्चिकै लकडाउनका कारण बेरोजगार भएर गुजारा चलाउन नसकेका को हो त ? वडामा वडा संयन्त्र बनेको छ । त्यस संयन्त्रले पहिचान गरेर राहत बाडौं, खानाबिना मर्न पनि दिनु भएन जनतालाई भनेर सवै स्थानीय तहलाई सुझाव दिइरहेको अवस्था छ ।
स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) पाएका छन कि छैन ।
यसमा पनि खोटाङ अघि छ । हामीले विभिन्न ढंगले व्यक्तिगत पहलबाट १ सय पिपिई खरीद गरिसक्यौ, ८/१० दिन अघि स्वास्थ्यले ५० थान, अहिले फेरी अर्को ५० थान पिपिई जिल्ला प्रशासन कार्यालयलाई प्रदेश सरकारले दिएको ५ लाखबाट २ लाख बजेटको काठमाण्डौ गएर किनेर ल्याई स्वास्थ्यलाई जिम्मा लगाएका छौ ।
पिपिई सदरमुकाममा राखेर आवश्यकता अनुसार दशैवटा स्थानीय तहमा कहाँ आवश्यक पर्छ, कहाँ सटेज हुन्छ त्यहाँ पिपिई दिन्छौ । यसको अलवा विभिन्न स्थानीय तहले खरीद गरेको सहित करीव १५० थान पिपिई सुरक्षित छ । ८/१० थान मात्रै पिपिई प्रयोग भएको छ ।
जिल्लामा आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ।
आपूर्ति व्यवस्था त अहिले स्वचालित ढंगले भइरहेको छ । यसमा प्रशासनले, पालिकाले हस्तक्षेप गर्नुपर्ने अवस्था छैन । किनभने अहिले सटेज हुन लाग्यो, अभाव भयो, कही कालोबजारी भयो, कसैले ओभरस्टक ग¥र्यो भने त एक्सनमा जानुपर्ने हो प्रशासन । अहिले कसैले पनि किनेर खान पाइन भन्ने अवस्था छैन । तर, यसको लागि पनि पूर्वतयारी गरीरहेका छौ ।
खाद्यान्न अभाव भयो, तल तपाईले पाउनु भएन, कहाँ जाने, यदि भारतले दिएको खाद्यान्न विराटनगर, इटहरी, उदयपुरसम्म आएको खण्डमा लिन जानलाई दैनिक कतीवटा ट्रक जाने, ट्रक नपाइए सेनाको ट्रक परिचालन गर्ने लगायतको अभ्यास गरेका छौ । अहिले तत्काललाई खाद्यान्न घरघरमा पु¥र्याउनुपर्ने अथवा कहाँबाट ल्याउने भन्ने अवस्था आइसकेको छैन । स्वचालित ढंगल बजारमा खाद्यान्नको आपूर्ति भइरहेको छ ।
लकडाउनले दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्नेको गाँस गुमेको छ । उनीहरुलाई प्रशासनले के गर्ने व्यवस्था छ ।
बाहिरबाट आएका केही मजदुरहरु सडक, हाइड्रोपावर, भवन निर्माणका क्रममा रोकिएका थिए । पहिलो लकडाउनको अन्तिमतिर हामीलाई परिपत्र आएको थियो । काम गर्न गएर फसेका मजदुरहरुलाई गृह जिल्लामा पठाउनका लागि सम्बन्धित निर्माण व्यवसायी, प्रोजेक्टले पास माग गरेमा तिनिहरुको सुरक्षा प्रत्याभूति हुनेगरी मान्छेहरु लान दिनु भनेपछि ४/५ दिनमा धेरै मजदुर जिल्लाबाट गृह जिल्ला गए ।
अब, बाहिरबाट आएका मजदुर र दिनभर काम गरेर जिविका चलाउने मजदुर छन् । त्यस्ताहरुको पहिचान गरेर राहत बाँड्ने काम सुरुवात भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मात्रै करीव १५ सय जनालाई राहत बाँडेको छ । अरु पालिकाहरुको रेकर्ड आउँदै छ । लकडाउनबाट बेरोजगार भएकाको पहिचान गर्दै र एकद्धार प्रणाली लागू गरेर राहत बाँड्ने तयारी भइरहेको छ ।
तपाईको चाँहि लकडाउन अनुभव कस्तो छ ?
थोरै देखिएको समस्या के छ भने, ओहोरदोहोर गर्न जस्तो यहाँ फसेका कर्मचारी अथवा कोही र बाहिर फसेका मान्छे यहाँ आउन चाहाना गरेको देखिन्छ । त्यसको लागि पासमा हामीले कडाइ गरेका छौ ।
तीनवटा कुरामा मात्रै हामी पास दिन्छौ । डाक्टरको सिफारिसमा बाहिर लानुपर्ने बिरामी, खाद्यान्न ढुवानी गर्न उधोग वाणिज्य संघले सिफारिस गरेको आधारमा चालक, सहचालक, गाडी र इन्धन र औषधिको लागि चालक, सहचालक र गाडी बाहेक हामीले दिएका छैनौ बन्द । पत्रकारका लागि भने कानुन बमोजिम पास दिएका छौ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि मिडियाको ठूलो भूमिका हुने भएकाले समाचार संकलनका लागि पत्रकारलाई पास दिएका छौ । अन्यलाई पास ठप्प गरेका छौ । यो तपाई हाम्रै लागि हो ।२०७६ चैत २७ गते साँझ ६ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology