खानीडाँडा विमानस्थलमा परिक्षण उडान

खानीडाँडा विमानस्थलमा परिक्षण उडान




चिसाङ शेर्पा खोटाङ,
खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा परिक्षण उडान भरिएकोे छ । २०७५ साल जेठ १ गतेबाट उडान तथा अवतरण बन्द रहेको विमानस्थलमा मंगलबार नेपाल वायुसेवा निगमको ट्वीनेटर विमानले सफल परिक्षण उडान भरेकोे हो ।

०७५ जेठ १ गतेको भारी वर्षाका कारण बिमानस्थलको ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा बिमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको बिमानस्थललाई नेपाल नागरिक उडड्यन प्राधिकरणको साँढे ६ करोड बजेटबाट मर्मत गरेर सञ्चालन योग्य बनाइएपछि परिक्षण उडान भरिएको मनमाया राई खानीडाँडा नागरिक उडड्यन कार्यालयले जनाएको छ ।
धावनमार्ग र एप्रोनमा कुनै समस्या नभए पनि एयर ट्राफिक कन्ट्रोलरमा ‘मिट डिस्प्ले’ नभएको, वाईफाई, ल्याण्डलाईन फोन, तारबार नभएको र सुरक्षास्थिती गतिलो नभएको मनमाया राई खानीडाँडा नागरिक उडड्यन कार्यालयका एयर ट्राफिक कन्ट्रोलर नवराज कट्वालले बताए । सफल परिक्षण उडानपछि प्रतिवेदन बनाउनुपर्ने र प्रतिवेदन नेपाल नागरिक उडड्यन प्राधिकरणमा बुझाएर विमानस्थलमा कमी कमजोरीजस्ता विषयमा छानविन गरिने नेपाल वायुसेवा निगमका अपरेशन विभाग प्रमुख दिपुराज ज्वारचनले बताए । सुरक्षामा असर पार्ने खालका कुनै समस्या नभए यहि शनिबार अथवा मंगलबारबाट हप्तामा दुई पटक दिक्तेल–काठमाडौ नियमित फ्लाईट सुरु गरिने ज्वारचनले बताए ।
विमानस्थलको धावनमार्ग र एप्रोनमा कुनै समस्या नभएकाले दिक्तेल–काठमाण्डौ, दिक्तेल–विराटनगर फ्लाईट चाँडोभन्दा चाँडो गराउनमा आफूहरु लागि पर्ने प्रदेशसभा सदस्य उषाकला राईले बताईन् । काठमाण्डौ जानआउन छोटो दुरी भएको र तराई जानलाई सडक नराम्रो, दुरी लामो भएकाले दिक्तेल–विराटनगरलाई पनि त्यतिकै प्राथमिकता दिनुपर्ने अर्का प्रदेशसभा सदस्य रामकुमार राईले बताए । सदरमुकाम नजिक खाल्लेमा रहेको विमानस्थल २१ महिनापछि  सञ्चालनमा आएपछि जिल्लावासी हर्षित छन् । आकस्मिक विरामी पर्दा दुई/तीन लाखमा हेलिकोप्टर चार्टड गर्दै आएका जिल्लावासीले नियमित उडान हुनुपर्ने माग गरेका छन् । कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङको अध्यक्षतामा समापन भएको थियो ।
विमानस्थल जानआउन सडककै समस्या
भुकम्पिय आपतकालिन सहायता आयोजना अन्तर्गत निर्माणाधिन ‘दिक्तेल–खानीडाँडा–आहाले’ १०.९४७ किलोमिटर पक्की सडकको कालोपत्रे काम अगाडी नबढ्दा खानीडाँडामा हप्तामा दुई दिन फ्लाईट भए पनि दिक्तेलबाट जानआउन समस्या हुने सरोकारवालाहरु बताउँछन् ।


खानीडाँडा विमानस्थलबाट दिक्तेल–काठमाडौ नियमित फ्लाईट भए पनि विमास्थलसम्म जानआउन सडकनै मुख्य बाधक बनेको दिक्तेलका युवा व्यवसायी अजय बस्नेतले बताए । फ्लाईट हुनु ज्यादै राम्रो हो तर, विमानस्थलसम्म पुग्ने सडकको दुरावस्तातर्फ सवैको ध्यान जान आवश्यक छ वस्नेतले भने ।
याक्तुहाङ–साप–सिरुवा जेभि नयाँ वानेश्वरले प्राधिकरणसँग २०७५ असोज १ गते २१ करोड १ लाख ८८ हजार १५३ रुपैयाँ बजेटमा १८ महिनाभित्र (आगामी चैत मसान्तसम्म) कालोपत्रे सम्पन्न गर्ने गरी सम्झौता गरेर काम गरे पनि कामको प्रगती निराशाजनक छ ।
२०७६ फागुन १३ गते अपरान्ह ४ :०३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology