दिप्रुङ चुईचुम्मामा सार्वजनिक सुनुवाई : प्रभावकारिता माथि प्रश्नको ओइरो

दिप्रुङ चुईचुम्मामा सार्वजनिक सुनुवाई : प्रभावकारिता माथि प्रश्नको ओइरो




समायोजन खबर खोटाङ,
‘गाउँपालिकामा ज्येष्ठ नागरिकलाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने व्यवस्था गरेको भनिएको छ । तर त्यो सेवा कसले, कसरी पाइरहेको छ ? अहिले पनि सिटामोल नै किनेर खानु परिरहेको जनगुनासो आएको छ, वास्तविकता के हो ?’ यो प्रश्न दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका मेरुकुमार राईको हो । आर्थिक वर्ष २०७५/०७६ तथा २०७६/०७७ को हालसम्मको आयव्याय तथा प्रगतीका विषयमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीका भीडबाट उभिएर राईले गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, वडाध्यक्ष र विषयगत समितिका संयोजकतर्फ प्रश्न तेस्र्याएका हुन् । गाउँपालिकाभित्रका ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई घरैमा स्वास्थ्य जाँचको व्यवस्था गरेको गाउँपालिकामा यसको कार्यान्वयन र प्रभावकारितामाथि राईले प्रश्न गरेका हुन् ।


यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका भुपराज कट्वालले गाउँपालिकाले बाँडेको धान र मकैको बीउले उत्पादन घट्दा किसान मारमा परेको, बेलामा इन्जिनियर नापजाँच गर्न नजाँदा सडक निर्माणको बजेट फ्रिज हुने गरेको गुनासो राखे । दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका रमेश गिरीले किसानको उठिबास लगाउने बाँदर नियन्त्रणका विषयमा गाउँपालिका अध्यक्षको धारणा मागे । ‘तराईमा सस्तो पर्ने चामल गाउँमा ल्याएर महंगोमा बिक्री गर्ने काम भइरहेको छ । डेट एक्सपायर भएका खाद्यान्न बिक्री भइरहेको छ,’ गिरीले प्रश्न गरे, ‘खाद्य सुरक्षाका विषयमा गाउँपालिकाले किन प्रभावकारी अनुगमन गर्न सकेको छैन ?’

सहभागीकै भीडबाट आफ्नो गुनासो राख्न उभिएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी सनिसा राईले आफू कोषाध्यक्ष हुँदाहुँदै प्रदेशबाट आएको खानेपानी आयोजनाको १५ लाख बजेट थाहै नदिइ किर्ते सही गरेर निकासा गरेको भन्दै कारबाहीका लागि गाउँपालिका समक्ष माग गरिन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका गन्धमान थापाले जापानिज नासपातीको बिरुवा वितरणमा पारदर्शीता नदेखिएको भन्दै प्रश्न गरे । ‘जापानिज नासपाती वितरण गरेको विवरण प्रस्तुत भयो तर त्यही बिरुवा कहाँ कसलाई बाँडियो ? विद्यालयलाई दिइएको भौतिक सामग्री कहाँ छ ?,’ उनले भने, ‘हाम्रो वडामा बजेट पनि कम आएको छ । के हामी सौताको बच्चा हौँ ?’ समाजवादीका नेता केशव कार्कीले नक्सा अनुशार ग्राउण्डमा प्रगती देखाउन गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।


यस्तै, मनोज राईले सुन्तला ब्लग क्षेत्रका भएको सूचना थाहा पाए पनि गाउँपालिकाले जानकारी नदिएको गुनासो गर्दै सुन्तला ब्लग क्षेत्र कसैगरी पनि हुनुपर्ने बताए । सन्जय राईले युके सेवा समाजले उपलब्ध गराएको एम्बुलेन्सको प्रभावकारितामा प्रश्न राखे, नारायण राईले विधुतीकरण र खेलकुदमा ध्यान दिनुपर्ने धारणा राखे, गोमा खत्रीले राम्चे भ्युटावर र टुवाखोला–रोशाभन्ज्याङ खानेपानी आयोजनाबारे प्रश्न राखेकी थिईन् ।

गाउँपालिकाको केन्द्र याङसोलाटारमा गरिएको सार्वजनिक सुनुवाईमा सहभागी ३४ जनाभन्दा बढि सर्वसाधारणले आमने–सामने बसेर जनप्रतिनिधि र विषयगत शाखाका प्रमुखमाथि प्रश्न तेस्र्याएका छन् । दुईजना जनप्रतिनिधि, दुईजना स्वयंमसेविकाले पनि प्रश्न उठाएका थिए । मञ्चमा जवाफदेहीपक्ष भएर बसिरहेका गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सातै वडाका वडाध्यक्ष, विषयगत शाखाका प्रमुखमाथि कतिपय सहभागीले माइक्रोफोनमार्फत प्रश्न गरे भने कतिपयले लिखितरुपमा प्रश्न उठाएका थिए । कार्यक्रम अघि र कार्यक्रमकैक्रममा बाँडिएका प्रगती विवरणको सूची अध्ययन गर्दै सहभागीले प्रश्न उठाएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले आर्थिक वर्ष २०७५/०७६ तथा २०७६/०७७ को हालसम्मको प्रगती विवरण प्रस्तुत गरेपछि सवाल–जवाफ सुरु गरिएको थियो । गुनासो पोख्नकै लागि घण्टौं हिँडेर आएका गाउँपालिकाबासीले सडक, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, पर्यटन, सूचना/सञ्चार, सिँचाई, युवा तथा खेलकुद, वन तथा वाताबरण, न्याय सेवा, सुशासन लगायतका विषयमाथि केन्द्रित रहेर प्रश्न गरे, गुनासो राखे र कतिपयले सुझाव पनि दिएका छन् ।

सर्वसाधरणको सवालको गाउँपालिका अध्यक्ष राई भुपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद दाहाल, स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरी लगायतले जवाफ दिएका थिए । कतिपय स्थानीय तहहरु सार्वजनिक सुनुवाईबाट पन्छिने गरेकामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नियमित सार्वजनिक सुनुवाई गर्दैआएको छ ।

स्थानीय सरकारकातर्फबाट भइरहेका कामका बारेमा पारदर्शीता र जवाफदेहीता देखाउन सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । ‘हामीले गरेको काम पारदर्शी हुनुपर्छ, हामी जनताप्रति जवाफदेही हुनुपर्छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘हामीले गरेको कामका बारेमा जनतालाई जानकारी दिन र हाम्रो कमि कमजोरी सच्याउनका लागि सार्वजनिक सुनुवाई महत्वपूर्ण टुल हो ।’ गाउँपालिका अध्यक्ष राईले कर्मचारीबाट कमिसन मागिए, घुस लिने मनसायले काममा आलटाल गरिए वा भाले खाएर बील बढि उठाउने काम भए जानकारी दिन सहभागीलाई आग्रह गरेका छन् ।

गाउँपालिकाले सर्वसाधरणकै लागि भनेर विहानैदेखी राती बजेसम्म सेवा सुविधा दिइरहेको छ । जसका कारण सर्वसाधरणले गाँउपालिका आएपछि काम नभइ फर्कनुपर्ने अवस्था नरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।
२०७६ माघ ९ गते राती ८ :०३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology