• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘होम स्टे एण्ड एग्रो टुरिजम’मा उठ्दै पर्शुराम कृषि फर्म

‘होम स्टे एण्ड एग्रो टुरिजम’मा उठ्दै पर्शुराम कृषि फर्म


समायोजन खबर
  • मंगलबार, माघ ७ २०७६

  • पर्शुराम कृषि फर्म प्रालि एण्ड होम स्टे नेर्पा वेंशीटोल । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    माथिदेखी तलसम्म ८ वटा लहरै माछा पोखरी, छङछङ गर्दै पोखरीमा खस्ने पानीको आवाज, पोखरीको डिलमा स्थानीय जातका केरा, एभोकाडो र सुन्तलाका स–साना विरुवाहरु । अलिक तल केही खुल्ला जमिन, पोखरीहरुको शिरमा हेलिप्याड अनि नागवेली सडक र वारीपारी उड्दै जाने चराहरु आहा ! क्या मज्जा । सानो उपत्यका झै ।


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा वेंसीटोलमा पुग्नुभयो भने तपाईले यहि दृश्य प्रत्यक्ष हेर्न, रमाउन अनि सेल्फी खिच्न पाउनु हुन्छ । पर्शुराम कृषि फर्म प्रालि एण्ड होम स्टेले निर्माण गरीरहेका पूर्वाधारहरुले जो कोहीलाई मोहित बनाउँछ । होम स्टे एण्ड एग्रो टुरिजमका लागि बन्दै गरेका संरचनाहरुले सानादेखी ठूलासम्मलाई भरपुर मनोरञ्जन दिन्छ । एकैछिन एक्लै हराउन मन लाग्छ । आनन्द लाग्छ ।

    २०७३ सालबाट पर्शुराम कृषि फर्म प्रालि एण्ड होम स्टेले ‘होम स्टे एण्ड एग्रो टुरिजम’लाई खोटाङमा स्थापित बनाउन हालसम्म करीव डेढ करोड खर्चमा २० रोपनीमा ८ वटा माछा पोखरी र ९० रोपनीमा गोलसाइ जातको अलैची खेती गरेका छन् । होम स्टेहरु धमाधम निर्माण गरिरहेका छन् । सुन्दर, घमाईलो अनि खुल्ला स्थानमा निर्माण भइरहेको पूर्वाधारहरु निर्माण चरणमा भए पनि अहिले नै मानिसहरु त्यहाँ पुग्ने गरेका छन्, रमाइलो गर्ने गरेका छन् विदाको समयमा ।


    कृषिलाई अगाडी बढाउदै होम स्टेको अवधारणा राखेर ‘होम स्टे एण्ड एग्रो टुरिजम’लाई अगाडी बढाइएको पर्शुराम कृषि फर्म प्रालि एण्ड होम स्टेका व्यवस्थापक शम्भु राईले बताए । पोखरीमा लगाइएका माछाहरु भने खाना लायक भईसकेका छन् । अलैचीहरु वर्षमा केही मात्रामा विक्री हुन थालेका छन् । यतिबेला होम स्टे युद्धस्तरमा निर्माण भईरहेको व्यवस्थापक राईले बताए । प्रचारप्रसार नभइ नै मानिसहरु घुम्न, विदा मनाउन, अनि फिसिङ गर्न आउन थालेपछि तत्कालका लागि रेष्टुरेण्टको व्यवस्था गरिएकाले आउने पाहुनाहरुलाई असहज नभएको उनको भनाई छ । धेरै मात्रामा पाहुना आएको खण्डमा होटल भिलेज दिक्तेलमा राखिने गरिएको छ ।

    ‘होम स्टे एण्ड एग्रो टुरिजम’का लागि भविष्यमा निक्कै संम्भावना भएको उक्त स्थानमा अन्य संरचनाहरु थप्ने काम पनि भइरहेको छ । चाँडै नै स्वीमिङ पुलको काम थालिने पर्शुराम कृषि फर्म प्रालि एण्ड होम स्टेका सञ्चालक निशान राईले बताए । राईका अनुसार फर्ममा बट्टाई, स्थानीय जातका कुखुरा, टर्की कुखुरा र भविष्यमा कालिज लगाईने छ । हेलिप्याडको समेत सुविधा भएको फर्मलाई झकिझकाउ र फिनिसिङको कामहरु तीव्रगतीमा भईरहेको छ । आगामी वर्षको मंसिरमा फर्मको भव्य रुपमा उद्घाटन गरिने सञ्चालक राईले बताउँछन् ।

    पर्शुराम कृषि फर्म प्रालि एण्ड होम स्टेका सञ्चालक निशान राई ।

    कृषिप्रधान मुलुकमा सरकारले झण्डै आधा बजेट कृषिमा विनियोजन गरे पनि हालसम्म आफूले कुनै अनुदान तथा सहयोग नपाएको सञ्चालक राईको गुनासो छ । ‘होम स्टे एण्ड एग्रो टुरिजम’को अवधारणा लिएर स्थानीय, प्रदेश र संघिय सरकारलाई प्रक्रियागत रुपमा माग गरे पनि हालसम्म शून्य अनुदान भएको उनको भनाई छ । ‘होम स्टे एण्ड एग्रो टुरिजम’मा केही गर्छु भनेर लागियो सरकारलाई सबै किसिमले अनुरोध गरियो केही सहयोग छैन । प्रदेश सरकारको ‘होम स्टे एण्ड एग्रो टुरिजम’ कार्यक्रममा आवेदन दिएको समेत राईले बताए ।


    कसरी पुग्ने

    पर्शुराम कृषि फर्म प्रालि एण्ड होम स्टे नेर्पा वेंसीटोलमा अवस्थित छ । दिक्तेलबजारबाट त्यहाँ पुग्न पैदल तथा सवारी यात्रा गर्न सकिन्छ । दिक्तेलबाट सवारी साधनमा ३५ मिनेट र पैदलमा डेढ घण्टामा फर्ममा पुग्न सकिन्छ । दिक्तेलबाट फर्मसम्म पुग्न कच्ची सडक प्रयोग गर्नुपर्छ ।
    २०७६ माघ ७ गते अपरान्ह ४ :५८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology