समायोजन खबर खोटाङ,
तामाङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि खोटाङको दिक्तेलमा चार दिने सचेतनामुलक अभिमुखीकरण तालिम सुरु गरिएको छ । बुढापाकाको अन्त्यासँगै लोपोन्मुख अवस्थामा पुगेका तामाङ भाषा, धर्म, संस्कार र संस्कृतिका बारेमा युवा पुस्तालाई जानकारी दिएर संरक्षणका लागि शुक्रबार सचेतनामुलक अभिमुखीकरण तालिम सुरु गरिएको हो ।
तामाङ समुदायका युवा पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिका बारेमा जागरुक बनाउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा सचेतनामुलक अभिमुखीकरण तालिम आयोजना गरिएको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष जसबहादुर तामाङले बताए ।
चार दिनको अवधिमा तामाङ समुदायका सहभागीलाई भाषा, धर्म, संस्कार र संस्कृतिको बारेमा मौखिक तथा श्रव्यदृश्य सामग्रीका माध्यमबाट सचेतनामुलक जानकारी दिइने जनाइएको छ । तालिममा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाबाट आएका ५० जनाको सहभागीता रहेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले जनाएको छ । सहभागीलाई घेदुङका शिक्षा तथा संस्कृति बिभाग प्रमुख काजीमान थिङ, बुद्धछिरी लामा, खोजराज गोले र रामकुमार तामाङले तामाङ भाषा, संस्कार र संस्कृतिका बारेमा जानकारी दिइरहेका छन् ।
जिल्लामा तामाङ समुदायको जनसंख्या १२ हजारभन्दा बढि रहेको अनुमान गरिएको छ । अभिमुखीकरण तालिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिणादेबी राई, घेदुङका प्रदेश कमिटि अध्यक्ष रेखबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।
२०७६ पौष १८ गते साँझ ६ :५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology