• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी सुख्खा क्षेत्र लिफ्टिङ आयोजना : म्याद सकिनै लाग्दा प्रगती निराशाजनक

हलेसी सुख्खा क्षेत्र लिफ्टिङ आयोजना : म्याद सकिनै लाग्दा प्रगती निराशाजनक


चिसाङ शेर्पा
  • शुक्रबार, मंसिर २० २०७६

  • अनुगमन टोली । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    तीन निर्माण कम्पनीको चरम लार्पावाही, ढिलासुस्ती र छलछामले सुख्खा क्षेत्रमा कोशीको पानी लिफ्टिङको काम अलपत्र परेको छ । दुईवर्षमा हलेसी भेगको साविक सात वडाको पाँच हजार घरमा कोशीको पानी लिफ्टिङ गर्नेेगरी सम्झौता गरेको कम्पनीले म्याद सकिनै लाग्दा काम सक्नुको सट्टामा योजना नै अलपत्र पारेको हो ।

     

    सरकारले २०७१ सालमा सुख्खा क्षेत्र घोषणा गरेर २०७४ सालबाट बृहत हलेसी सुख्खा क्षेत्र लिफ्टिङ आयोजनाको मुख्य लाईन र वितरण लाईनको काम थालेको दिवा महादेव खिम्ती जेभी, रमण–सगरमाथा–सगरमाथा घिमिरे, लामा कन्ट्रक्सन प्रालिले आलटाल र बहानाबाजी गर्दै अतिसुस्त गतीमा काम गर्दा आयोजनाको काम अलपत्र र गुणस्तरहिन छ । महादेवबेंशी–काभ्रेडाँडा र लुलिमाबेंशी–भुम्जुडाँडा १२ किलोमिटरमा मुख्य लाईनको काम थालेको दिवा महादेव खिम्ती जेभीसँग १ महिना म्याद छ । वितरण लाईनको काम गरिरहेका अन्य निर्माण कम्पनीसँग ७ महिना म्याद छ । यद्यपी, कामको प्रगती निराशाजनक रहेको संङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङले जनाएको छ ।

    निर्माणस्थलमा आएको पाईप । तस्विर चिसाङ शेर्पा

    मुख्य लाईन अन्तर्गत महादेवबेंशी–काभ्रेडाँडामा ३ लाख लिटरको ट्याङकी बनिरहेको, ५५ सय मिटर पाईप लाईनको काम भईरहेको, विधुत विस्तार भईरहेको र गिट्टी ओभरसाईज पाइएको छ । लुलिमाबेंशी–भुम्जुडाँडामा सुस्तगतीमा पाईप लाइनको काम भईरहेको छ । ३१ करोड ७५ लाख ९६ हजारमा दुई स्कीममा काम गरेको दिवा महादेवले ५ करोड ६२ लाख रकम लिइसक्दा कामको प्रगती ५ प्रतिशत छ । १ महिना म्याद रहंदा दिवा महादेव खिम्ती जेभीका निर्देशक रवि सिं श्रेष्ठ काम सक्ने दावि गर्छन । कार्यस्थलमा नआई काठमाण्डौ बसेर निर्देशक श्रेष्ठले काम सक्ने फुस्रो गफ दिए । भौतिक प्रगतीमा भन्दा ठेकेदार वित्तिय प्रगती गर्नमा लालयित देखिन्छ । समयमा काम सक्नेमा ठेकेदारको कुनै आधिकारिक जवाफ र आधार छैन ।

     

    महादेवस्थान, दुर्छिम, मंगलटारमा आरभिटी ट्याङकी र पाईप लाईनको काम गरिरहेको रमण–सगरमाथा–सगरमाथा घिमिरे सबैभन्दा सुस्त गतीमा छ । २६ करोड ७५ लाख ५१ हजारमा ठेक्का पारेको उसले ५ करोड ७० लाख भने पैसा लिईसकेका छन्, भौतिक प्रगती २ प्रतिशत छ । म्याद सकिन ७ महिना हुँदा रमण–सगरमाथाले १ लाख लिटरको एकवटा ट्याङकी बनाउदै छ भने १० किलोमिटर पाइप लाइनको काम गरेको छ । ट्याङकी बनाउनमा प्रयोग भएको बालुवा, गिट्टी ल्याबटेष्ट नगरिएको प्रयोग भएको पाइएको छ । उसले देखाउन मात्रै बालुवा, गिट्टीको परिक्षण गरेको तर संरचनामा अर्कै स्थानको ल्याएर प्रयोग गरेको हो । गुणस्तरको व्यापक कुरा उठेपछि हलेसी तुवाचुङ नगरपालिकाले कार्यस्थलमा राखिएको बालुवा र गिट्टी परिक्षणको लागि उठाएको छ । रमण–सगरमाथाका प्रतिनिधि रामभक्त मास्के काम गर्नुको सट्टामा अध्ययन गर्दैछु भनेर गैर जिम्मेवारी कुरा गर्छन् । उसले सानाठूला ७३ वटा ट्याङकी र पाइप लाईनको काम गर्नुपर्नेछ ।

    यस्तै, बाहुनीडाँडा, डिकुवा, बडहरे र च्यास्मिटारमा आरभिटी ट्याङकी र पाईप लाईनको काम गरिरहेको लामा कन्ट्रक्सन प्रालिले ३० प्रतिशत काम गरेको छ । ३७ करोड ९३ लाख ५७ हजारमा ठेक्का पाएको उसले ६ करोड ६३ लाख बजेट निकालेर पाईप ढुवानी गरेको छ । कन्ट्रक्सनले ६ वटा ट्याङकी, ४० किलोमिटर पाइप लाइनको काम गरेका छन् । १२२ वटा सानाठूला ट्याङकी बनाउनुपर्नेछ । साइडमा आवश्यक सामान आइसकेको, साईड क्लियर भएको र डेढ सय हाराहारीमा जनशक्ति परिचालन भईसकेकाले १५ दिनपछि कामको प्रगती देखिने लामा कन्ट्रक्सनका निर्देशक पिताम्बर बडुले बताए । सम्झौता म्यादमा काम सक्नुहुन्छ ? भन्ने प्रश्नमा ‘समय अवधिमा काम सक्ने निर्देशक बडुले दावि गरे ।’

    मुख्य लाईनमा विस्तार गरिएको सिमलेस पाईप । तस्विर चिसाङ शेर्पा

    तीन निर्माण कम्पनीकोे कामको प्रगती निराशाजनक रहेको संङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका ईन्जिनियर माधवेन्द्र चौधरीले बताए । उनका अनुसार हालसम्म तीनै निर्माण कम्पनीको १५/२० प्रतिशतभन्दा बढी काम भएको छैन । निर्माण कम्पनीले प्रयोग गरेको गिट्टीमा समस्या देखिएकाले काम रोकेर परिक्षण पास गिट्टीलाई प्रयोग गर्न निर्देशन दिएको र प्रयोग नगरेमा कारवाही गरिने उनले बताए । ठेकेदारले काम नगरेकै कारण २७ जेठमा उपभोक्ताको आयोजनामा खानेपानी विभाग, निर्माण व्यवसायी प्रतिनिधि, राजनीतिक दलको बृहत अन्तक्रियाले काम सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै ठेकेदारसँग अविलम्ब दैनिक, साप्तहिक, मासिक कार्यतालिका पेश गर्न निर्देशन दिए पनि हालसम्म कार्यतालिका पेश नगरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । कार्यतालिका दिन भनि ४/५ पटक पत्रचार गर्दा पनि ठेकेदारले अटेरी गर्दै कार्यतालिका नबुझाएको नगरप्रमुख राईले बताए ।

     

    तीन निर्माण कम्पनीले वित्तिय प्रतिशत ३० प्रतिशत कटाउँदा भौतिक प्रगती न्युन छ । निर्माण कम्पनीले ठेक्का पार्ने, पैसा लिने, काम नगर्ने प्रबृत्ति मौलाउदै जाँदा पानी नपाएर काकाकुल भएका सर्वसाधरणहरु झनै पिल्सिरहेका छन् । खानेपानीको हाहाकारमा जीवन बिताईरहेका ५ हजार घरधुरीमा पानी पु-र्याउन सरकारले ठूलो बजेट खर्चिदा ठेकेदारहरुले कागज मिलाउदै रकम झिकेर खाइरहंदा राज्यको ध्यान अझै पुग्न सकेको छैन । कोशीको पानीको आशामा बसेकाहरु अहिले प्रतिलिटिर १ रुपैयाँका दरले पानी खरिद गरेर जीवन गुजारा गरिरहेका छन् ।
    २०७६ मंसिर २० गते मध्यान्ह १२ :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology