समायोजन खबर काठमाण्डाै,
निर्वाचन आयोगले यही मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपचुनावका लागि आवश्यक सबै तयारी पूरा गरेको छ । उपचुनावकाे पूर्वसन्ध्यामा बुधबार राति १२ः१० बजेपछि मौन अवधि शुरु भएको छ । मौन अवधिमा कुनै पनि सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार कार्य गर्न/गराउन पाइँदैन ।
मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइवर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न निषेध गरिएको आयोगले जनाएको छ । त्यसैले मौन अवधिमा आचारसंहिताको पूर्णपालना गरी निर्धक्करूपमा मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था निर्माणका लागि आयोगले सम्पूर्ण निर्वाचन सरोकारवालासँग अपिलसमेत गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले मौन अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाक, दबाब वा प्रभावमा पारी मतदातालाई आतङ्कित पार्ने, मतदान केन्द्रमा जानबाट रोक्ने, मतदाता परिचयपत्र कब्जा गर्ने, एउटाको नाममा अर्कैले मतदान गर्ने, निर्वाचन क्षेत्र बाहिरका व्यक्ति प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने, गलत, तथ्यहीन र भ्रामक हल्ला फिँजाउने, कोही कसैप्रति घृणा र द्वेष फैलाउनेलगायत कार्य गर्न नहुने जानकारी दिनुभयो ।
निर्वाचन आचारसंहिताविपरीतको कार्य हुने आशङ्का वा घटना भएमा तत्काल जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समिति वा स्थानीय प्रशासन वा आयोगमा जानकारी दिन उहाँले आग्रह गर्नुभयो । उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मी आवश्यक मतदानका सामग्रीसहित मतदान केन्द्रमा पुगिसकेको सहसचिव एवं प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
उपचुनाव पर्यवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थालाई अनुमति प्रदान गरिनुका साथै नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई मतदानको दिन पर्यवेक्षणका लागि परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान र अष्ट्रेलिया दूतावास तथा युरोपियन युनियनलाई अनुमति प्रदान गरी सकिएको छ । उपचुनावका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् । यस उपचुनावमा ३७ जिल्लाका महिला दुई लाख ३३ हजार ४०२, पुरुष दुई लाख २० हजार ७१० र अन्य दुई गरी जम्मा चार लाख ५४ हजार ११४ मतदाताले मताधिकारको प्रयोग गर्न सक्नेछन् ।
यस उपचुनावमा प्रतिनिधिसभा सदस्यतर्फ ११, प्रदेशसभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० राजनीतिक दल सहभागी भएका छन् । उपचुनावमा प्रतिस्पर्धा गर्ने जम्मा ३३३ उम्मेदवारमध्ये राजनीतिक दलतर्पm २५३ र स्वतन्त्र उम्मेदवार ८४ रहेकामा २५३ पुरुष र ८४ महिला उम्मेदवार छन् । सुरक्षाकर्मीबाहेक उपनिर्वाचन सम्पन्न गर्न विभिन्न जिम्मेवारीका साथ जम्मा पाँच हजार ३६४ कर्मचारी परिचालन भएका छन् ।
२०७६ मंसिर १२ गते साँझ ६ :२५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology