• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दाहाल भन्छन् : पार्टीमा अब कुनै भ्रम छैन

दाहाल भन्छन् : पार्टीमा अब कुनै भ्रम छैन


समायोजन खबर
  • सोमबार, मंसिर ९ २०७६

  • नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

    समायोजन खबर बाग्लुङ,

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दुई अध्यक्षको कार्यविभाजनले पार्टी झन् एक ढिक्का भएको बताएका छन् । शनिबार बाग्लुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीमा अब कुनै भ्रम नरहेको र बाटो सफा भएको दाबी गरे । ‘दुईटा अध्यक्षले कता कता जोड दिने भन्ने पनि टुंग्याएका छौं,’ उनले भने, ‘एउटाले सरकारमा जोड दिने र एउटाले पार्टीमा जोड दिने भन्ने पनि टुंग्याएका छौं ।’ दाहालले राष्ट्रको एकता, स्वाधिनता र भौगोलिक अखण्डताका लागि नेपाली जनताको एकताभन्दा ठूलो तागत अरू केही नहुने पनि बताए । ‘राष्ट्रका लागि अनवरतरूपमा संघर्ष गर्दै आएका कम्युनिष्टहरूको एकताभन्दा ठूलो राष्ट्रमा अरू केही पनि हुँदैन,’ उनले भने ।

     

    यही जिम्मेवारी राम्रोसँग महसुस गरेर नै पार्टी एकता गरेको उनको भनाइ थियो । सानो चित्तले एकता नभएको प्रष्ट पार्दै उनले भने, ‘राष्ट्रको वृहत्तर हितको निम्ति र नेपाली जनताको समृद्धि र विकासको आकांक्षालाई सम्बोधन गर्ने तागत पैदा गर्नका लागि एकता गरिएको हो ।’ आसन्न उपनिर्वाचनमा वाम गठबन्धनअन्तर्गत राष्ट्रिय जनमोर्चाका उम्मेदवारको चुनावी प्रचार कार्यक्रममा सहभागी दाहालले कम्युनिष्ट पार्टीबीच मित्रता कायम राख्न बाग्लुङको उपनिर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी नदिई राष्ट्रिय जनमोर्चालाई सघाएको उनको भनाइ थियो । संघीयताको पक्षपाती दाहालले संघीयताविरोधी मानिएको राष्ट्रिय जनमोर्चालाई ‘मित्रशक्ति’का रूपमा व्याख्या गरे ।

     

    सो क्षेत्रमा सत्तारुढ नेकपाकै स्थानीय नेता–कार्यकर्ताले पार्टीबाट उम्मेदवारी दिएमा एक्लै चुनाव लड्दा पनि जितिने भनेर केन्द्रमा दबाबसमेत दिएको स्मरण गर्दै उनले एउटा प्रदेशसभा सिटभन्दा पनि वाम गठबन्धन र मित्रता महŒवपूर्ण लागेर आफूहरूले राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको उनले प्रष्ट पारे । उनले भने, ‘यो वाम गठबन्धन पनि त्यही एकताको कडीका रूपमा हामीले बुझेका छौं ।’ दाहालले निर्णय प्रक्रियामा पार्टीमा छलफल र बहस हुने तर निर्णय भइसकेपछि सम्पूर्ण पार्टी सदस्यहरूले पालना गर्ने बताए ।

     

    फरक प्रसंगमा उनले नेपालमा पुराना समस्याका रूपमा सिमानाका समस्या रहेको बताए । ‘कालापानी र सुस्ताको समस्या जटिल र गम्भीर प्रकृतिको थियो,’ उनले भने, ‘अहिले भारतले प्रकाशित गरेको नक्शामा कालापानी क्षेत्र, लिपुलेक, लिम्पियाधुरासम्मको भूभाग भारतमा देखाइएको छ । हामीले सुरुमै भन्यौं, यो हामीलाई मान्य छैन, यसको निम्ति हामी जुनसुकै किसिमको पहलकदमी लिन पनि तयार छौं ।’ सरकारले त्यही कुरा भनेको प्रष्ट पार्दै उनले अहिले राष्ट्र र जनता एकताबद्ध रहेको बताए ।

    २०७६ मंसिर ९ गते मध्यान्ह १२ :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology