समायोजन खबर खोटाङ,
त्रि–धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त धर्मशाला बन्ने भएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा नेपाल आयल निगमको सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमबाट धर्मशाला निर्माण गर्ने टुंगो लागेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
सुविधा सम्पन्न भवन, सुविधा सम्पन्न कोठा, पार्किङ स्थल, बगैंचा, योगास्थल लगायतका संरचना सहितको धर्मशाला निर्माणका लागि शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राई र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलबीचमा सम्झौता गरिएको छ । हलेसीमा निगमको ५ करोड सहयोगमा धर्मशाला निर्माण गर्न लागिएको हो । निगमले यस वर्ष २ करोड र अर्को वर्ष ३ करोड उपलव्ध गराउने सम्झौतामा उल्लेख छ ।
हलेसीभन्दा केही माथि रहेको गुराँसेस्थित सार्वजनिक जग्गामा निर्माण गरिने धर्मशाला सामान्य नागरिकदेखि भिआइपीलाई राख्न मिल्ने किसिमको बनाउने तयारी भइरहेको नगरप्रमुख राईले बताए । नगरपालिका र निगमबीचमा २ वर्षभित्र धर्मशाला निर्माणको काम पूरा गर्ने सम्झौता भएको छ । ‘धर्मशाला भन्ने वित्तिकै केही नहुने वा नसक्नेले आश्रय लिने ठाउँकारुपमा बुझ्ने गरिन्छ,’ नगरप्रमुख राईले भने, ‘हामीले बनाउन लागेको धर्मशालामा सामान्य नागरिकदेखि भिआइपीलाई समेत राख्न मिल्ने किसिमले बनाउन लागेका छौँ ।’
हलेसीमा यसअघि बनाइएका कतिपय धर्मशाला जिर्ण बनेको र कतिपय कामै नदिने अवस्थामा पुगिसकेको अवस्थामा अर्को सुविधा सम्पन्न धर्मशाला निर्माणको प्रकृया थालिएको हो । हलेसीको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बेला हलेसीकै पर्यटन प्रवद्र्धनका लागि धर्मशाला निर्माणको काम अघि बढाइएको नगरप्रमुख राईले बताए ।
भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङस्थल रहेको लगायतका आधारमा त्रि–धार्मिकस्थल मानिएको हलेसीमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीहरुको बाक्लो भीड लाग्ने गरेको छ । धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेब गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरब गुफा, दुङ्देलो गुफा, मञ्जुश्री गुफा लगायतका स्थानहरुको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन् ।
२०७६ कार्तिक १६ गते दिउँसो २ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology