चिसाङ शेर्पा खोटाङ,
प्रहरीले पक्राउ गरेका चारजना युवाहरुलाई विनाशर्त तत्काल रिहाइको माग गर्दै दिक्तेलबजारमा प्रदर्शन गरिएकोे छ । संविधानमा समावेसी व्यवस्था र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार आव्हान गरिएको १ नम्बर प्रदेश बन्द अन्तरगत चारजनालाई प्रहरीले पक्राउ गरेको भन्दै रिहाइका लागि प्रदर्शन गरिएको हो ।
दिक्तेल बहुमुखी क्याम्पसमा लोकसेवा आयोगको पाँचौ तह परिक्षा सञ्चालनका क्रममा परिक्षा अवरोध गर्न पुगेका नेपाल आदिबासी जनजाती महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव लालबहादुर मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र मञ्चकी कोषाध्यक्ष सविना अछामेलाई धरपकड तथा कुटपिट गर्दै अमानवीय व्यवहारसहित प्रहरीले पक्राउ गरेपछि संयुक्त संघर्ष आन्दोलन परिचालन समिति तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले दिक्तेलबजारमा शनिबार दिउँसो प्रदर्शन गर्दै उनीहरुको विनाशर्त रिहाईको माग गरेका हुन् ।

पक्राउ परेकाको रिहाईको माग गर्दै प्रदर्शनमा सहभागीहरु । तस्विर चिसाङ शेर्पा
दिक्तेलको भवनगैराबाट सुरु भएको प्रदर्शन रत्नपार्क, हाटडाँडा हुंदै त्रिवेणीचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई बुद्धिजीवि मन विक्रम राई, शिक्षक धनीराम राई, अपांग सेवासंघ खोटाङका अध्यक्ष पृथी जिम्बा, किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भिम राई, अन्तरपाटी महिला सञ्जालकी उपाध्यक्ष रश्मी रसाइली, किरात राई यायोक्खाका उपाध्यक्ष सन्जय कुमार राई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष तथा संघर्ष आन्दोलन परिचालन समितिका संयोजक हात्तिराम राईले सम्बोधन गरेका थिए । अधिकार प्राप्तीको आन्दोलनमा शान्तिपुर्ण ढङ्गबाट विरोध गर्न पाउने मौलिक हकलाई प्रहरी प्रशासनले दबाउन खोजेको र हिरासतमा रहेका चार जनालाई विनाशर्त रिहा गरिनुपर्ने उनीहरुले बताएका छन् । मागलाई वेवास्ता गरिए जस्तोसुकै आन्दोलन गर्न समेत संघर्ष समिति तयार हुने संयुक्त संघर्ष आन्दोलन परिचालन समितिका संयोजक राईले बताए ।

नेपाल आदिवासी जनजाती महासंघ, मधेसी, मुस्लिम, दलित, महिला, अपाङ्गता भएको व्यक्तिहरु र पिछडिएको क्षेत्रको तर्फवाट गत जेठ १६ गतेबाट ‘आरक्षण बचाउ आन्दोलन’मा होमिदै आएकाहरु पक्राउ परेपछि समाजवादी पार्टी जिल्ला समिति खोटाङले पनि उनीहरुको विनाशर्त रिहाइको माग गरेका छन् । अधिकार प्राप्तीको आन्दोलनमा शान्तिपुर्ण ढंगबाट आफ्नो विरोध गर्न पाउने मौलिक हकलाई राज्यले सम्मान गर्नुपर्ने ठहर गर्दै गिरफ्तार गरिएका चारै जनालाई तत्काल रिहाई गर्न जोडदार माग गरिएकोे पे्रस विज्ञप्तीमा जनाइएको छ ।
लोकसेवा आयोगको पाँचौ तहको परिक्षा केन्द्रमा नक्कली प्रवेश पत्र प्रयोग गरी परिक्षा हलभित्र छिरेर प्रश्नपत्र खोस्ने प्रयासका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी बामदेव गौतमले बताए । सुरक्षा समितिको वैठक बस्ने र बैठकको निर्णय अनुसार मात्रै बोल्न मिल्ने उनले बताए ।

पक्राउ परेकाको रिहाईको माग गर्दै प्रदर्शनमा सहभागीहरु । तस्विर चिसाङ शेर्पा
यो पनि पढ्नुहोस
पक्राउ परेका युवाहरुको तत्काल रिहाई गर्न माग
२०७६ साउन ४ गते साँझ ७ :२८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology