चिसाङ शेर्पा खोटाङ,
मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै खोटाङमा हस्ताक्षर संकलन गरिएको छ । मिडिया काउन्सिल विधेयकको नाममा सरकारले प्रेस स्वतन्त्रतालाई निमोठ्न खोजेको भन्दै नेपाल पत्रकार महासंघको तेश्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत जिल्ला शाखा खोटाङले जिल्लाका पत्रकार तथा आन्दोलनमा ऐक्वबद्धता जनाउनेहरुको हस्ताक्षर संकलन गरेका हुन् ।

महासंघको जेठ २७ गतेको केन्द्रीय समितिको बैठकले ३ असारमा हस्ताक्षर संकलन गर्न भनिए पनि खोटाङ शाखाले बिहीबार दिक्तेलबजारको त्रिवेणीचोकमा हस्ताक्षर संकलन गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले जनाएको छ । महासंघले मिडिया काउन्सिल विधेयक विरुद्ध आन्दोलन नगर्न भनेसम्म काउन्सिल विरुद्धमा आन्दोलन जारी राखिने पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष तथा केन्द्रीय पार्षद डम्बर सिं राईले बताए । करीव एक घण्टा हस्ताक्षर संकलनमा जिल्लामा रहेका अन्य व्यक्तिहरुले समेत ऐक्यबद्धता जनाएका थिए ।

संकलित हस्ताक्षर शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री समक्ष पठाइने पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राईले बताए । अध्यक्ष राईका अनुसार असार १५ गते निर्वाचित सङघीय र प्रदेश सांसदहरुलाई एसएमएस मार्फत सन्देश पठाएर विधेयकका वारेमा ध्यानाकर्षण गराईनेछ । यस्तै, असार २५ गते लालटिन जुलुस र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

गत बैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । ‘समाचार जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥र्याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने,’ विधेयकमा उल्लेख छ । प्रेस काउन्सिलले कारबाही गर्नुअघि एकपटक सम्बन्धित पक्षलाई स्पष्टीकरण लिने व्यवस्था पनि विधेयकले गरेको छ । यसअघि प्रेस काउन्सिल विधेयकमा पत्रकारलाई जरिवानाको व्यवस्था गरिएको थिएन ।


२०७६ असार ५ गते अपरान्ह ४ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology