चिसाङ शेर्पा खोटाङ,
खोटाङको पूरानो विमानस्थल लामिडाँडा विमानस्थलमा सफल परिक्षण उडान गरिएको छ । २०२८ सालबाट सञ्चालनमा आइरहेको कच्ची विमानस्थलको धावनमार्ग र एप्रोन कालोपत्रे गरिएपछि मंगलबार समिट एयरलाईन्सको ९ एन एएमजी कलसाईन विमानले सफल परिक्षण उडान गरेको हो ।

२०७३ असोज १९ गतेबाट प्राधिकरणको ६ करोड ३४ लाख बजेटमा सुर्य कन्ट्रक्सन प्रालिले स्तरोन्नती थालेको विमानस्थल साढे दुई वर्षमा निर्माण कार्य सकिएको हो । ०७४ माघ १० गते निर्माण सम्पन्न हुनुपर्ने विमानस्थल निर्माण कम्पनीले ०७५ चैत्र २८ गते गेट बाहेक धावनमार्ग र एप्रोनको काम सकेको हो । विमानस्थलको कालोपत्रेको लम्बाई ५ सय २० मिटर र चौडाई २० मिटर रहेको छ । स्तरोन्नती गरिएको धावनमार्गमा उडान भर्नका लागि कुनै समस्या नरहेको नेपाल नागरिक उड्यान प्राधिकरणका आयोजना प्रमुख विनायक भट्टराईले बताए । परिक्षण उडान सफल भएको र नियमित उडानका लागि प्राधिकरणलाई प्रतिवेदन बुझाउने उनले बताए ।

रावाबेंशी गाउँपालिका–३ लामिडाँडामा पर्ने विमानस्थलमा हप्तामा २/३ वटा उडान गराउनमा आफू लागि पर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद भट्टराईले त्रि–धार्मिकस्थल हलेसीलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटन क्षेत्र बनाउने र विमानस्थल नजिकै दुधकोशी हाइड्रोपावर बन्दै गरेकाले विमानस्थल नियमित सञ्चालन गराउन विभिन्न विमान कम्पनी र प्राधिकरणलाई ध्यानाकर्षण गराउने बताए ।

जिल्लाको पूरानो विमानस्थल स्तरोन्नतीपछि नियमित उडान भएमा हलेसी आउने आन्तरिक तथा वाह्य पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । जिल्लामा रहेको तीनवटा विमानस्थल मध्ये थामखर्क विमानस्थल गत वर्षको माघ २९ गते तत्कालिन पर्यटनमन्त्री स्वं रवीन्द्र अधिकारीले उदघाटन गरेका थिए । सदरमुकाम नजिक रहेको खानीडाँडा विमानस्थल स्तरोन्नतीको क्रममा छ ।


२०७६ असार ३ गते साँझ ६ : २० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology