नुरु शेर्पा खोटाङ,
नेपालको पूर्वी क्षेत्रको पहाडी जिल्लाहरू मध्येको एउटा जिल्ला खोटाङ पनि एक हो । लगभग राजधानी काठमाडौं देखि तीनसय किलोमिटर टाढा पूर्वमा पर्ने खोटाङ जिल्लामा शेर्पा, राई, क्षेत्री, व्राम्हण, नेवार, तामाङ, मगर, कामी, दमाई, सार्की आदि जातजातिहरुको बसोबास रहेको पाइन्छ । खोटङ जिल्लालाई माझ किरातको रुपमा पनि चिनिन्छ । खोटङ जिल्ला यातायात र पूर्वाधार विकासको दृष्टीले ज्यादै दुर्गम भएपनि अन्य मूल्यवान वन सम्पदाले भरीपूर्ण रहेको पाइन्छ ।
खोटाङ जिल्ला वास्तवमै प्राकृतिक श्रोत, साधन र सौन्दर्यले सुसज्जित रहेको छ । यति मात्र होईन समुन्द्री सतहबाट करीव १५२ मिटर देखि ३६२० मिटरसम्मको उचाईमा रहेको प्राकृतिक पर्वतमाला ट्याम्के, मैयू, मेरुङडाँडा, साल्पा, पत्रे गेङ्खरक बाहानेडाँडा, दुपि खर्क, मुडेडाँडा रमिते डाँडा मंगलटार, नागी डाँडा बिजयखर्क, पन्चकन्या देबिडाँडा जस्ता अग्ला होचा पहाडी डाँडाहरु रहेको यस जिल्ला सुनकोशी, रावाखोला नाला र बेंसीहरुले गर्दा झनै मूल्यवान रहेका पाइन्छ यस जिल्ला पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर जिल्ला रहेको पाइन्छ । संसारकै सुन्दर प्राकृतिक सौन्दर्यता, मनमोहक दृश्यहरु, खोलानाला, झरना, हरियो वन जंगल, गगनचुम्बी हिमालहरुको दृश्यावलोकन गरी आनन्द लिने तथा बहुमूल्य जडिबुटी पुम्मर, पाँचऔले, चिरैतो, कालो ओखती, यस्ता कैयौं अनगिन्ती चिजहरुले भरिपूर्ण र पुर्बका पशुपति भनेर चिनिने हलेसि माहदेवश्थन पर्ने खोटङ जिल्ला एक पर्यटक क्षेत्र पनि हो ।

पर्वतीय तथा पदयात्रा पर्यटनका लागि जति महत्वपूर्ण छ त्यत्तिकै मात्रमा धार्मिक र साँस्कृतिक पर्यटनको लागि पनि सम्भावना छ । त्यहाँ बसोबास गर्ने बहुजाति, भाषा र धर्म सँस्कृतिको धनि जहाँ, शेर्पा, तामाङ, राई, क्षेत्री, मगर र अन्य थुप्रै जातजातिको बसोबास रहेको छ । समुदायभित्र एक आपसमा सुमधुर सम्बन्ध कायम राख्नु यहाँको विशेष पहिचान पनि हो तर विडम्बनाको कुरा खोटङ जिल्लामा जट्ट हेर्दा पर्यटकको सन्दर्भमा बिकासको गति अगाडि बढेको देखिदैन ।
खोटाङ जिल्ला जुन पर्यटक क्षेत्रमा बिकास र आर्थिक सम्भावना बढि रहेको छ । त्यस क्षेत्रलाई बढि प्राथमिकता दिन सकिरहेको छैन् । जसले गर्दा यहाँको अर्थतन्त्र माथि उठ्न सकेको छैन्। खोटाङ पर्यटकीय क्षेत्रमा आर्थिक सम्भावना राम्रो देखिएपनि यहाँ उचित प्रचारप्रसारको कमि र सरकारले त्यस ठाउलाई चिन्न नसकेको कारण आजसम्म उच्च बिकास हुन सकेको छैन् । पर्यटन क्षेत्रमा लगानी गर्न सरकार इच्छुक नदेखिएका करण यहाँका धेरै युवा तथा व्यवसायीहरु वेरोजगार र गरीवी न्यूनिकरणमा सुधार आउन सकेको छैन । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका खोटाङ जिल्ला पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ ।
खोटाङ जिल्लामा पर्यटकीय सम्भावना बोकेर क्षेत्रमा सरकारले लगानी बढाउन नसकेका कारण र सो ठाउँमा पर्यटकको सेवा सुविधा अप्रयाप्त भएकै कारण खोटाङ जिल्लाको पर्यटकीय विकास ओझेलमा परेको देखिन्छ । पर्यटक भित्र्याउन जिल्लालाइ मात्र होइन सिङ्गो नेपाललाइ नै फाइदा पुग्ने गर्दा छ । तर यहाँका नयाँनयाँ पर्यटन पदमार्गको खोज अनुसन्धान गरी प्रचार प्रसार र प्रवर्दन गर्नका लागि सम्बद्ध संघ सँस्थाहरुले ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । पर्यटन तथा ग्रामिण पर्यटन प्रवद्र्धनमा जोड दिन सम्बन्धित सबै सरोकारवाला निकाय तथा स्थानीयसँग यस्ता विषयमा सहकार्य गरेर अगाडि बढ्नु आवश्यकता देखिन्छ ।

पुर्वको पशुपतिनाथले प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसी । तस्विर, चिसाङ शेर्पा
पर्यटन क्षेत्रबाट देशले राम्रो आर्थिक उन्नति गर्न सक्दछ । पर्यटनको विकासमा गुणात्मक फड्को नै ल्याउने छ । त्यसबारे खोटाङ जिल्लाका पिछडिएका ऐसेलुखर्क राखाबङ्देल बकाचोल बाक्सिला सुङ्देल मुढे र महुरे, रुपाकोटजस्ता क्षेत्रहरूको विकासमा धेरै मद्दत पुग्नुका साथै जनसाधारणलाई पनि प्रत्यक्ष रूपले धेरै लाभ पुग्नेछ । विश्वस्तरमा पनि ग्रामीण पर्यटन प्रति मानिसहरूको रुचि बढ्दै गएको देखिन्छ र त्यसले महत्वपूर्ण स्थान लिदै गइरहेको पाइन्छ । बास्तवमा ग्रामीण पर्यटनको भविष्य अत्यन्त उज्ज्वल छ ।
प्रत्येक गाउँगाउँ पर्यटनका केन्द्र हुन सक्दछन् । नेपाल गाउँगाउँहरूको देश हो । प्रत्येक गाउँका आआफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विशेषताहरू छन् । ती सबै पर्यटनका विषयहरू हुन सक्दछन् । तिनीहरूलाई व्यवस्थित वा विकसित गरेर पर्यटनको धेरै नै विकास गर्न सकिन्छ यहाँको सुन्दरताको मौन पर्यटन क्षेत्रबाट देशले राम्रो आर्थिक उन्नति गर्न सक्दछ । राज्यले लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको खोजअनुसन्धान, प्रवद्र्धनमा विशेष योजना बनाएर प्राथमिकताका साथ अघि बढ्नुपर्ने टड्कारो आजको आवश्यकता रहेको छ । आर्थिक सम्बृद्धिको आधार पर्यटन क्षेत्रको सुधार भएकोले त्यस क्षेत्रमा सम्बीन्धत सबैको ध्यान पुगोस् ।
लेखक : नुरु शेर्पा ऐसेलुखर्का गाउँपालिका ऐंसेलुखर्कका हुन् ।
२०७६ जेठ ३२ गते बिहान ७ :५४मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology