समायोजन खबर काठमाण्डौ,
नेपालको राजपरिवारको एउटा वंश विनास हुनेगरि भएको दरवार हत्याकाण्डको १८ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको कहालीलाग्दो दरबार हत्याकाण्डको आज १८ वर्ष पुरा भएको हो । तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको घटनाले विश्वमै सनसनी मच्चाएपनि घटना अझै रहस्मय नै छ ।

नारायणहिटी दरबार हत्याकाण्डका नामले चिनिने यो हत्याकाण्डको रहस्यका बारेमा अझै नागरिकले विश्वसनीय आधार पाउन सकेका छैनन् ।जेठ १९ को शुक्रबारको दिन नारायणहिटी दरबारभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । हत्याकाण्डका विषयमा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ ।

सो समितिले तत्कालीन युवराज दीपेन्द्र नै घटनाको मुख्य दोषी भएको किटान गरेको छ । त्यसबारेमा नागरिकले भने अझै प्रश्न उठाइरहेका छन् र विश्वसनीय आधार नभएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । गणतन्त्र स्थापनापछि देशको कार्यकारी बनेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते हत्याकाण्डको पर्दाफास गर्ने घोषणा गरेको पनि ११ वर्ष बितिसकेको छ । हत्याकाण्डमा राजपरिवारकै सदस्य वा बाह्य शक्तिको संलग्नता थियो या थिएन भन्ने प्रष्ट हुने आधार र तथ्य छैन ।
२०७६ जेठ १९ गते बिहान ९ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology