चिसाङ शेर्पा खोटाङ,
तस्विरमा देखिएको गाउँ मुलडाँडा गैरी हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको साविक वडा नं. ८ मा पर्ने मुलडाँडा गैरी गाउँ उदेक लाग्दो छ । कारण त्यहाँका सवै युवाहरु वैदेशिक रोजगारीमा विदेशीएका छन् । गाउँघरमा बुढाबुढी, बुहारीहरु र केटाकेटीहरु मात्रै छन् । गाउँलाई हेर्दा नक्सा कोरे झै देखिन्छ, जुन चलयमान छैन । विहान वेलुका अलवा गाउँ पुरै सुनसान हुन्छ । मान्छे नभएजस्तो ।
४५ घरधुरी रहेको मुलडाँडा गैरीमा विहान ९ वजेसम्म स्कुले केटाकेटी घरमा हुने र साँझ फर्केर आएपछि त्यही केटाकेटीले गर्दा गाउँमा मान्छे भएको हल्का महशुष हुन्छ । बैदेशिक रोजगारीमा युवा तथा उमेर भएका वयष्कहरु समेत कतार, मलेसिया, दुबई, बहराईन लगायतका मुलुकमा छन् । उनीहरु रातादिन कमाई गर्छन । दुःखले होस त सुखले । यता परिवारमा आज हो कि भोली भनेर कुरीरहेका आमाबुुवा सकि नसकि काम गरिहरेका छन् । श्रीमानको बाटो हेर्दै श्रीमतीहरु आफ्नै जीवन चलाउनमा व्यस्त छन् । वालवालिका स्कुल र साथी–साथीबिच खेल्ने क्रममा बुबाको खबर, परिचय साटासाट गर्छन् । कतीले त आफ्नो बुबाको अनुहारसम्म देख्न पाएका छैनन् । जसलाई बुबाले आमाको पेटमै छोडेर विदेश गए ।
मुलडाँडा गैरीका २२ घरका युवाहरु अहिले पनि विभिन्न मुलुकमा काम गरिरहेका छन् । बाँकी घरका कोही छुट्टीमा घर आएका छन् । गाउँबाट विदेश नजाने कोही छैन । एकै घरबाट तीनजना तथा दुई जनासम्म विदेश गएका छन् । आफ्नो दुईजना छोराहरु मलेसियामा रहेको र एकजना सम्पर्कभन्दा बाहिर रहेको एकजना बुढी आमाले बताईन् । हप्ता दिन अघिमात्र उनको एकजना छोरा मलेसिया गएका छन् । घरमा बसेर के गर्ने, गर्दा खेती किसानी हो, ज्याला मजदुरी हो । त्यसको पनि बजार छैन । विकल्प त विदेश नै रह्यो । एकजना स्थानीय भन्छन्, ‘विदेश गयो कमाएर ल्यायो । जीवन गुजारा ग-र्यो ।’
अहिले त्यस गाउँमा युवाहरु पाउन मुस्किल हुन्छ । सामाजिक काम तथा मर्दापर्दा गाउँघरमा बुढाबुढी र केटीकेटी मात्रै पाईन्छन् । उनीहरुले गाँउघर धानिरहेका छन् । युवाहरु पराई मुलुकमा पसिना बगाई रहेका छन् । विदा लिएर गाउँघरमा जाँदा मनै नअडिएको एकजना युवाले सुनाए । गाउँघर गयो, त्यही बुढाबुढी बुबाआमा, केटाकेटी र बुहारीहरु छन् । आफ्नो दामलका मान्छे छैन । अनि कसरी मन अडिन्छ । उनले प्रश्न गरे । ‘यस्तै हो भने गाउँमा आपत्ती आइपर्दा ठूलो क्षति हुनसक्छ । यसतर्फ चाँडोभन्दा चाँडो सवैको ध्यान जानुपर्छ ।’ कतीपय आमाहरुसँग छोराहरु विदेशमा रहेको कुरा गर्दा मात्रै उहाँहरुको आँखा रसाउन थाल्छ । किन कि कति आमालाई थाहा छ । छोराछोरीसँग भेट हुन्छ कि हुन्न यो जुनीमा ।
मुलडाँडा गैरी गाँउ त एक प्रतिनिधि गाउँ मात्रै हो । गैरीमा जस्तै नुनथलाभरीका कुल ११८ घरधुरीमा यस्तै समस्या छ । मान्छे मर्दा मलामीसम्म पाउन हम्मेहम्मे पर्छ । मुलडाँडा गैरी र सिङ्गो नुनथलामा जस्तोे समस्या अहिले जिल्लाभरी र नेपालभरी रहेको छ । हाल नुनथलामा ५१ वर्ष माथिका १२१ बृद्धबृद्धा, १–१५ वर्षसम्मका १७६ महिला÷पुरुष र १६–५० वर्षका ११३ जना पुरुष गाउँमा छन् । आर्थिक वर्ष २०७४÷०७५ सालमा नुनथलाबाट मलेसियामा ३४, कतारमा २८, दुबईमा २१, साउदीमा २५, कुवेतमा ५, बहराइनमा ७ र युरोप तथा अन्य मुलुकमा ७ जनागरी १३१ जना विदेश गएका थिए । जसमा ४ जना महिला र १२७ जना पुरुष छन् । ५ करोड ५८ लाख ३७ हजार नुनथलामा रेमिट्यान्स भित्रिएको थियो ।
भित्रिएको रेमिट्यान्स सवैभन्दा वढी अनुत्पादक क्षेत्रमा खर्च भएको तथ्याङक छ । विदेशबाट आएको रेमिट्यान्स मध्ये घर खर्चमा ८४ लाख २६ हजार, जग्गा खरीद तथा घर निर्माणमा १ करोड ९८ लाख ५ हजार, शिक्षा स्वास्थ्यमा १ करोड ३१ लाख ६२ हजार, व्यवसायमा १ लाख ६० हजार, ऋण तिर्नमा ८६ लाख ५४ हजार र बचतमा ५६ लाख ३० हजार भएको सुरक्षित आप्रवासन सामी परियोजनाले बताएको छ । बिदेश गएका १३१ जनाको घर–घरमा पुगेर दुई पक्षबिच छलफल गरे प्रतिव्यक्तिको आय ३५ हजार ५ सयको आधारमा उक्त रेमिट्यान्स भित्रिएको र खर्च भएको सामीसँग तथ्याङ्क छ ।
चालू आर्थिक वर्षमा पनि केही मात्रामा मात्रै तथ्याङ्क तलमाथि हुने जनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र मात्रै गत आवमा ९३ करोड ५४ लाख ४२ हजार रेमिट्यान्स भित्रिएको थियो । यस्तै, गत आवमै सवैभन्दा बढी बुईपाबाट ३१५ जना र पाथेकाबाट २९९ जना वैदेशिक रोजगारीमा गएका थिए । वेलैमा यसप्रती स्थानीय सरकारहरु चनाखो हुन आवश्यक छ ।
२०७६ बैशाख २२ गते अपरान्ह ३ : १३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology