चिसाङ शेर्पा खोटाङ,
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्राङगणमा बेग्लै तवरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरियो । गाउँपालिकाको प्राङगणमा स्टेज, स्टेजमा एकातर्फ सात वडाका वडाध्यक्ष, अर्कोतर्फ विषयगत कार्यालयका कर्मचारीहरु बिचमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष अनि छेवैमा नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष । अगाडी अन्य पत्रकारहरु । त्यसपछिको घेरामा स्थानीयहरुको बाक्लो उपस्थितीमा कार्यक्रम सुरुवात भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहालले जनताबाट आउने प्रश्नको जवाफ दिनलाई तम,तयार बसेका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र विषयगत कार्यालयका कर्मचारीहरुलाई आसन ग्रहण गराए । आसन ग्रहणको चरणपछि फ्लोर नेपाल पत्रकार महासंघलाई जिम्मा दिइयो । महासंघका अध्यक्ष दमन राईको संयोजकत्वमा कार्यक्रम सुरु भयो ।
आर्थिक वर्ष २०७४/०७५ को सार्वजनिक सुनुवाइमा टाढा टाढाबाट गुनासो राख्न आएका स्थानीयलाई पत्रकार महासंघका अध्यक्ष राईले कार्यक्रम बारे भूमिका बाँधेर थप कार्यक्रम सञ्चालनका लागि महासंघका उपाध्यक्ष रामधन राईलाई जिम्मा लगाए । हातमा माईक्रोफोन लिएर कार्यक्रम सञ्चालक राईले सार्वजनिक सुनुवाईमा प्रश्नकर्ता र उत्तरदातालाई आचार संहिता राखे । अनि पालैपालो प्रश्न राख्न अनुरोध गरे । केही समय सन्नाटा छायो । अनि सप्तेश्वर छितापोखरीका भक्तराज दाहालले सुरुमै प्रश्न राखे । सार्वजनिक सुनुवाई गर्न किन ढिला ? सडक निर्माणमा स्टामेट अनुसार काम नभएको पनि प्रश्न राखे ।
टेम्माका पाण्डव राईले कृषिको प्रचारप्रसारमा वजेट कम भएको, टेम्माका यजुमान राईले नमुना विद्धालय छनौटका मापदण्ड के के हुन् ? कसरी वाडिएको । जनप्रतिनिधि आएपछि महिला कार्यक्रमका निम्ति थोरै वजेट आएको एकजना महिला प्रशनकर्ताले गुनासो गरिन् । अन्यले पनि सामान्य खाले प्रश्न गरे । प्रश्नका विचमा पनि सवैभन्दा वढी स्वास्थ्यका विषय बढी उठेका थिए । शिविर सञ्चालनको रकम नपाएको, आव ०७४/०७५ मा वालवालिकाको वजेट कसको संयोजकत्वमा बाँडफाँड भएको भनेर सप्तेश्वर छितापोखरीका वडाध्यक्षलाई सोही वडाका रमशे राईले प्रश्न तेर्साए । अर्का प्रश्नकर्ता ढाकमान तामाङले सानो पार्टी हेरेर काम हुने गरेको समेत आरोप लगाए । योजना फरफारक ढिलाई किन भनेर रण वहादुर खड्काले जवाफ मागे ।
सार्वजनिक सुनुवाईमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सहभागीहरु । तस्विर चिसाङ शेर्पा
अर्को सहभागी दिनशे तामाङले युवा लक्षित कार्यक्रमको खोजी गरे । घनश्याम पराजुलीले पोषण भत्ता नपाएको, भुकम्पको राहत नपाएको, अहेव राम कुमार मुग्रातीले स्वास्थ्यमा भएको अनियमितता, याम्खाका राजेन्द्र राईले विद्धालयमा अंग्रेजी दरवन्दी हटाएको, गाउँपालिकाको सिमानाहरुमा वोर्ड राख्न नसकेको, पुर्व प्रअ सुमन खड्काले सानिमा वैकको मनपरीतन्त्रको जवाफ मागे । जनताबाट आएको कतिपय प्रश्नको सञ्चालकले त्यही वेला उत्तर दिन जवाफदेहीलाई अनुरोध गरे । आ,आफ्ना क्षेत्रकाले प्रश्नको पालैपालो जवाफ दिए ।
आफ्नो वडाका वारेमा आएका गुनासोहरुको सप्तेश्वर छितापोखरीका वडाध्यक्षले समाधान गर्ने चेष्टा गरे । त्यसैगरी याम्खा, वतासे, डाँडागाउ, छितापोखरी, छोरम्बुका वडाध्यक्षले सवालको जवाफ दिए । शिक्षाका वारेमा आएका गुनासोलाई शिक्षा संयोजक तुलसी कुमार खड्का, स्वास्थ्यका गुनासोलाई स्वास्थ्य संयोजक मुस्ता अहमद मन्सुरीले जवाफ दिएका थिए । न्यायिक समितिका वारेमा उठेका गुनासो तथा समस्याका वारेमा गाउँपालिका उपाध्यक्ष सपना राईले प्रष्ट पारिन् ।
सार्वजनिक सुनुवाईमा सहभागीहरु । तस्विर चिसाङ शेर्पा
वडाध्यक्ष, विषयगत कर्मचारीबाट छुटेका तथा स्वयम् गाउँपालिका माथि आएका प्रश्नहरुको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जवाफ दिए । पालिकावासीहरु के गर्छन, कसो गर्दैछन् भनेर आफूहरुले निगरानी राखे झै आफूहरुमा पनि सवैको निगरानीको खाँचो रहेको बताउदै, गाउँपालिका अध्यक्ष राईले सवै प्रश्नको एक एकगरी जवाफ दिए । हामीले के कसो गरेका छौ सवै विल भपाई कार्यालयमा आएर जनताहरुले हेर्न पाउनुहुन्छ । कही कतै हामीले भ्रष्टाचार हुन दिएका छैनौ । उनले भने, ‘यो सर्वाजनिक सुनुवाईमा जनप्रतिनिधि माथि सुझाव र गालीको वर्षा एकदमै कमी भयो ।’
गाउँपालिकाका कर्मचारीले कमिसन मागेको भए, योजनामा अनिमितता भए, कार्यालयगत काममा ढिलासुस्ती भएमा डाइरेक्ट जानकारी गराउन उपस्थित सबैलाई गाउँपालिका अध्यक्ष राईले आग्रह गरे । तत्काल कारवाही गर्छौ । यहाँ आफ्नो पराई केही चल्दैन । जनताले सेवा पाउनुपर्छ अनि मात्रै हामी सन्तुष्ट हुन्छौ । उनले भने । विधुत, टेलिफोनको खाश प्रसंग उठेनन् । स्वास्थ्यका वारेमा सबैभन्दा गुनासो आएको थियो । त्यसको वारेमा स्वास्थ्य संयोजकलाई सोधिने गाउँपालिका अध्यक्ष राईले बताए । चुनावका वेला भोट माग्न आउने जनप्रतिनिधिलाई काम बिर्गादा गाली गर्न सक्ने क्षमता बनाउन समेत गाउँपालिकावासीलाई कार्यक्रम संयोजक तथा महासंघका अध्यक्ष राईले अनुरोध गरे ।
१ करोड ३७ लाख बजेट उभ्रियो
आर्थिक वर्ष २०७४/०७५ को सार्वजनिक सुनुवाइ पछि आव ०७४/०७५ को चालु तर्फको १ करोड ३७ लाख ३० हजार ६८९ रुपैयाँ र पुंजीगत तर्फ १ करोड ६९ लाख २ हजार ९५० रुपैयाँ रकम बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहालले बताए । सोही आर्थिक वर्षमा कन्टेन्जेन्सीबाट खर्च भई २२ लाख ४७ हजार १ सय रुपैयाँ बजेट बाँकी रहेको छ । बाँकी रहेको बजेटलाई प्राथमिकरणको आधारमा योजना छनौट गरी विनियोजन गरिने गाउँपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाईमा वडाध्यक्षहरु । तस्विर चिसाङ शेर्पा
कन्टेन्जेन्सीबाट मात्रै खर्च भई २२ लाख रकम बाँकी रहनुमा गाउँपालिकाले हरेक योजनामा कडाइ गरिएको हो । अन्य गाउँपालिका तथा नगरपालिकाले कन्टेन्जेन्सीबाट बचेको बजेट सार्वजनिक गर्ने गरेका छैनन् ।
विकासमा छितापोखरी सवैभन्दा सुस्त
आर्थिक वर्ष २०७५/०७६ को वडागत बजेट २ करोड ४५ लाख विनियोजन गरिएकोमा ४६ लाख १६ हजार ४८० खर्च भएको छ । १ करोड ९८ लाख ८३ हजार ५२० रुपैयाँ रकम खर्च हुन बाँकी छ । छितापोखरी वडा विकासमा सबैभन्दा सुस्त गतिमा चलिरहेको देखिएको छ । आर्थिक वर्ष सकिन तीन महिना मात्रै रहंदा उक्त वडाले हालसम्म ८१ हजार ५ सय मात्रै खर्च गरेको छ । ताकि यस आवमा गाउँपालिकाले सातै वडामा ३५/३५ लाखका दरले बजेट विनियोजन गरेको छ ।
सम्झौता गरेर पनि उक्त वडाले २० लाखको केन्द्रीय विधुत विस्तार योजना साविक वडा नं. १ र ९, ५/५ लाखको बाखोर दुधिने भन्ज्याङ गुरासेडाँडा तोरीबारी सडक र तल्लो दिहुं साविक वडा नं. १ सडकको काम छोएकै छैन । बाल शिक्षा व्यवस्थापन तथा कुल पुजा व्यवस्थापन (कालीकोटे खड्का) योजना पनि सम्झौता गरेर काम गरेको छैन ।
सार्वजनिक सुनुवाईमा सहभागीहरु । तस्विर चिसाङ शेर्पा
यस्तै, गौरबका योजनामा विनियोजन गरेकोे ८ करोड ४४ लाख ६ हजार कुल बजेट मध्ये ७२ लाख १८ हजार २५६ खर्च भएको र ७ करोड ३२ लाख २७ हजार ७४३ रुपैयाँ बजेट खर्च हुन बाँकी छ । वडागत तथा गौरबको १० करोड ४९ लाख ४६ हजार मध्ये २ करोड ८८ लाख ७३ हजार २८ रुपैयाँ खर्च र ७ करोड ६ लाख ७२ हजार ९७२ रुपैयाँ रकम बाँकी रहेको छ । नयाँ आर्थिक वर्ष लगत्तै योजना सम्झौता भए पनि आर्थिक वर्ष समापन हुन लाग्दा समेत काम सुरुवात नभएको पाइएको छ । यसले गर्दा असारमा हतारो गरेर कमसल काम गरिने र विल भपाई मिलाउने काम हुनेमा आशंका पैदा भएको छ ।
२०७५ चत्रै २६ गते अपरान्ह ३ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology