समायोजन खबर काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी विमान खरिद प्रक्रियामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी निर्दोष रहेको बताउनुभएको छ । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य अधिकारीको शोक प्रस्ताव पारित गर्न आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । अधिकारीसँग सरोकार नै नभएको वाइडबडी जहाजको विषय जोडेर केही तत्वले उहाँको बद्नाम गर्न खोजको प्रधानमन्त्रीको टिप्पणी छ । ‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । अत्यन्तै अनुचित ढङ्गले उहाँको कुनै सरोकार नभएको विषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले बद्नाम गर्न खोजे, जो सम्पूर्ण रूपमा निराधार कुरा हो ।
’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘वाइडबडी जहाजको कुरा उहाँ मन्त्री हुनभन्दा पहिलेको हो । तर पनि नेपाल यस्तो देश भएको छ, जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुचि भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।’वाइडबडी जहाजका बारेमा रवीन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘मलाई दुख लाग्छ कि उहाँ जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढङ्गले आरोप, लाञ्छना लगाउने र अपमान गर्ने कामहरू पनि भयो ।’मन्त्री अधिकारीले नागरिक उड्ययन क्षेत्रमा देखिने गरी असाधारण काम गर्नुभएको प्रधानमन्त्री ओलीको भनाइ छ । छ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी, वीराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर मन्त्री अधिकारी त्यसतर्फ जानु भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर उहाँ जानुभएको थियो ।’ ढिलोमा तीन वर्ष भित्र सो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । मन्त्री अधिकारी विमानस्थलहरूको अध्ययन भ्रमणकै क्रममा हिजो बिहीवार जमर्नीको म्युनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हिजो उहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्युनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढङ्गको एयरर्पोट ह्याण्डिलिङ बनाउने, उहाँहरूसँग सहकार्य गर्ने उहाँले योजना बनाउनु भएको थियो ।
’ अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एक जना हस्ती भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उपसचिव युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट बिष्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ । निधन भएका अन्य व्यक्तिहरू प्नि आआफ्नो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।नेकपासंसदीय दलको आजको बैठकले दुर्घटनामा निधन भएकाहरूप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानआकर्षण गराउने निणर्ययसमेत गरेको छ ।
२०७५ फागुन १७ गते राती ८ : ०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology