• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जालपामा हुने लाटोकोसेरो उत्सवको तयारी पूरा

जालपामा हुने लाटोकोसेरो उत्सवको तयारी पूरा

आउने हैन जालापा


चिसाङ शेर्पा
  • मंगलबार, माघ १५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको जालपामा यहि माघ १८ र १९ गते हुने आठौ लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी पूरा भएको छ । लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं भन्ने मूल उद्देश्यका साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा दुइदिन बृहत उत्सव हुनेछ ।

     

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रकृतिका साथीहरु, १ नम्बर प्रदेश सरकार तथा अन्य पालिकाहरु लगायत विभिन्न संघ संस्थासहित स्थानीय तहको करीव साँढे बाह्र लाख र प्रकृतिका साथीहरुको ९ लाख खर्चमा हुने उत्सवका लागि स्तम्भ निर्माण र स्टेज निर्माणको काम समापन भएको मूल आयोजक समिति संयोजक तथा जालपाका वडाध्यक्ष विकास राईले बताए । संयोजक राईका अनुसार काठमाण्डौबाट आएका २५ जना दक्षजनशक्तिहरुले लाटोकोसेरोको अस्थाइ संग्राहलयको काम तीव्र गतीमा गरीरहेको छ । स्वागतद्धार निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । पाहुना घर, लोपोन्मोख सांस्कृतिक कार्यक्रम, लोपोन्मोख खेलकुदको तयारी पुर्णरुपमा सकिएको छ । हुर्लुङदेखी जालपासम्म पुग्ने कच्ची सडक भने मंगलबार सफा गरिनेछ ।


    धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु र दोलखापछि यसवर्ष खोटाङको जालपामा उत्सव गरिने भएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए । किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि उत्सवको आयोजना गर्न लागिएको हो । उत्सवमा पाँच हजार मानिसको उपस्थिती हुने आयोजकको दावी छ ।

    के गरिन्छ उत्सवमा

    उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने,लाटोकोसेरा सम्बन्धी लघु म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरु (घिर गाडे, झुलो चकमक, लाथ्रो काट्ने) को प्रर्दशनी तथा प्रतियोगिता गरिने छ भने, राती लाटोकोसेरोकोे महत्व दर्शाउने खालका स्लाइड तथा भिडियो प्रदर्शनी गरिने छ । दोस्रो दिन संरक्षण, संस्कृतिलाइ विशेष जोड दिइने छ । उत्सवलाई जिवन्त बनाउन स्थानीय डम्फु र सेलो (तामाङ), सेब्रु (शेर्पा), साकेला (तोसी) र मारुनि (राई), संगिनि नाच (हिन्दु महिलाहरुको), सालैजो (गुरुङ), बालन, सडक नाटक, हाक्पारे गित (बुढा बुढीहरुको लयमा गाईने नेपाली भाषाको गित), स्थानिय बाजाहरु (एकैसाथ मुचुङ्गा, पीपीरी, यलम्बर, मादल, बासुरी) को प्रदर्शनी समेत गरिनेछ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धि नाच समेत प्रर्दशन गर्नेछन् ।

     

    उक्त अवसरमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, निबन्ध, कथा तथा कविता प्रतियोगिता समेतको आयोजना र प्रदर्शनी गरिनेछ । सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरुको प्रदर्शनी समेत गरिने छ । गहँुको छ्वालीबाट, चुराबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिनेछन् । आठवटा लाटोकोसेरोको आवाज सुन्न मिल्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुने जो कसैका अनुहारमा तथा नङमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमुनाहरुपनि प्रदर्शनीमा राखिने छ ।

    लाटोकोसेरोको के महत्व छ ?

    मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानको वास्तविक साथी भनिन्छ । यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरु) एक सिजनमा ३हजार वटासम्म मुसाहरु खाने गर्छन् । मुसाबाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्दछन् । धार्मिक हिसाबले समेत लाटोकोसेरोहरुलाई देवी लक्ष्मीको वाहन मानिन्छ । पर्यावरणलाई सन्तुिलत राख्न पनि यिनको मुख्य भूमिका रहन्छ । यिनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्दछ । लाटोकोसेरोसहित सम्पूर्ण चरामा आधारित पर्यापर्यटन विकासमार्फत मानवीय जिविकोपार्जनमा समेत सहयोग पुग्दछ । यिनीहरुको आवाजले साँझ परेको तथा बिहान भएको संकेत समेत गर्दछ ।

    लाटोकोसेरो कस्तो चरा हो ?

    लाटोकोसेरा प्राय राती तथा बिहान सक्रिय हुने र सिकार गर्ने चरा हो । त्यसो त यसले दिउँसो पनि आँखा देख्दछ । यिनीहरुकोे देख्ने तथा सुन्ने दुवै क्षमता अत्यन्तै राम्रो हुन्छ । यिनीहरुले रुखको टोड्को, भुइँमा तथा पहराहरुमा फुल पार्छन् र बच्चा कोरल्छन् । यिनको शरीरको तौल ३१ ग्रामदेखि लिएर ४ किलो ५०० ग्रामसम्मको हुने गर्दछ । लाटोकोसेराको शरिर अत्यन्तै हलुका तथा नरम भुवाहरुले ढाकेको हुनाले उड्दाखेरि आवाज आउँदैन । यिनीहरुले आफ्नो टाउकोलाई एकापट्टिमात्रै पनि २७० डिग्रीसम्म घुमाउन सक्छन् । नेपालमा यिनीहरुको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । यिनको संख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरु अभिलेख गरिसकिएको छ जसमध्ये ८ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् । यसमध्य दुईवटा प्रजातीहरुलाई लामो समयदेखि नेपालमा अभिलेख गरिएको छैन् ।

    जाल्पामा कसरी आउने ?

    काठमाडौंबाट (कोटेश्वर) बस तथा सुमो (करिब ८ वटा सुमोहरु) विहानै उपलब्ध छन् । काठमाण्डौ देखि खुर्कोट, घुर्मि, जयराम, हलेसी हुदै जालपासम्म जान सकिन्छ । काठमाडौबाट जालपा जम्मा २६७ कि.मी (काठमाडौंबाट हुर्लुङ २५७ किलोमिटर पक्किबाटो, हुर्लुङबाट जालपा १० कि. मि कच्ची बाटो) छ । काठमाण्डौकाट जालपा पुग्न करिब ९ देखी १० घण्टा लाग्छ । बस भाडा करिब एक हजार चार सय प्रति व्यक्ति र सुमोमा एक हजार ८०० प्रति व्यक्ति पर्न जान्छ । रात परेको खण्डमा हुर्लुङमा बास बस्न सकिन्छ वा एक घण्टा परको सदरमुकाम (दिक्तेल) पनि पुग्न पनि सकिन्छ । तर सदरमुकामबाट जालपा जानका लागि फेरि हुर्लुङ फर्कनु पर्ने हुन्छ । हुर्लुङबाट ओरालो बाटो हिढेर करिब २ घण्टा जतिमा गाँउ पुग्न सकिन्छ ।

     

    यदि हुर्लुङ बास बस्ने हो भने काठमाण्डौ वा अन्य ठाँउबाट दिक्तेल जाने कुनै पनि बस प्रयोग गर्न सकिन्छ । खोटाङको सदरमुकाम दिक्तेलबाट दिउसोको ३ बजेतिर जालपाको लागि बस छुट्ने गर्दछ । भाडा २५० लाग्दछ । काठमाडौंबाट मोटरसाइकलमा जान चाहनेहरुको लागि उपयुक्त गन्तव्य हो । आप्mनो निजी वाहनमा जानेका लागि हुर्लुङदेखि जालपासम्मको १० किमि कच्ची बाटो बाधक वन्न सक्छ । ग्राउण्ड क्लीयरीन्स राम्रो भएको गाडिहरु गाँउसम्मै जान्छन् । पुर्वका काँकडभिट्टा, धरान, विराटनगर, गाईघाट, इटहरी, घुर्मि, भोजपुर आदि स्थानहरुबाट हुर्लुङ हुँदै खोटाङको सदरमुकाम दिक्तेल सम्म नियमित गाडिहरु सन्चालित छन् ।
    २०७५ माघ १५ गते मध्यान्ह १२ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology