चिसाङ शेर्पा खोटाङ,
यूवा ठिटो । नयाँ ठाउँ, नयाँ परिवेश त्यति सजिलो थिएन काम गर्न । त्यो पनि फ्रेस कर्मचारी, जिबनको पहिलो भोगाइ नै लगभग यहिबाट सुरुवात भयो । २८ वर्षीय यूवा ठिटोले जिन्दगीमा निजामती कर्मचारी भएपछि जिम्मेवारीको हिसाबमा प्रशासन सम्हाल्दाका दुःख सुख सुनाए । झापा साविक चकचकी गाविस–७ मा २०४७ असोज १३ गते विजयादशमी पूर्वाधसँगै यस संसारमा पाइला टेकेका जीवन निरौलाले निजामती कर्मचारी भएर पहिलोपटक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरेका कुरा बेलिविस्तरा लगाए ।
आफ्नो दाइको प्रेरणाले २०६८ फागुन २९ गतेवाट निजामती कर्मचारी बनेका जीवन अहिले खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । भर्खरका ठिटो, चुस्स दाह्री, जुंगा पालेका निरौला एक निष्ठावान राष्ट्रसेवक हुन् । ‘प्रशासनिक रुपमा प्रतिबद्ध राजनीतिमा तटस्थ’ स्वभाव लिएर निजामती कर्मचारी बनेका उनले जिवनको औपचारिक शिक्षा बाह्रदशी–५ झापाको कहरडांगी निमाविबाट कक्षा १–८ र बाँकी शिक्षा फुलवारी मावि पढेर २०६१ सालमा सोही विद्धालयदेखी प्रवेशिका परिक्षा उतिर्ण गरे । परिवारको कान्छा छोराका रुपमा मध्यमवर्गीय परिवारमा जन्मेका उनले कहिल्यै विद्धालयमा कम अंक ल्याएन । फलतः विद्धालयको जेहेन्दार विधार्थीको नामावलीमा उनी पर्दै गए ।

गाउँमा प्रवेशिका परिक्षा उतिर्ण गरेका जीवनको यात्रा अब भने, केही रुपमा मोडियो । उच्च शिक्षाका लागि परिवारले उनलाई त्रिचन्द्र कलेज काठमाण्डौमा आइएस्सी/विएस्सी अध्ययन गर्न पठायो । यतिसम्मकी उनले एमएस्सीको इन्ट्रास परिक्षा समेत छोडेर संघर्ष गरेरै २०६८ फागुन २९ गते निजामती कर्मचारीमा नाम निकाले । एमएस्सी अध्ययन गर्दै सूचना विभागमा खरीदार बनेका उनी २०७० पुस १६ सम्म नासु पनि भए । जागिरले विभिन्न रुप परिवर्तन गरेसँगै उनको पढाइ पनि परिवर्तन हुंदै थियो । केही हप्ता श्रम कार्यालय विरगञ्ज, सूचना विभाग, बैदेशिक रोजगार विभाग र अन्ततः सूचना विभागमै उनि पुगे । यो बेलासम्म उनले बिएस्सी सकिसकेका थिए ।
जीवनको गोलचत्र आफ्नै रफ्तारमा थिए । स्वभावैले कान्छो छोरामा बुबाको मात्रै हैन दाइको पनि केही अधिकार हुन्छ । उनले भने, ‘मेरो दाइको एउटा सपना म डाक्टर बनेको हेर्ने धोको थियो । मलाई पत्रकारिता पढ्न । खासमा मलाई विएस्सी पढ्नै मन थिएन ।’ त्यो समय पढाइको विषयमा आफू राजी नभएको जगजाहेर गदै उनी फेरी एकपटक खुशी भए । विएस्सी पढाइ काम लाग्यो, त्यसले अंग्रेजी त राम्रो भयो,भयो । परिश्रमी र स्मरण शक्ति समेत तेज बनायो । त्यही पूरानो संघर्षबाट आफू बसेको कार्यालयबाट जीबनले आफ्नो बिगत कोट्याउने चेष्टा ग-र्यो । ६ महिना शाखा अधिकृतको तालिमपछि २०७३ चैत्र १५ गते पहिलो पटक एेंसेलुखर्क गाउँपालिकामा अधिकृत भएर आउँदा उनी एकपटक त्यहाँ दुइछक परे । स्थानीय निर्वाचनको पूर्वसन्ध्या, विकट भूगोल, अव्यवस्थित कार्यालय ।

जीवन निरौला । तस्विर चिसाङ शेर्पा
स्थानीय निर्वाचनमा सबै व्यस्त हुंदा जीबन भने, खाइनखाइ कार्यालयका लागि घर खोज्ने दौडधुपमा थिए । चिनेका त्यति थिएन । कहाँ जाने के गर्ने, एक्लो मान्छे, नयाँ ठाउँ, नयाँ परिवेश, कार्यालय व्यवस्थापन गर्न नसक्दा पसिनानै आएको उनीसँग अनुभव छ । स्थानीय निर्वाचन सरेपछि भने, उनलाई अलकति सहज भयो । कार्यालय व्यवस्थापनमा । कार्पेट बोकेर ल्याए, आफै ओच्छाए, कुचो लगाए । कार्यालयको हाकीम मात्रै भइन, सहयोगीसम्म भए । विगतमा उनी डुब्दै गए । राम्रो काम गर्दै गए केही विचमा राजनीति प्रभावसम्म प¥र्यो । उपभोक्ता समिति गठनमा केही समस्या पनि आयो, केही समुहले सरुवासम्म गर्न खोजे, त्यो सफल भएन जीवनले सुनाए । स्थानीय सरकार सुरुवात भएदेखी नै तपाई यहाँ हुनुहुन्छ पालिकाको काम कारवाहीप्रती कतीको सन्तुष्ट हुनुहुन्छ ? मेरोे प्रश्न थियो । उनी एकछिन रोकिए । विगतमा भन्दा सुधार त आयो तर ! व्यक्तिगत रुपमा म, सन्तुष्ट छैन । उपभोक्ता समितिले समयमा काम नगरेको र अनुगमनमा कडाइ नभएको कुरामा उनी सन्तुष्ट छैनन् । त्यस्तो कार्यलाई कडाइ गर्न सबै लाग्नुपर्छ अनिमात्रै सोचेजस्तो विकास हुन्छ । उनले भने, ‘पद्धती प्रक्रिया पुगेको काम गर्नुपर्छ । दवाव र प्रभावमा कोही कसै पर्नुहुन्न जिम्मेवारी प्रष्ट हुनुपर्छ ।’
२०६८ सालदेखी विभिन्न तह तर ! एउटै कुर्सीमा वसेर जनताको सहयात्री बनिरहंदा कहिले काँही जीवनलाई सोच्नुहुन्न ? मेरो प्रश्न अलिकती माया प्रेममा मोडियो । त्यो प्रश्नले हाकिमले दिने उत्तर अनि हाकिमको चेहेरामा नौलोपन आयो । रातोपिरो भए । त्यो बेला चेहेरामा अधिकृत(हाकिम)को अनुहार साहै्र टिस लाग्दो, माया लाग्दो देखियो । मेरो प्रश्नले उनको मन कुंडिएको प्रष्टै अड्कल गर्न सकिन्थ्यो । जवानीमा सबै सरह मैले नि माया गरे तर ! त्यो स्वार्थपुर्तीको लागि माया थियो भन्ने बुझिन त्यसैले कहिलेकाँही दुख्छ मन उनी भावुक भए । मायामा मुटु दुखेको पिडा शब्दमा ओकल्न नसके पनि उनले अनुहारबाट प्रष्टाए । सवैको सेवा गर्ने उनी अब भने, कसै एकजनाको सेवा गर्ने सोचमा रहेको सुनाए ।

गाउँपालिकामा सवैसँग रुझेर बसेका उनी भन्छ्न ‘असल नियतले काम गर्नुपर्छ ? असल नियत नाप्ने मेसिन नभए पनि । हिड्ने मान्छे लड्छ भने झै निष्क्रिय नरही काममा सक्रिय हुनुपर्ने उनको बुझाई छ । सदरमुकामदेखी उत्तरी भेगमा पर्ने ऐंसेलुखर्क गाउँपालिकामा कार्यरत उनी छोडेर जाँदा गालीभन्दा प्रशंसा कमाएर जाने उद्देश्य सहित आफ्नो काममा निपुर्ण छन् ।
२०७५ माघ १४ गते मध्यान्ह १२ : २७ वजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology