चिसाङ शेर्पा खोटाङ,
दिक्तेलबाट हुर्लुङ–कुभिण्डे हुंदै गाडीको यात्रामा करीव तीन घण्टा हिडेपछि रावाबेंशी गाउँपालिका–४ डुम्रे धारापानी पुगिन्छ, त्यसपछि गाडीमै उकालो नै उकालो हिडेपछि सोही गाउँपालिकाको दुवेकोल पुगिन्छ । अनि, त्यसपछि सुरुवात हुन्छ । ड्राइभर र यात्रुको कन्तविजोग, न गाडी नै उकालो चड्छ, न यात्रुले मजाले खुट्टा टेकेर सडकको दायाँबायाँ पार गर्न सकिन्छ ? ग्रेड नमिलेको सडक अनि दुइ तीन फिटको धुलो । उफ ! त्यहाँको सबै दृश्य भोगाइ देख्दा यस्तो लाग्छ त्यहाँका जनप्रतिनिधि कानमा तेल हालेर वसेका छन् ? अरुको मतलब छैन ?
सोही रुट हुंदै गत माघ ७ गते केही पत्रकारसहित यात्रु बोकेर दिक्तेलबाट गाडी ऐंसेलखर्कका लागि छुट्यो । माथि उल्लेख गरे अनुसार गाडी रावाबेंशी गाउँपालिका–४ डुम्रे धारापानीमा पुगेर बिसाएपछि । चालकले सडकको दुरावस्था बतायो । ‘तपाईहरु त पत्रकार हुनुहुंदो रहेछ यस सडकका वारेमा पनि रिपोर्टिङ गरिदिनुहोला । गाडी चलाउनै मुस्किल छ ।’ हेर्नुस न सडकको हालत । साँच्चिकै ड्राइभरले सुनाएभन्दा दुइ गुणा सडक खराब थियो । कतै ग्रेड नमिलेको, घुम्ती नपुग्ने अनि खोलाको बगरजस्तो जताततै ढुंङगा नै ढुङगा । गाडी यताको ढुंगा छलेर उता लान खोज्यो जताततै उस्तै ढुंगा । सिटमा वसेका यात्रुको हालत उस्तै, कहिलेकांही आफ्नो सिट नै कुन हो पत्ता नलाग्ने गाडी अनियन्त्रित भइ उर्फादा ।
जसोतसो गाडी डुम्रे धारापानी हुंदै दुवेकोलको कोलडाँडा पुगेर रोकियो । त्यहाँ बिग्रिएर भने गाडी रोकिएको हैन । दुवेकोलको कोलडाँडामा अर्को (टु ह्वील)गाडी (सुमो) उकालोमा चढ्न नसकेर रोकिएकाले रोकियो । गाडीका लागि ठूलो काल(समस्या)नै कोलडाँडा हो । सोही दिन बिहान धरानबाट ऐंसेलुखर्कका लागि छुटेको को १ ज ३५१७ नम्बरको सुमो गाडी राती दश बजे कोलडाँडाको उकालो चढ्न नसकेर रोकियो । गाडीमा एकजना यूवती वाहेक अन्य दुइजना महिला यात्रु थिए । त्यसमा, एकजना ८० वर्षीय महिला यात्रु थिए । हामी तलतिर गाडी रोकेर उकालो हेर्दा सुमोका ठिटो ड्राइभर गाडी निकाल्न जग लगाउँदै थिए । तर, त्यति सजिलो त्यो गाडी निस्कने छाँटकाट थिएन । हिलोमा नभइ धुलाोमा फसेको गाडी निकाल्न हामी सबै भेला हुंदा ति ८० वर्षीया यात्रुले खाल्डाखुल्डी अनि धुलाम्मे सडकमा आफूहरु अलपत्र परेको पिडा नेता(वडाध्यक्ष/पालिका अध्यक्ष)लाई धित पुगिञ्जेल गाली गरे ।

ऐंसेलुखर्कको भिरपानी सडक । तस्विर चिसाङ शेर्पा
रातको दश बजे लाइट बालेर ढुंङगा खोजेर अथक मेहेनतपछि सुमोलाई पछाडी झारेर यात्रुलाइ भने, दिक्तेलबाट ऐसेलुखर्क हिडेको ग १ ज ५९८१ नम्बरको फोर्स गाडीले गन्तब्य स्थलमा पु-याइदियो । सुमोलाई पछाडी थन्किाएर उकालो लागेको (फोर ह्वील) फोर्स गाडीलाई पनि बाँकी सकड पार गर्न तेल नै आयो । धुलो नै धुलो सडकमा नानीलाई काक्रोमा हल्लाए जसरी यात्रुलाई हल्लाउदै फोर्स गाडी रावाबेंशीको सिमाना (दुवेकोल भिरपानी) काटेर ऐसेलुखर्क गाउँपालिकाको ऐंसेलुखर्कको भिरपानी भन्ने स्थानमा पुग्यो । रातको १० : २० मा भिरपानी पुगेको गाडी मरेरै उकालो चड्यो । सडकको हालत देखाउँदै ड्राइभरले मजाक उडाए । ऐंसेलुखर्कको पिच बाटो । तलतिर डर लाग्दो भिर, साँघुरो सडक अनि यत्रतत्र ढुंगा नै ढुंगा, दुइ तीन फिटको धुलो, नमिलेको रोडा । कहाली लाग्दो भिरपानी सडकबाट जसोतसो गाडी निकाल्दै ड्राइभरले हातमा ठेला नै उठेको सुनाए । अन्य कुनै पनि गाडी त्यो सडकमा नहिड्ने र जोखिम मोलेरै स्थानीयको सुविधाका लागि आफ्नो गाडी त्यस रुटमा लगाएको ड्राइभरले सुनाए । त्यस सडकमा गाडी कुदाउँदा हत्केलामा यस्ता ठेला त कती आयो, फुट्यो साध्य छैन । ड्राइभर भने ।
रावाखोला पक्की पुल पारीवाट दुवेकोलको भिरपानीसम्म सडकलाई स्तरोन्नती काम गरिरहेको रावाबेंशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । गाउँपालिकाले निर्माण उपभोक्ता समिति गठन गरी सडकको स्तरोन्नतीको काम थालेको हो । ‘दुवेकोल चास्ले सडक स्तरोन्नती समिति’ले अहिले सडक ८ मिटर चौडाइ र नालीसहित स्तरोन्नती गरिरहेको गाउँपालिका अध्यक्ष निरौलाले बताए । सडक स्तरोन्नतीका लागि २० लाख बजेट गाउँपालिकाबाट छुट्याइएको छ । यहि माघ २ बाट स्तरोन्नती थालिएको सडकमा दुवेकोलको राउटार, रेग्मीगाउँ, घट्टीडाँडा र बुधुने खोलामा सोलिङ गरिनेछ । स्तरोन्नतीको काम चैत्र मसान्तमा सम्पन्न गर्नुपर्ने दुवेकोल चास्ले सडक स्तरोन्नती समिति’का अध्यक्ष रामप्रसाद निरौलाले जानकारी दिए ।

सडक स्तरोन्नतीका क्रममा बाधा सिर्जना गर्दै डुम्रे धारापानीमा स्थानीय, सहमतीपछि काम सुरु भएको छ । तस्विर चिसाङ शेर्पा
सडक स्तरोन्नतीको क्रममा दुवेकोलमा कुलो पुरिएको भन्दै केही स्थानीयले माघ ११ गते भने, काममा अवरोध सिर्जना गरेका थिए । क्षति पुगेको कुलो मर्मत गरिदिने सहमतीमा स्तरोन्नतीको काम अघि बढेको दुवेकोलका वडाध्यक्ष गणेश बहादुर थापा मगरले बताए । त्यस रुटमा गाडी चलाउने ड्राइभर र स्थानीय(त्यस रुटमा यात्रा गर्ने सवै यात्रु)ले त्यस सडकमा यात्रा गर्न जोखिम रहेको बारम्बार बताएपछि सडक स्तरोन्नतीको काम हुन थालेको एकजना ड्राइभरले बताए ।

ऐंसेलखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला । तस्विर चिसाङ शेर्पा
रावाबेंशी गाउँपालिकाको दुवेकोल सकिएसँगै एेंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कको भिरपानी सडक गाडी यात्राका लागि यतिवेला सबैभन्दा खतरापुर्ण सडक हो । तलमाथि भिर नै भिर अनि ढुंगा, रोडा, धुलाम्मे सडक । त्यस सडक स्तरोन्नतीका लागि दश लाख बजेट बिनियोजन गरी सकिएको एेंसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । भिरपानी नोरुङ ऐंसेलुखर्क सडक मर्मत उपभोक्ता समितिसँग सम्झौता भइ पहिलो किस्ता बजेट पनि निकासा दिएका छौ । गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘तत्काल उक्त सडक मर्मतको काम हुन्छ ।’ सडक स्तरोन्नतीका लागि मेशिन(स्काभेटर)धनीलाई पेश्की रकम दिइसकिएको र मेशिन नभ्याएकाले काम सुरुवात नभएको भिरपानी नोरुङ ऐंसेलुखर्क सडक मर्मत उपभोक्ता समितिलाई उदृ्रत गर्दै गाउँपालिका अध्यक्ष निरौलाले बताएका छन् । उनका अनुसार सोमबार अथवा मंगलबारबाट धमाधम काम सुरुवात हुनेछ ।
२०७५ माघ १३ गते बिहान ८ : ५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology