चिसाङ शेर्पा खोटाङ,
प्रत्येक बिहान ५ बजेदेखी ७ बजेसम्म शारीरिक व्ययामपछि चियानास्ता खाई साढे सातबाट आ–आफ्नो कार्यक्षेत्र प्रवेशसँगै सानाठूला विधार्थीको दैनिकी सुरुवात हुन्छ । बिहानको ११ बजेदेखी १२ बजेसम्म खाना खाई दिउँसो २ बजेसम्म ईनडोर कक्षामा शैद्धान्तिक/प्रयोगात्मक कक्षा । एक घण्टा चिया नास्ता खाएपछि साँझ ५ बजेसम्म फिल्डमा अध्ययन, ५ बजेदेखी ७ बजेसम्म एक घण्टा मनोरञ्जन र बेलुकाको खानापछि राती ८ बजेदेखी १० बजेसम्म विशेष ईनडोर कक्षा(रिपोर्ट बनाउने र डायरी लेखन) सँगै विधार्थीहरुको एकदिन पुरा हुन्छ । यो दैनिकी शुभद्रा–मदन फाउण्डेसनका विधार्थीहरुको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा डाडाँगाउमा अवस्थित लगभग नेपालकै नमुनाको रुपमा रहेको फाउण्डेसनमा कक्षा १ देखी कक्षा ७ सम्मको शैद्धान्तिक र प्रयोगात्मक अध्ययन/अध्यापन हुन्छ । कक्षा ८ देखी उच्च तहसम्मका विधार्थी अन्य विद्धालयमा भर्ना गरी फाउण्डेसनमा अध्ययन गर्छन् । परिक्षामात्रै भर्ना भएको विद्धालयमा दिने गरेका छन् । फाउण्डेसनमा आगामी दिनमा क्रमागत रुपमा कक्षा बृद्धी गर्दै जाने शुभद्रा–मदन फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्य राईले बताए ।
गरीवी र प्रदुषण हटाई उत्पादनमुखी शिक्षा दिने उद्देश्यले शहरको कोलाहल वातावरणबाट टाढा प्रकृतीको काखमा २०६१ सालमा स्थापना भई फाउण्डेसनले ३६ जिल्लाका ४२ समुदायका कलिला वालवालिकादेखी युवायुवतीलाई जीबन उपयोगी शिक्षा प्रदान गरीरहेकोे छ । शुभद्रा–मदन फाउण्डेसन कोष, आन्तरिक उत्पादन, ब्यक्तिगत सहयोग र विधार्थी शुल्कबाट सञ्चालन हुंदै आएको फाउण्डेसनमा विधार्थीलाई दिने शिक्षा नीति विल्कुलै फरक र पृथक छ । १ सय ५० जना विधार्थीलाई ४० जना शिक्षक/व्यवस्थापकले दैनिक रचनात्मक र प्रयोगात्मक ढंगले जीबन उपयोगी शिक्षा दिईरहेका छन् । विधार्थीको पोशाकमा ‘बानी चेन्ज’ भनेर लेखेको पोशाकबाटै विधार्थीको सिक्ने मानसिकतालाई एकाग्र बनाई दिएको छ । उक्त शब्दले त्यहाँ पुग्ने जो कोहीलाई एकपटक सोचनीय बनाउछ ।

गाईवस्तु, कुखुरा, बाख्रा कसरी पाल्ने भन्ने कुरा किताबमा पढ्ने मात्रै हैन । हामीले त गाईवस्तुको गोठमा लगेर प्रयोगात्मक रुपमा पढाउछौ, माछा पोखरीमा लगेर पढाउछौ, भान्सा कक्षामा लगेर प्रयोगात्मक कक्षा लिन्छौ । यस्तो व्यवहारिक शिक्षाका लागि छिमेकी राष्ट्र भारत र नेपालका ३६ जिल्लाका विधार्थीहरु विभिन्न संघसंस्था तथा ब्यक्तिगत माध्यमबाट यहाँ अध्ययन गर्न आएका छन् । एकजना शिक्षकले भने, “यहाँ साथीसाथी र सौहार्दपुर्ण वातावरणले घरको याद भुलेका छन्, आमाबुबा सवैको माया पाएका छन् । खाना बस्नमा विभेद छैन ।” १२ सय रोपनी क्षेत्रफलमा भएको फाउण्डेसनमा अध्ययन गर्ने विधार्थीहरु कितावसँगै प्रयोगात्मक गर्छन् । फाउण्डेसनमा सवै तहका विधार्थीका लागि चाहिने सामग्री प्रशस्त छ । कतीपय अवस्थामा विधार्थीहरुलाई शिक्षक नै आवाश्यक पर्दैन । उनीहरु आफै प्रयोगात्मक रुपमा सिकाई गरिरहेका हुन्छन् । जुन उसको जीवनभर पुग्छ ।
फाउण्डेसनमा अध्ययनरत विधार्थीले कृषि उत्पादन क्षेत्रमा फुलवारीदेखी धानवारीसम्म, भान्सादेखी शौचालयसम्म प्रयोगात्मक ज्ञान सिकीरहेका हुन्छन् । कृषिमा बन्दा, काउली, खुर्सानी, मुला, भेण्टा, आलु, लसुन, गाँजर, धनिया, तिते करेला, चिप्ले भेण्टी रोप्ने, गोड्ने, टिप्ने गरीरहेका कृषि शिक्षक पेशल कार्कीले सुनाए । पशुपंक्षी पालनमा गाई, भैसी, बाख्रा, बंगुर, टर्की कुखुरा, लौकाट, बट्टाई, परेवा पालेर नश्ल सुधारका बारेमा अध्ययन गरीरहेका छन् । चराचुरुङगीको मिठो आवाजसँगै विधार्थीहरु वन क्षेत्रमा जडीबुटी उत्पादन र प्रसोधनका ज्ञान सिक्छन् । यस्तै, प्रसोधन क्षेत्रमा राईस मिल, कुटानी पिसानी मिल चलाउने, काठ काट्ने मेसिन चलाउने, फर्निचर बनाउने गर्छन् । विज्ञान प्रयोगशालामा जिज्ञासा लागेका विषयको अनुसन्धान गर्छन् । कला क्षेत्रमा बगैचा बनाउने, सजावट गर्ने रंङरोगन, घर निर्माण, हाउस वयरिङ, कोठा सजावट गर्छन् । बिशेषगरी कलाक्षेत्रमा विधार्थीलाई बगैंचा सजावट, फुलका नाम, प्रकार, रोप्ने, गोड्ने तरिका फुलका बिरुवासँगै फिल्डमा काम गर्ने गरिएको शिक्षिका निसा राईले बताईन् । फाउण्डेसनका वरीपरी गमला तथा जमिनमा रोपेका विभिन्न थरीका मनमोहक फुलहरु देखाउदै उनले भनिन्, ‘हेर्नुस त सवै फुलहरु यहि विधार्थीहरुले रोपेका हुन् ।’ समग्रमा उक्त फाउण्डेसनमा विधार्थीलाई कितावी किरो भन्दा नि वास्तविकतामा अध्ययन गराईन्छ । वास्तविकतामा ल्याईन्छ ।
कक्षा १ देखी ७ सम्म र त्यसभन्दा माथिका अध्ययन गरीरहेका विधार्थीलाई गाडी, मोटरसाईकल बनाउन र ड्राईभिङ सिकाईन्छ । तर, वालवालिकाको हकमा भने उनीहरुको अवस्था शारीरिक बनावट अनुसार यो शिक्षा दिने गरिन्छ । ईन्जिन सम्बन्धिका कतीयय कुराहरु माथीका कक्षाका विधार्थीले क्रमश तल्लो स्तरका विधार्थीलाई सिकाउछन् । सोही अनुसार विधार्थीलाई कपास उत्पादन, धागो बनाउने अनि त्यसको कपडा बुन्ने, कपडा सिलाउने काट्ने विभिन्न तरिका सिकाईन्छ । त्यस्तै अर्को महत्वपुर्ण पाटो फाउण्डेसनमा विधार्थीलाई भान्सा कक्षामा विभिन्न खानाका आईटमहरु बनाउन र खाना सिकाईन्छ । बृद्धबृद्धा, विदेशीका लागि कस्तो खाना बनाउनुपर्छ भन्ने अत्यन्तै सुक्ष्म ढंगले प्रयोगात्मक गरी सिकाईन्छ । त्यही विधार्थी, शिक्षकले बनाएको खाना नै त्यहाँको स्वादिष्ट खाना र जीबनमुखी शिक्षा हो ।
फाउण्डेसनमा पुग्दा सानासाना वालवालिकादेखी युवायुवतीले आ–आफ्नो काम गरीरहेका हुन्छन् । मानौ की कुनै काम गर्ने ठाउँजस्तै, जहाँ काम गरे वापत पारिश्रमिक आउछ । कोही गमला बोक्दै गरेका हुन्छन्, कोही कोदालो हातमा लिएर फुलहरुको विरुवा उमार्न जमिन बनाउदै गरेका हुन्छन् । कोही गाईवस्तुको मलमुत्र सफा गर्दै घासपानी खुवाईरहेका, कसै जलचर र उभयचरको बारेमा खोज अनुसन्धानका लागि खोलामा भेटिन्छन् । केही शौचालय सफा गरीरहेका, केही खाना बनाईरहेका, केही घोडा चराईरहेका, कसै घरमा रंङ लगाउदै अनि कोही कपडा सिलाउने मेसिनमा भेटिन्छ् । त्यहाँ प्रायः त वालवालिका नै ज्यादा हुन्छन् । हामीले ति दृश्य देख्दा वाल शोषण भएन भनेर प्रश्न ग-र्यौ, ‘वालवालिकाको श्रम शोषण गर्नु अपराध हो । वालवालिकालाई श्रम सिकाउनु धर्म हो । जीबन दुःख र सुख हो । यो सिकाउने केन्द्र हो’ फाउण्डेसन यही नारा लिएर काम गरीरहेको छ । अब तपाई नै भन्नुहोस हामीले वालवालिकाको श्रम शोषण गर्दै छौ अथवा उनीहरुको भविष्य उज्ज्वल बनाउदै छौ । फाउण्डेसनका प्रवन्ध निर्देशक राईले हामीलाई प्रश्न राखे ।
विभिन्न जिल्लामा रहेका वालवालिका संम्बन्धि संस्था, विद्धालयसँग सहकार्य गरेर फाउण्डेसनले विधार्थी छनौट गर्छन् । आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क र अन्यलाई मासिक ५ हजारमा खानावस्न लगायत उसलाई चाहिने यावत सुविधा फाउण्डेसनले दिरहेको छ । आगामी वर्षमा नेपालको सवै जिल्ला, समुदायबाट ५० जना विधार्थी लिने र कलेज निर्माण गर्ने योजना रहेको प्रवन्ध निर्देशक राईले सुनाए । प्रकृतीको काखमा रहेको फाउण्डेसनमा जताततै विविध जातका फुल, जडीबुटी, माछा, गाई, भैसी, कुखुरा बाख्रा, घोडा लगायत छन् । त्यसका सवैको नेपाली, अंग्रेजी र बैज्ञानिक नाम लेखेर प्ले काड बनाएर राखिएको छ । ठाउँठाउँमा रुदाक्ष, धुपी लगायतका विरुवा पनि रोपिएको छ ।
माथमा रुपाकोट तलतिर कलकल बगीरहेको साप्सुखोलाको आनन्दसँगै ट्याम्केलाई नियाल्दै फाउण्डेसनमा अध्ययन गर्नुको मज्जा नै वेग्लै छ । अझै फाउण्डेसनको दायाँवायाँ तीन ‘क’ अर्थात कोदालोमा क्रान्ती, कलममा क्रान्ती र कम्प्युटरमा क्रान्ती भनेर राखिएको वोर्ड होस या त, अर्थतन्त्र शिक्षा भनेको कृषि, उधोग, व्यापार र सेवा भन्ने वोर्ड पढेर त मन नै उथलपुथल हुन्छ । साँच्चिकै हामीले हिजो कस्तो शिक्षा लिएका रहछौ अनि धन्न यतिको भैएछ भनेर । सुनाईबाट ५, पढाईबाट १५, श्रव्यदृश्यबाट ३०, प्रयोगात्मक सैद्धान्तिकबाट ६० र अन्य शिक्षणबाट ९० प्रतिशत शिक्षार्जन गर्न सकिने त्यहाँको शिक्षा नीति छ ।

नेपालका प्रायजसो कलेजको प्रयोगात्मक क्षेत्र बनेको यस फाउण्डेसन नमुना सिकाई गर्ने थलो मात्रै नभएर आन्तरिक र वाह्य पर्यटक घुम्ने, सेल्फी खिच्ने रमणीय ठाउँ पनि बनेको छ । यहाँ दिनमा ४/५ वटा संस्थाहरु भ्रमण एवम् अध्ययनका लागि आउने गरेका छन् ।कतीपय विदेशी पर्यटकहरु हलेसी घुम्ने अनि यहाँ घुम्ने योजना बनाएर फाउण्डेसनमा आउछन् । दिक्तेलमा गएर बस्छन् ।
कम्तीमा उनीहरुले यहाँ भ्रमण अवलोकन गरेपनि दिक्तेलमा आयआर्जन त हुन्छ । यो पनि त हाम्रो लागि यौटा फाईदा हो । प्रवन्ध निर्देशक सुर्य राईले बताए । यहाँ विदाका समयमा कर्मचारी घुम्न तथा विकास हेर्नका लागि आउने गरेका छन् । सदरमुकाम दिक्तेलबाट पैदल यात्रामा आधा घण्टा र सवारी साधनमा दश मिनेटमा पुग्न सकिने फाउण्डेसनमा सवैभन्दा बढी सेल्फी खिच्नेको जमात आउने गरेको छ ।

तीन तहमा फाईदा पुगोस भन्ने नै हाम्रो उद्देश्य र आकांक्षा हो । मान्छको मान्छेले गर्दाखेरी प्रकृती तहमा जलवायु परिवर्तनले आकास ढड्दैछ, पानी प्रदुषण हुदैछ, हावा प्रदुषण हुदैछ, माटो प्रदुषण भएको छ । यसलाई सम्बोधन गर्नका लागि मान्छेलाई सिकाउने हो, यसो नगरौ भनेर । शुभद्रा–मदन फाउण्डेसनका अध्यक्ष मदन राईले फोनबाट भने, अर्को चाहि ‘नेपाल गरीवीले पराकाष्ट भएको छ । काम नगरेर मान्छे गरीव भएको छ । किताव पढेर धनी भईदैन ? काम गरेर प्रकृती र प्रविधिलाई प्रयोग गरेपछि मात्रै धनी भईन्छ । त्यसका लागि काममुखी, अर्थतन्त्र शिक्षाका लागि विद्धालय सञ्चालन गरी अर्थतन्त्र सुध्रियोस भनेर विद्धालय सञ्चालन गरिएको हो ।
ब्यक्तिगत तहमा प्रत्येक मानिसले जगत र जिबन बुझोस्, प्रकृति पञ्चतत्व, पञ्चप्राणी पञ्च म को अर्थ बुझेर आफ्नो जिबनयापन गर्न सकोस र विशेष गरेर ज्ञान, बुद्धि, विवेक र सीपको चारवटा चीजहरु बुझोस, सिकोस अनि बानी गरेर आफ्नो जीबनलाई अगाडी बढाउन् सकोस भन्ने नै हाम्रो आकांक्षा हो । त्यसपछि सवैलाई आनन्द मिल्छ, सुख मिल्छ । सबै देशलाई समेट्ने गरी सिकाउने, नेपालमा नेपालको अर्थतन्त्र सुधार गर्ने र ब्यक्ति तहमा आफ्नो जिबनलाई सुखमय, आनन्दमय बनाउनका निमित्त ज्ञान, बुद्धि, विवेक र जगत जिबन यी चार तहमा सिकाउनेनै विद्धालयको मकशत हो ।
यो पनी पढ्नुहोस
फोटो : शुभद्रा–मदन फाउण्डेसन, २०७५ कार्तिक १४ अपरान्ह ३ : ३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology