चिसाङ शेर्पा खोटाङ,
वडामा बनेको पोखरी कुन प्रक्रियामा बन्यो बारेमा वडाध्यक्ष नै बेखवर भएको खुलासा भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा निर्माण सम्पन्न आँखा आकार पोखरीको बारेमा वडाध्यक्ष भीम राई बेखबर भएको बाहिर आएको छ ।
महुरे देवीगढी संरक्षण समितिले निर्माण गरेको नगरपालिकाको गौरवको योजना अन्तरगत महुरेगढीमा बनेको पोखरीको लागि सिफारिस र निर्माण प्रक्रिया नुनथला वडाबाट नलिई नगरपालिकाको १४ नम्बर वडा बुईपाबाट लिएर बनाइएको पाइएको हो । पोखरी निर्माणदेखी अन्तिमसम्म निर्माण उपभोक्ता समितिले वडा कार्यालय नुनथलासँग सहकार्य र योजना कार्यान्वयनको कुनैपनि प्रक्रिया नगरेको नुनथलाका वडाध्यक्ष भीम राइले बताउनुभयो । स्वभावैले वडाभित्र बनेको संरचनामा वडाध्यक्षलाई नै थाहा नदिइ अर्को वडाले हस्तक्षेप गर्न खोजेको आँकलन गरिएको छ । नगरपालिकाले नगर उप्रमुखको संयोजकत्वमा बनेको अनुगमन समितिले १५ वडाका सानाठूला योजनाका लागि सिफारीस दिने नीति नियम बनाउनुभन्दा करीव दुई महिना अगाडी निर्माण थालिएको पोखरीमा नुनथलालाई वाइपास गरेर बुइपाले सिफारिस गरेको पाइएको हो ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले आफूले नुनथला वडासँग सुरुवातमा सिफारिसका लागि सहकार्य गरेको बताए पनि निर्माण उपभोक्ता समितिले आफूसँग पोखरी निर्माणका लागि केही सोधीखोजी नगरेको वडाध्यक्ष राईले बताएको छ । आँखा आकारको पोखरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले साउन २५ गते औपचारिक रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नुनथलाकै वडाध्यक्षको अनुपस्थिती रहेको थियो । मेयरका टोली पोखरी निर्माणमा महुरे पुग्दा वडाध्यक्ष दिक्तेलमा थिए । उक्त क्रियाकलापलाई लिएर अहिले सामाजिक सञ्जालहरुमा त्यस विषयको चर्को बहस चलिरहेकोे छ । वडाको कार्यक्रममा वडाध्यक्ष नै अनुपस्थित हुनुलाई चासोको विषयमा हेरिएकोे छ ।
उद्घाटन कार्यक्रममा आउनका लागि दिक्तेलमा वडाध्यक्षसँग कुराकानी हुंदा जग्गा पास गर्न मान्छे आएको र बस्नैपर्ने अवस्था भएकाले वडाध्यक्षको उद्घाटन कार्यक्रममा उपस्थिती नभएको मेयर रिजालले जानकारी दिनुभयो । यद्यपि, नुनथलाका वडाध्यक्षले भने मेसिनको कामले पाथेका जानलाई दिक्तेल आएको बताएका थिए । नगरका ठूला गौरवका योजनाहरुमा वडाले अनिवार्य सिफारिस गर्नुपर्छ भन्ने छैन । मेयर रिजालले भन्नुभयो, ‘अनुगमन समितिले नभ्याउँदा वडालाई अनुमती दिने कानुनी प्रावधान रहेको छ ।’ मेयर रिजालका अनुसार नगरपालिकाको गौरवको योजना तथा बुइपा र नुनथलाको सिमानामा बन्ने पोखरी भएकाले जुनै वडाले सिफारीस गर्दा पनि फरक नपर्ने आसय थियो । सोही अर्थमा नगरपालिकाले बुइपालाई सिफारीस गर्न दिएको हो ।
हाल निर्माण सम्पन्न पोखरी सडकको मापदण्ड विपरीत पनि बनेको छ । निकट समयमा मध्यपहाडी लोकमार्गमा परिणत हुने दिक्तेल–हलेसी सडकको नजिक पोखरी बनेको छ । लोकमार्गको नियम अनुसार सडकको दायाँवायाँ २५÷२५ मिटरसहित ६ मिटर छोडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ । तर, ऐतिहासिक र धार्मिकस्थलको हकमा भने पोखरीलाई सडकले केही नगर्ने दिक्तेल–हलेसी सडक खण्डका रेजिडेन्ट इन्जिनियर सुर्य ढकालले बताए । वडाको जग्गामा संरचना बन्नु तर, वडाबाट निर्माण कार्यान्वयनको कुनै प्रक्रिया नहुनुले चर्चाको विषय भएको छ ।
नगरपालिकाको ४३ लाख लगानीमा निर्मित आँखा आकारको पोखरीमा सेन्सर बिजुली बत्ती, विधुतीय डिजिटल बोर्ड, डाइनिङ ब्रिज बनाइएको छ । समुन्द्री सतहदेखी २ हजार मिटर उचाईमा रहेको महुरेगढीमा बनेको पोखरीको लम्बाई ३२ मिटर छ । पोखरीलाई आर्कषणको केन्द्रविन्दु बनाउन पाइपको सुद्ध पानी लगाई दायाँवायाँबाट पानीको फोहोरा छोडिएको छ । निकट समयमा पोखरीमा रातो माछा लगाईने निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ । पोखरी बनेपछि आन्तरिक तथा बाह्य पर्यटक हेर्न तथा फोटो खिच्न आउन थालेको छ ।
क्याप्सन : नुनथलामा बनेको आँखा आकारको पोखरी, २०७५ साउन २७ गते साँझ ७ : ०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology