समायोजन खबर खोटाङ,
खोटाङमा लडेर गम्भीर घाईते भएकी आफन्तको उपचारकाक्रममा एक परिवार ऋणमा डुबेका छन् । घाँस काट्नेक्रममा लडेर गम्भीर घाईते भएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा दाम्लीकी रमा कार्कीको उपचारकाक्रममा परिवार ऋणमा डुबेको हो । असार १५ गते दाम्लीकै गाजले पाखामा लडेर गम्भीर घाईते भएकी कार्कीको उपचारकोक्रममा हालसम्म १३ लाख ५० हजार खर्च भइसकेको ससुरा नवराज कार्कीले बताए । लडेर गम्भीर घाईते भएकी रमा ५ महिनाकी गर्भवती थिईन् ।
टाउकोको बायाँतिर गहिरो चोट लागेका कार्कीको हाल बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । लडेपछि बेहोस बनेकी रमाको उपचारकाक्रममा केही दिनअघिबाट सामान्य होस आउँदा परिवारमा खुसी फर्किए पनि ऋणको चिन्ताले पिरोल्न थालेको छ । दिमागमा जमेको रगत हटाउनका लागि असार १६ गते शल्यक्रीया गरिएका रमाको साउन १६ गते टाउकाको चोइटिएको हड्डी जोड्नका लागि दोश्रो शल्यक्रीया गरिएको परिवारको भनाई छ । उनलाई १६ दिनसम्म आइसियूमा राखिएको थियो । निम्न आर्थिक अवस्था भएका कारण रमाकी दाजु पुरुषोत्तम बस्नेतले ५ लाख ऋण खोजिदिएको र विदेशमा रहेका आफन्तबाट ८ लाख ५० हजार ऋण काढेको ससुरा नवराजले बताए ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीले अझै भदौ १५ गतेसम्म उपचार गर्नुपर्ने बताएको छ । थप उपचारका लागि ६÷७ लाख लाग्ने बताइएपछि थप समस्या निम्तिएको नवराजले बताए । ‘ऋणपान गरेर जम्मा गरेको साँढे ते¥ह लाख सक्किसक्यो, अझै पनि उपचार पूरा हुन सकेको छैन,’ नवराजले भने, ‘अझै छ/सात लाख चाहिन्छ भनेको छ । कसरी जुटाउने हामीले ?’ भीरबाट लडेकी रमा ५ महिनाकी गर्भवती थिईन् । लडेको अशरका कारण गर्भको बच्चा खेर गएको छ । हालसम्म ऋणमै उपचार गराइरहेका कार्की परिवारले थप उपचारका लागि सहयोगको याचना गरेका छन् । उपचारकैक्रममा कार्की परिवारको घरबार सक्किएको स्थानीय एमाले नेता सुरेन्द्र राईले बताए । ऋण तिर्नका लागि घरबारको मूल्याले नै नधान्ने अवस्था देखिएको स्थानीयको भनाई छ ।
उपचारपछि रमाको देब्रे आँखा सामान्य खुल्न थालेको र बोलाउँदा टाउकाको इसाराले जवाफ दिन थालेको परिवारको भनाई छ । उनको दाहिने आँखा अझै खुल्न सकेको छैन । स्वास्थ्यमा सामान्य सुधार आएपछि उनको नाकबाट अक्सिजन मास्क हटाइएको छ ।
क्याप्सन : भीरबाट लडेर गम्भीर घाईते भएपछि उपचाररत रमा कार्की । तस्बिर, समायोजन खबर २०७५ साउन २४ गते साँझ ५ : २४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology