समायोजन खबर खोटाङ,
किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नका लागि बैचारिक र कुटनीतिक पहलकदमी थालेको छ । संबिधान निर्माणपछि कार्यान्वयनमा आएको संघीय राज्य व्यवस्था अन्तरगत विभिन्न प्रदेशसभाले प्रदेशको नाम र केन्द्र टुंग्याइरहेको सन्दर्भमा यायोक्खाले प्रदेश नम्बर १ को नाम किरात राख्नका लागि दवाव स्वरुप अभियान थालेको हो । ऐतिहासिक भूगोल, भाषा, संस्कृति, सभ्यता, आदिम थातथलो र साझा पहिचानको आधारमा प्रदेशको नाम किरात राख्नु सबैभन्दा उत्तम हुने आधार र अवधारणाका बारेमा यायोक्खाले मंगलबार दिक्तेलमा अन्तरक्रीया गरेको छ ।
किरात शव्द जातीय नभएर मानव सभ्याता एबं प्राचिन इतिहास र भूगोल भएकाले प्रदेशको नाम किरात राख्नु सबैका लागि सर्वस्वीकार्य हुने यायोक्खाकी अध्यक्ष अञ्जना राईले बताईन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशको नाम किरात राख्ने ६ वटा आधार र अवधारणाका बारेमा छलफल गरिएको छ । किरात शब्दले राई जातीलाई मात्र नभएर हिमाल, पहाड र तराईका सबै आदिबासी जनजाती र खस आर्य समुदायलाई समेट्ने भएकाले ऐतिहासिक, साँस्कृतिक, भौगोलिक बिशेषताका आधारमा प्रदेशको नाम किरात राख्न उपयुक्त हुने, हजारौं वर्ष पहिले पुर्वी नेपालको भू–भागमा भष्मे खोरिया फाँडेर मानव सभ्यताको सुरुवात गरेका किरात समुदायले आफ्नो विशिष्ट भाषा, संस्कार, संस्कृति, सभ्यतालाई हालसम्म निरन्तरता दिइरहेकाले, विभिन्न पार्टीहरुले उठाउँदै आएको बहुपहिचान तथा ‘पहिचान भेटिने र द्धन्द्ध मेटिने’ नारालाई सार्थक बनाउन सबैको साझा र सर्वस्वीकार्य नाम हुने भएकाले किरात प्रदेश राख्न उपयुक्त हुने आधार प्रस्तुत गरिएको छ ।
यस्तै, खोला, नाला, वन, जंगल, हिमाल लगायतका नाम राख्दा मानव इतिहास र सभ्यता हराउने भएकाले, विविधतायुक्त मानव सभ्यता, संस्कृति र इतिहासलाई सम्बोधन गर्दा भावनात्मक एकताको सुत्रमा बाध्ने र राष्ट्रियतालाई बलियो बनाउने भएकाले प्रदेशको नाम किरात राख्न उपयुक्त हुने आधार यायोक्खाले पेश गरेको छ ।
कार्यक्रममा सहभागी दलका नेताले प्रदेश नम्बर १ को नाम किरात राख्नका लागि आ–आफ्नो ठाउँबाट अन्तिम बल गर्नुपर्नेमा जोड दिएका छन् । दलहरुको पृष्ठभूमीका आधारमा कतिपयले भने किरात प्रदेश नाम रहनेमा आशंका व्यक्त गरेका छन् । एमालेका सचिव देबबिक्रम राईले प्रदेशको नामाकरण शिर्ष नेतृत्वको ‘इन्टेसेष्ट’मा भर पर्ने बताए । कांग्रेस नेता दुर्गाप्रसाद घिमिरेले आफुले पहिल्यैदेखि प्रदेशको नाम किरात राख्नका लागि आवाज उठाउँदै आएको बताए ।
प्रदेशको नाम किरात राख्ने आधार र अवधारणाका बारेमा छलफल गरेपछि यायोक्खाले किरात प्रदेशका लागि जिल्ला प्रशासन कार्यालयमार्फत मूख्यमन्त्रीलाई अवधारणापत्र पठाउने तयारी गरेको जनाएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा गत चैत्रमा जिल्लामा हस्ताक्षर अभियान चलाएको थियो । १ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गर्ने ६ वटा आधार सहितको अवधारणापत्र जिल्ला प्रशासन कार्यालयमार्फत मूख्यमन्त्रीलाई बुधबार साँढे ११ बजे पठाइने किरात राई यायोख्खा खोटाङका सचिव युगसन किरातले जानकारी दिनुभयो ।
क्याप्सन : किरात प्रदेश नामाकरणका लागि दिक्तेलमा आयोजना गरिएको छलफलमा सहभागी । तस्बिर : चिसाङ शेर्पा, २०७५ असार २६ गते राती ८ : ५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology