एसियाकै ठूलो दाबी गरिएको सिद्ध गुफा पर्यटकको पर्खाइमा छ । पर्यटनको प्रचुर सम्भावना भए पनि उचित प्रसारप्रसार अभावमा गुफा ओझेलमा परेको हो । पृथ्वी राजमार्गनजिकै भएर पनि सरोकारवाला निकायले चासो नदिँदा चहलपहलमा कमी आएको स्थानीयले गुनासो गरेका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका– ४ विमलनगरस्थित गुफाले पर्यटकीय सम्भावना बोकेको छ । २०४४ मा जंगलमा घाँस काट्न जाँदा स्थानीयले देखेपछि उक्त गुफा पत्ता लागेको थियो । तर, प्रचारप्रसारको अभावमा केही समय गुफा विलीन हुने अवस्थामा पुगेको थियो ।
०६० देखि भने गुफा निरन्तर सञ्चालनमा ल्याइएको सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।
‘धेरैपहिले नै गुफा पत्ता लगाइएको भए पनि स्थानीय र सरोकारवाला निकायले चासो नदिँदा गुफा ओझेलमा पर्दै गएको हो,’ उनले भने, ‘पछि स्थानीयसँग समन्वय गरेर ०६० देखि सञ्चालनमा ल्याएका छौँ, आन्तरिक पर्यटक गुफा अवलोकनमा आइरहेका छन् ।
गुफाको अझै बढी प्रचार गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न सक्छ ।’
०६४ मा प्रचारप्रसारका लागि सिद्ध गुफा महोत्सवसमेत गरिएको थियो । त्यतिवेला ५१ हजार नाफा भए पनि त्यसपछि महोत्सव आयोजना गरिएको छैन । श्रेष्ठले भने, ‘स्थानीयको सक्रियता नभएपछि महोत्सव हुन सकेन, प्रचारप्रसार कम भयो, सम्बन्धित निकायको पनि ध्यान पुगेन, स्थानीय तहले समेत बजेट नछुट्याउँदा गुफाबारे सबैलाई ध्यानाकर्षण गराउन सकिएन ।’
सक्रिय बन्दै समिति
सिद्ध गुफा विकास समितिले गुफाको पर्यटन प्रवद्र्धन गर्न पछिल्लो समय सक्रियता देखाएको छ । समितिले आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति २० रुपैयाँ र बाह्य पर्यटकलाई एक सय रुपैयाँ लिने गरेको छ । वार्षिक खर्च कटाएर तीन लाख रुपैयाँ बचत हुने गरेको समितिले जनाएको छ ।
गुफामा शिवरात्रि मेला, कात्तिकमा फुलको डोली टाँग्ने र साउन महिनाभर बोलबम धाम लाग्ने हुँदा मानिसहरूको घुइँचो लाग्ने गरेको समितिका कोषाध्यक्ष बलबहादुर थापाले बताए ।
‘गुफाभित्र राजाको श्रीपेचजस्तो देखिने आकृति छ, शंख छ, ऋषिमुनि तपस्या गरेर बसेकोजस्तो देखिन्छ । त्यस्तै, आफूले जे कल्पना ग-यो, त्यस्तै वस्तु देख्न सकिन्छ,’ उनले भने, ‘गुफामा लोप हुन लागेका पाँच थरीका चमेरासमेत देख्न पाइन्छ ।’
२ सय मिटरभित्र -यापलिङको मजा
गुफाको दुई सय मिटरभित्र साहसिक खेल -यापलिङको आनन्द लिन सकिन्छ । यो खेल खेल्दा यांकर ढुंगामा खोपेर अड्काइन्छ र माथिबाट डोरीको सहायताले भित्र झर्ने गरिन्छ ।
डाँडाको बाहिरी भागबाट गुफाभित्र झरिने यो साहसिक खेल नयाँ हो । त्यस्तै, यो खेलका लागि सिद्ध गुफा विकास समितिले दुई सय ५० रुपैयाँ लिने गरेको छ । हालसम्म पाँच हजारभन्दा बढीले यो खेलको मजा लिइसकेका छन् ।
पृथक् गुफा
चार सय ४० मिटर लम्बाइ रहेको गुफा अन्यभन्दा पृथक् छ । गुफामा जति भित्र गयो त्यति धेरै अक्सिजनको मात्रा बढी पाइन्छ । गुफाभित्र बिजुली बत्ती राख्दा चमेरालाई असर पर्ने चमेरा विशेषज्ञले बताएपछि बत्ती राखिएको छैन ।
भित्र जाँदा भने आफैँले लाइटको व्यवस्था गर्नुपर्छ । गुफाभित्र प्रत्येक समूहले २ सय रुपैयाँका दरले गाइडलाई दिने गरेका छन् । त्यसको ७० प्रतिशत गाइड र ३० प्रतिशत समितिले लिने निर्णय भएको सिद्ध गुफा विकास समितिका सल्लाहकार होमबहादुर थापाले जानकारी दिए ।
@enayapatrika
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology