चिसाङ शेर्पा जेठ/१३ खोटाङ,
खोटाङ सदरमुकाम दिक्तेलबाट पश्चिमतर्फ बसमा डेढ घण्टा, बाइकमा एक घण्टा र त्रिधार्मिक तीर्थस्थल हलेसीबाट अगाडी पुर्वपट्टि बसदेखी आधा घण्टामा पुग्न सकिने धार्मिक तथा पर्यटकीय स्थल हो ‘तुवाचुङ जयाजुङ’ डाडाँ अर्थात किराती सभ्यताको आदिम उद्गम थलो ।
पछिल्लो समयमा टाढा टाढाका दुरबस्तीहरु नियाल्न, फोटो खिच्न अधिंकास मानिसहरु पुग्ने तुवाचुङ जयाजुङ डाडाँ आन्तरिक पर्यटक तान्ने एउटा महत्वपुर्ण गन्तब्य स्थल बन्दै गएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा समुन्द्री सतहबाट १७ सय ५८ मिटर उचाईमा पर्ने तुवाचुङ जयाजुङ डाडाँ आन्तरिक पर्यटनका लागि जिल्लामा सवैभन्दा वढि विकसित हुदै गएको स्थान हो ।
आफैमा उच्च उचाइमा रहेको डाडाँ पौराणिक किंवदन्ती, प्राकृतिक तथा कृतिम विभिन्न धार्मिक संरचनाहरुले तुवाचुङ जयाजुङ डाडाँ आफै चर्चामा छ । गएको मंसिर २ गते किराती सभ्यताका आदिम पुर्खाहरु तयामा, खियामा र रैछाकुलेको प्रतिमा प्रतिस्थापन र यातायात सुविधाका कारण डाडाँमा आउने मानिसको चाप बढ्दै जान थालेको छ ।

किरातीहरुको आदिम उद्गम थलो तुवाचुङ जयाजुङ डाडाँ, तस्विर चिसाङ शेर्पा
दिक्तेल–हलेसी सडकलाई काखमा बोकेर उभिएको डाडाँमा किराती किंवदन्ती अनुसार पातेसुङले दुई श्रीमती विवाह गरेका थिए । किरात राई योयाख्खा सदस्य तथा स्थानिय रकम रोदुङले भने,‘दिलीदुङका छोराछोरी तयामा, खियामा, भाई रैछाकुले हुन् । अर्का श्रीमती डाकुहमा चाहि निसन्तान थिई ।
तुवाचुङ जयाजुङ डाडाँमा किराती चेलीद्धय तयामा, खियामा दिदी बहिनीले कपास छर्ने र तान बुन्ने काम गर्थे । उहाँले भन्नुभयो, “तयामा, खियामाका भाइ रैछाकुले वरीपरी डाडाँमा शिकार खेल्ने गरेका कुरा पौराणिक किंवदन्तीमा पाईन्छ ।” किरातीहरुको आदिम उद्गम थलो, औधोगिक क्रान्तीको युग र मानविय पोशाकको सुरुवात भएको तुवाचुङ जयाजुङबाट नै अन्नको पहिचान भएको किराती किंवदन्तीमा पाईन्छ ।
तयामा खियामाका भाइ रैछाकुले डाडाँमा ढुकुर, चराचुरुङगीको शिकार गर्दथे हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताउनुभयो । उनले चराचुरुङ्गीको गाँडमा भएको मकै, कोदो, जमिनमा फाल्दा उम्रेकोे देखे, मेयर राईले भने,“चराले खानेकुरा मान्छेले पनि खान हुन्छ भन्ने शिक्षा उनै रैछाकुलेबाट आएको हो ।” बर्षमा दुइ पटक उभौली र उधौली साकेला पर्व मनाईने तुवाचुङ जयाजुङ डाडाँमा तान बुन्ने स्थान अहिले पनि अवलोकन गर्न सकिन्छ । सोही नगरपालिकाको महादेवस्थान वडाको नागिबाट २० मिनेटको जंगल उकालोेपछि क्रमशः तान बुन्ने स्थान, तयामा खियामाको प्रतिमा, साकेला थान, रैछाकुलेको प्रतिमा, वाबु (चिण्डो), भुमे थान देख्न सकिन्छ ।
तयामा, खियामा, भाइ रैछाकुलेको प्रतिमा निर्माणमा देश विदेशबाट आर्थिक सहयोग गर्ने सहयोगदाताहरुको नाम सहितको विवरण नजिकै रहेको कृतिम ठूलो वाबु (चिण्डो)मा नामाकरण गरिएको छ । प्रतिमा प्रतिस्थापन गर्ने चर्चाकै कारण प्रतिमा प्रतिस्थापन अघि मनमोहक डाडाँमा रसुवा, लाङटाङ, भुटानमा बसोवास गरिहेका किराती पर्यटकहरु तुवाचुङ जयाजुङ डाडाँमा अवलोकनका लागि आएका थिए ।
किराती सभ्यताको उद्गम थलो तुवाचुङ जयाजुङ डाडाँमा उभिएर उत्तरतर्फ सल्ले, ओखलढुंगा, सोलुखुम्बु, सगरमाथा दक्षिणमामा सुनकोशी नदी, खाल्लेस्थित मनमाया राई खानीडाडाँ विमानस्थल, कालिका भगवती मन्दिर मझुवा, उदयरपुर जिल्लाको कटारी, सिराह, सप्तरी, सप्तकोशी, भारदह लगायतका पुर्वका १६ जिल्ला नियाल्न सकिन्छ । त्रिधार्मिक स्थल हलेसी महादेवस्थान देखी केही माथी रहेका कारण पनि तुवाचुङ जयाजुङ डाडाँ भविष्यमा उज्जवल भविष्य बोकेको पर्यटकीय स्थल हुन सक्ने स्थानियबासीको आशा छ ।
नगरपालिका भित्रका किराती थातथलोका पहिचान गरी एकीकृत गूरुयोजनाका लागि जिओ फिजिकल सर्भे गरी सकिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताए । गूरुयोजना बनाइ नगरभित्र अन्य स्थानमा कहाँ कहाँ सांस्कृतिक, धार्मिक, पुरातात्विक स्थलहरु छन । त्यसलाई घेराबारा गर्नेछौ । उहाँले भन्नुभयो,“निकट समयमा तुवाचुङ जयाजुङ डाडाँमा किरात संस्कृतीको चिण्डो आकारको भ्यू टावर र खुल्ला संग्राहलय बनाउने योजनामा छौ ।”
हाल दैनिकरुपमा आन्तरिक तथा बाह्य पर्यटक आउने तुवाचुङ जयाजुङ डाडाँमा खानेपानी, बस्ने फलैचा र शौचालयको आवाश्यक छ । तुवाचुङ जयाजुङ डाडाँको थप व्यवस्थित, प्रचारप्रसार, पर्यटन प्रवद्र्धनका लागि आवाश्यक मागहरु के के हुन् भनेर तुवाचुङ जयाजुङ संरक्षण समितिलाई लिखित पत्र नै बुझाई सकिएको नगरपालिकाले जनाएको छ ।
क्याप्सन : किरातीहरुको आदिम उद्गम थलो तुवाचुङ जयाजुङ डाडाँ, तस्विर चिसाङ शेर्पा, २०७५ जेठ १३ गते विहान ७ : ५८ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology