समायोजन खबर जेठ/ २ खोटाङ,
मध्यपहाडी लोकमार्गको काममा चरम ढिलासुस्ती गरेकामा सर्वदलीय बैठकमा ठेकेदारमाथि आक्रोश पोखिएको छ । खोटाङभित्र पर्ने मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी र दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको कालोपत्रेका काममा चरम ढिलासुस्ती भएको भन्दै ठेकेदारमाथि सर्वदलीय बैठकमै आक्रोश पोखिएको हो । जिल्लामा सञ्चालन भइरहेका राष्ट्रिय महत्वका योजनामा भइरहेका ढिलासुस्ती एबं गुणस्तरहिन कामका बिषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले मंगलबार बोलाएको बैठकमा सहभागीले ठेकेदारका प्रतिनिधिमाथि आक्रोश पोखेका हुन् ।
ठेकेदारले पटक–पटक सम्झौता म्याद गुज्रँदा पनि जिल्लाभित्र पर्ने मध्यपहाडीको विभिन्न सडक खण्ड कालोपत्रेका काम पूरा नगरेको भन्दै सर्वदलीय बैठकमा सहभागी प्रदेशसभाका सांसद रामकुमार राई, पुर्वजिविस सभापति बिष्णुकुमार राई लगायतले ठेकेदारमाथि प्रश्न उठाएका हुन् । डेढ वर्षअघि नै कालोपत्रे भइसक्नुपर्ने दिक्तेल–हलेसीसडक खण्डका अधिकांश भागमा अझै पनि सव–वेस (ग्राभेल)का काम समेत पूरा नभएको भन्दै नेकपा क्रान्तीकारी माओबादीका नेता देबीप्रसाद रिजालले असन्तुष्टी पोखे । मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा सडक खण्डको कालोपत्रेका काममा पनि उस्तै ढिलासुस्ती भएको भन्दै बैठकमा ठेकेदारको चर्को आलोचना भएको छ । प्रदेशसभा सांसद राईले कुण्डले मुण्डलेले पैसा मागेर अवरोध गरेका भए जानकारी दिन आग्रह गरे ।
सर्वदलीय बैठकमा साप्सु खोलाको मात्तिम र लफ्याङ जोड्ने पुल अलपत्र परेको भन्दै आवाज उठेपछि ठेकेदार कम्पनी गजुरमुखी हरिहरी निर्माण सेवा जेभीका प्रतिनिधि बिराज आचार्यले यही असार मसान्तसम्ममा पुलको लफ्याङतर्फको पिल्लर उठाउने प्रतिबद्धता जनाएका छन् । साप्सु खोलाकै राजापानी र बतासे जोड्ने रेग्मीटारस्थित पक्की पुलका काममा पनि ढिलाई भएको भन्दै ठेकेदारको आलोचना भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले प्रतिवद्धता अनुशारको काम नभए ठेकेदारलाई कानूनी कारबाही गर्ने चेतावनी दिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology