समायोजन खबर चैत्र/११ खोटाङ,
खोटाङको त्रिधार्मिकस्थल हलेसीमा रामनवमीको अवसरमा दर्शनार्थीको घुईचो लागेको छ । रामनवमीका अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न नेपालका अधिकांस जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरिया लगायतका देशबाट हजारौं दर्शनार्थीको बाक्लो भीड लागेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले जानकारी दिए ।
जयरामघाटमा पक्की पुल बनेपछि हलेसी दर्शन गर्ने भक्तालुजनको चाप बढेको हो । मेयर राईले भने,“हलेसीसम्मको सीधा यातायात जोडिएपछि काठमाडौँं, धरान, विराटनगर, जनकपुरधाम, पोखरालगायतका दर्शनार्थी सिधै गाडी रिजर्भ गरेर आएका छन, दर्शनार्थीको बाक्लो भिड रहेकाले मेलालाई व्यवस्थित पार्न स्वयंसेवक परिचालन गरिएको छ ।”
उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने सुनकोशी तथा खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशीमा पक्की पुल सञ्चालनमा आएपछि हिन्दू, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसी आउने दर्शनार्थीको संख्या दोब्बर बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए ।
मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, दुंँदेलो गुफालगायत धार्मिक तथा पर्यटकीयस्थल छन् । हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायतमा ठूलो मेला लाग्ने गरेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology