• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कमरेड मिलन राईलाई संम्झदा

कमरेड मिलन राईलाई संम्झदा


प्रमोद श्रेष्ठ
  • आइतबार, माघ २८ २०७४

  • प्रमोद श्रेष्ठ,

    सायद २०५६ साल तिरको कुरा हुँदो हो जनज्योति प्रावि लामिडाँडा चिउरीवाँसले आयोजना गरेको निमावि स्तरिय कविता प्रतियोगिताको सन्दर्भमा मिलन राई सँग मेरो पहिलो भेट भएको हो । विभिन्न विद्यालयहरुलाई निम्तो गरिएको सो कार्यक्रममा सरस्वति मावि अर्खाैलेको प्रतिनीधित्व गर्दै अन्य साथिहरुको साथमा म पनि उक्त कार्यक्रममा सहभागि भएको थिएँ । विभिन्न प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै मिलन राई र म क्रमशः प्रथम र द्धितिय भएका थियौँ ।

     

    सोहि कार्यक्रको सन्दर्भमा मिलन राई र मेरो औपचारिक चिनजान भएको हो । फोन, ईन्टरनेट नभएको त्यो समयमा विद्यालय स्तरमा गठन भएका बालमञ्च र विद्यालय स्तरमा हुने नियमित कार्यक्रमहरुको सन्दर्भमा हुने नियमित भेटघाटहरुले नै हो हाम्रो सम्बन्धलाई प्रगाढ बनाएको । कम बोल्ने, अन्तरमुखि स्वभावको मिलन राई साँच्ची कै नाम जत्तिकै मिलनसार र सहयोगि पनि ।


     सांगठनिक यात्रा
    २०६२ मा एसएलसी परिक्षा उत्तिर्ण गरिसकेपछि उच्च शिक्षा हासिल गर्नका निम्ती पारिवारिक घर सल्लाह हुनु स्वभाविक थियो र भयो पनि । कहाँ पढ्ने, के पढ्ने भन्ने सन्दर्भमा लामो लामो छलफल पछी अध्ययनको लागि अन्यन्त्र नगई सदरमुकाम दिक्तेल स्थित बहुमुखि क्याम्पसमा नै अध्ययन गर्ने निश्कर्षमा पुगेँ म, र खासगरी जिल्लामै पढ्नका लागि मलाई संगठन अर्थात अनेरास्ववियु खोटाङका अध्यक्ष सम्मर बहादुर भुजेल, तत्कालिन केन्द्रिय सदस्य सुरेन्द्र कुमार राई र युवा नेता हालका युवा संघ केन्द्रिय उपाध्यक्ष रमेश कुमार पौडेलको विशेष दबाव थियो । सायद मलाई राजनीतिक क्षेत्रमा लागोस र म जिल्लामा नै रहँदा संगठनमा केही योगदान हुनसक्छ भन्ने अपेक्षाको कारणले पनि त्यो पहल हुनसक्छ ।

     

    करिब जिल्लामै रहने र जिल्लामै अध्ययन गर्ने निष्कर्षमा पुगिसकेपछि अबको चासो यी कुराहरुमा हुन थाल्यो – मेरा प्रिय मित्रहरु कहाँ पढ्ने भए, जिल्लामा नै रहने योजना बनाए कि जिल्ला बाहिर । मन, भावना र विचार मिल्ने साथिहरु सकभर आफुसँगै जिल्लामै रहोस भन्ने चाहना हुनु स्वभाविक थियो । र केही त्यस्ता साथिहरुलाई खुब याद गरेँ त्यो बेला, जसमध्ये मिलन राई पहिलो नम्बरमा थियो ।

     

    म स्कुल पढ्दा देखि नै विद्यार्थी राजनीतिमा संलग्न थिएँ । आठ कक्षामा अध्ययन गर्दाको समयमा म सरस्वति मावि अर्खाैले प्रारम्भीक कमिटीको अध्यक्ष भईसकेको थिएँ र कक्षा दशमा अध्ययन गर्दा जिल्ला कमिटी सदस्य । एसएलसीको रिजल्ट आईसकेको भएता पनि तत्काल कलेज सुरु नभईरहेको अवस्था र सोहि समयमा अनेरास्ववियु खोटाङले १७ औँ जिल्ला सम्मेलन गर्ने तयारी गरिरहेको । त्यसकारण सम्मेलन तयारीको साथै संगठन विस्तारका निम्ती बिभिन्न विद्यालयहरुमा जानुपर्ने जिम्मेवारी संगठनबाट आएको कारण जिल्ला कमिटी अध्यक्ष सम्मर बहादुर भुजेलको नेतृत्वमा हामी पश्चिमी भेगका माविहरुमा सगठन विस्तारका निम्ती हिड्यौँ ।

     

    संगठन विस्तारका क्रममा विभिन्न माविहरु हुँदै विश्वज्योति मावि लामिडाँडा पुग्यौँ हामी (जहाँ मिलन राईले अध्ययन गरेको हो ।) अन्य माविहरुमा भन्दा विश्वज्योति माविमा हामीलाई संगठन निर्माणका निम्ती सहज भएको थियो जुन कमरेड मिलन राईको व्यवस्थीत सम्वनय नै प्रमुख कारण थियो ।

     

    मिलन राईको भरपुर सहयोगबाट खेमराज देउसाली ( हाल जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ ) को अध्यक्षतमा अत्यन्तै राम्रो संगठन निर्माण गरिसकेपछी मिलन राई सहित हामी लामिडाँडा भन्ज्याङको उकालो लाग्यौँ । उकालो चढ्ने क्रममा अत्यन्तै रमाईलो कुराहरु भए र सोही क्रममा हामीले उच्च शिक्षा अध्ययनको लागि कहाँ जाने भन्ने सन्दर्भमा पनि छलफल ग¥यौँ । जिल्लामा नै अध्ययन गर्नका लागि मिलन राईलाई सहमत गराउनुपर्छ भन्ने सल्लाह सम्मर बहादुर भुजेल र मैले अगाडी नै सल्लाह गरेकय थियौँ अर्थात विश्वज्योति माविमा संगठन विस्तार गर्न जानु मात्रै हाम्रो लक्ष थिएन कमरेड मिलन राईलाई त्यो कुरामा सहमत गराउनु पनि हाम्रो प्रमुख उद्धेश्य रहेको थियो ।

     

    अत्यन्तै कम बोल्ने तर अत्यन्तै आँटिलो बोल्ने मिलन राई हाम्रो कुरामा सहमत हुन सकेन । अध्ययनका लागि आफ्नो सम्पुर्ण कागजपत्रहरु राजधानी गईसकेको हुँदा उतै जाने उनको निर्णय थियो । धेरै प्रयास गर्दा पनि उनलाई हाम्रो योजनामा सहमत गराउन नसकेको कुराले सारै नमज्जा लाग्यो ।

     

    संगठन निर्माणका विभिन्न अभियानहरु सम्पन्न गरिसकेपछि हामी जिल्ला फि¥यौँ । जिल्लामा मिलन राईसँग भेट भयो र अत्यन्तै उत्साहित हुँदै उनले एउटा कुरा सुनायो– “यार, मलाई तिमीहरुले भन्ज्याङको उकालो चढ्ने क्रममा जुन कुराको प्रस्ताब गरेको थियौ, त्यो कुरामा म सहमत भएँ । अर्थात मैले अब जिल्लामै अध्ययन गर्ने अन्तिम निर्णय गरेँ ।”

     

    हामीलाई अब त्यो भन्दा खुसीको कुरा के हुन सक्थ्यो र । खोटाङको विद्यार्थी राजनीतिमा एउटा अर्काे शशक्त सहयोद्धा थपिएकोमा हामी अत्यन्तै प्रफुल्लीत भयौँ । केही दिन पछी अनेरास्ववियुको १७ औँ जिल्ला सममेलन भव्यरुपमा सम्पन्न भयो । सम्मेलनले पुनः सम्मर बहादुर भुजेलको अध्यक्षतमा राम्रो टिम निर्माण ग¥र्याे । सोही सम्मेलनबाट मलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी प्राप्त भयो भने कमरेड मिलन राई पनि जिल्ला कमिटी सदस्यको रुपमा निर्वाचित भयो ।

     

    हामी विद्यार्थी राजनीतिमा झन झन सक्रिय हुँदै गयौँ । हाम्रो सक्रियताले हामी राजनीतिमा स्थापित पनि हुँदै गईरहेका थियौँ । हाम्रो सक्रियता खोटाङको एक मात्र पुरानो र ठूलो क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसमा पनि बढ्न थाल्यो र केही समय पछि सो क्याम्पसमा म क्याम्पस कमिटीको अध्यक्षको रुपमा निर्वाचित भएँ र सँगै कमरेड मिलन राई सदस्यको रुपमा । हामी नियमित गतिबिधीहरु गरिरहन्थ्यौँ । प्रत्यक बैठकमा कमरेड मिलन राईले नयाँ नयाँ योजनाहरु ल्याउँथ्यो, नयाँ नयाँ प्रस्तावहरु ल्याउँथ्यो । भाषण कलामा खासै क्षमता नराख्ने मिलन योजनाहरु निर्माण गर्ने सन्दर्भमा भनेँ निक्कै अब्बल । जुन उनको त्यो क्षमता नै मेरो कार्यकाल सम्पन्न गर्नका निम्ती एउटा कोसे ढुङगा बन्यो ।

    उनको बिशेषताहरु
    संगठनमा काम गर्ने सन्दर्भमा उनको र मेरो मित्रता झन झन झाँगिदै गयो । मेरो बस्ने डेरा भवन गैरा थियो र उनी क्याम्पस नजिकैको घरमा । केही समय पश्चात हामी रुम मेडको रुपमा सँगै बस्न थाल्यौँ । करिब ३ वर्ष सँगै बस्दा उनिबाट मैले थुप्रै कुराहरु सिकेको छु । एक कुशल व्यवस्थापक, योजनाकार, निडर अर्थात कसैसँग नझुक्ने, सत्य कुरामा अडिग रहने, मिहेनती,ईमान्दा र चाँडै सबैसँग घुलमिल हुन सक्ने मिलन राईका यी नै विशेषताहरुले मलाई सँधै प्रभावित बनाईरह्यो ।

     

    मनमा पाप नभएको तर अलिक चाँडै रिसाई हाल्ने स्वभावका मिलन राई उनले लिएका हरेक जिम्मेवारीप्रति अत्यन्तै सम्बेदनशिल हुन्थे । आफ्नो काँधमा आएका हरेक जिम्मेवारीहरुलाई सिर्जनात्मकताका साथै व्यवस्थीत र पृथक ढंगबाट सम्पन्न गर्नुपर्छ भन्ने मान्याता बोकेकै कारण कमरेड मिलन राईले छोटो समयमा राजनीतिक फड्को मार्न सकेको हो । क्रान्तिकारी स्वभावका उनी संगठन भित्र र बाहिर हुने कुनै पनि प्रकारका अन्याय, अत्याचार र विभेदहरु मान्दैन थिए । यदि कसैसँग त्यो खाले व्यवहार व्यक्त गरेको खण्डमा तत्काल प्रतिकार समेत गरिहान्ने । सायद त्यही स्वभाव भएका कयरण संगठन भित्र उनी कहीलेकाही विवादित समेत बन्न पुगे ।

     उनले मानेका आदर्श गुरु
    खास गरी दुई व्यक्तीहरुलाई उनले आफ्नो आदर्श गुरुको रुपमा लिन्थे । १.जननेता क.मदन भण्डारी २. क.विशाल भटराई । एकदिन मैले उनलाई जिज्ञासा राखेँ “देशमा जातिय राजनीतिको गन्धहरु आउन थालेको छ, खासमा जनजातिहरु राजनीतिक पहुँचको सन्दर्भमा कहिल्यै माथि पुग्न सकेन र क्षेत्री–बाहुनको राजनीतिक सिन्डीकेटको कारण पहुँचमा पुग्न नसकेको हो भन्ने विचारहरु आईरहेको छ ।

     

    तर तँ आफ्नो आदर्श गुरु त्यही समुदायको व्यक्तीलाई मानिरहेको छस, खास कारण के हो !” उनले त्यतिखेर भनेका थिए -मैले विशाल भट्राईलाई नजिकबाट चिनेको छु । अरुले भने जस्तो र सोचे जस्तो व्यक्ति उहाँ हुनुहुन्न । सबैलाई सँधै समान व्यवहार गर्ने, कुनै पनि लोभलालच नभएको, जिल्लाको समग्र विकासका निम्ती ठोस योजनाहरु निमार्ण गर्न सक्ने, निष्ठावान र विकास प्रेमी नेता अरु कोही छन् भने उनै हुन विशाल भट्राई । खोटाङको समृद्धि उनै बाट हुन सक्छ, तसर्थ उनको क्षमता विचारसँग म सहमत छु, त्यही कारण मैलै समर्थन गरेको हुँ र उनै हुन मेरो आदर्श व्यक्ति । ” उनको कुराले म स्तब्ध भएँ ।

    काठमाडौँमा एक दिन
    काठमाडौँ प्राय म धेरै गाईरहँदिन (विशेष काममा बाहेक) । त्यसो भएको हुँदा काठमाडौँमा गाडी लाग्ने रुडहरुको सन्दर्भमा म प्रायः अलमलिने गर्छु । मिलन राई करिब ३ वर्ष अगाडि देखि नियमित काठमाडौँ बस्न थालेको थियो । कहिले काँही विशेष कामले काठमाडौँ जानुपरेको खण्डमा प्रायः सबै जसो दिनहरु मेरो मिलनसँगै वित्ने गथ्र्याे, र उसकै सहयाताले म काठमाडौँको विभिन्न ठाउँहरु घुम्ने गर्थेँ । म काठमाडौँ गएकोबेला उनले आफ्ना महत्वपूर्ण कामहरु छाडेर मलाई समय दिएको थुप्रै घटनाहरु छन् ।

     

    यसै सन्दर्भमा एउटा प्रसंग जोड्न मन लाग्यो । सायद त्यो बेला अनेरास्ववियुको राष्ट्रिय सम्मेलनको तयारीको समय थियो । म त्यहि बेला काठमाडौँ गएको थिएँ । मिलन राई केन्द्रिय सदस्यको लागि चुनाव लड्ने तयारीमा थियो । त्यो बेला स्वभाविक हो विभिन्न भेलाहरु हुन्छ, मिटीङहरु हुन्छन् । म काठमाडौँ पुगेँ, अब मिलनले मेरो लागि उनको बैठकहरु छोड्नु पर्ने भयो, भेलाहर छोड्नुर्पे भयो । हामी नयाँ बानेश्वरमा हिडीरहेको थियौँ, त्यहाँ हिडीरहँदा उनको मोवाईलमा थुप्रै फोनहरु आईरहन्थ्यो तर उनले सबैलाई आज उपस्थीत हुन नसक्ने स्पष्टीकरण दिईरहन्थ्यो । कतिलाई स्पष्टीकरण दिएर सक्नु । एकछिनमा मिलनलाई लिन विद्यार्थी नेता आकाश घर्ती बाईक लिएर आईपुग्यो र भन्यो – “कमरेड, आज त्यहाँ त कसैगरी पुग्नु पर्छ, जरुरी छ लु गईहालौँ । ”

    अनि मिलनले भन्यो – “ आज म जान सक्दिन कमरेड, त्यता भन्दा यता जरुरी छ । ”
    “ किन, के होर त्यस्तो । ”
    “ जरुरी छ । यी यता हेर न । यो मेरो साथी, गाउँबाट हिजो मात्र आएको । यसलाई मैले छाडेँ भने काठमाडौँमा यो हराउँछ । ”
    त्यसपछि हाम्रो हाँसोले काठमाडौँको नयाँ बानेश्वर हल्लियो एकैछिन ।

    त्यो अन्तिम भेट
    विशेष काम प¥र्याे, फेरि म काठमाडौँ जानुपर्ने भयो र गएँ । काठमाडौँ पुगेपछि सधै जसरी नै मिलनसँग भेट भयो उही नयाँ बानेश्वरको पिपलचोकमा । जसरी काठमाडौँको सडकहरु व्यस्त थिए यो पाली कमरेड मिलन राई उस्तै व्यस्त देखिन्थे । काठमाडौँमा हिडीरहने हरेक मान्छेहरु जस्तो तानबमा देखिन्थे त्यस्तै मिलन राईमा पनि थुप्रै तनावहरु भएको मैले अनुभुत गरेँ ।

     

    उनी भन्दै थियो । “ ए होई, स्ववियु चुनाव नजिक नजिक आईसक्यो, गतिबिधी ठप्प छ । भोलि जिल्ला गएर संगठनको बैठक राखेर माहोल तताउनु पर्ने छ । जिल्लाको सबै क्याम्पसहरुमा अखिलले चुनाव जित्न सकेन भने केन्द्रिय कमिटीको सदस्य भएको हैसियतले हारको जिम्मेवारी मैले लिनुपर्छ, म असफल हुन्छु ।

     

    ”सातदोबाटो गएर अखिलको झण्डा बनाउनु पर्नेछ भन्दै उनी अत्तालिई रहेको थियो । उनको हतारलाई हेर्दा यस्तो लाग्थ्यो -मुलुककै अखिल यसले बोकेको छ, देशभरि संगठन हा¥र्याे भने जिम्मेवारी यिनले नै लिनुपर्ने छ र तत्काल यिनले कारवाही भोग्नु पर्नेछ ।त्यसपछी हामी त्यहाँ धेरैबेर रहन सकिनौँ । स्ववियु चुनावको तयारीकै सन्दर्भमा चाँडै जिल्लामा भेट्ने बाचाको साथ हामी छुटिउँ ।

     

    भोलिपल्ट विहानै फेसबुक खोलेँ । फेसबुकमा एउटा स्टाटस देखेँ, जुन पदम दाईले पोष्ट गर्नु भएको हो र जहाँ लेखिएको थियो – मिलन राई एक्सीडेन्टमा परी घाईते भएको कुरा । सुरुमा त सामान्य होला भन्ने लाग्यो, खासै वास्ता गरिन । र भान्जीको बेलविवाहमा अलिक व्यस्तै भएको कारण फेसबुक बन्द गरी कार्यमै व्यस्त भईयो दिनैभर ।

     

    भोलिपल्ट विहानै पुनः फेसबुक खोलेँ । फेसबुकमा मिलनको सिग्र स्वास्थ्यलाभको कामना गरिएको पोष्टहरु बाहेक केही छैन । अहो, त्यसपछि मन अत्तालिएर आयो, तत्काल मिलनको नम्बरमा फोन गरेँ । फोन विद्यार्थी केन्द्रीय सचिव मकर राईले उठाउनु भयो । र उ बोल्न नसक्ने अवस्थामा छ भन्ने सुचना दिदै फोन राखियो । ततपश्चात विद्यार्थी नेता बैनी निर्मला नाछिरिङ (जो सोलु जिल्लाको हुनुहुन्छ ) लाई फोन गरेँ । उहाँ पनि हस्पीटल जानका लागि साथी खोज्दै हुनुहुँदोरछ र भेटेर सँगै जाने सल्लाह ग¥यौँ ।

     

    एकछिन पछि अन्नपुर्ण न्युरो अस्पताल पुगियो । डाक्टरले तत्काल भेट्ने अवसर दिएन । त्यहाँ उपचार हुन नसकेको कारण थप उपचारका निम्ती ट्रमासेन्टर लाने तयारी हुँदै थियो । केहि छिन पछि मिलनलाई त्यहाँबाट निकाल्दै गरेको अवस्थामा उ सँग भेट भयो । टाउको ब्याण्डेज गरिएको, अनुहार पुरै सुनिएको र आँखा बन्द भएको अबस्थामा देखिन्थे उनी ।

     

    तल ग्राउण्डमा झारिसकेपछि एम्बुलेन्स मार्फत उनलाई ट्रमासेन्टर लगियो । एम्बुलेन्समा मिलनको साथमा थियौँ हामी दाजु पदम राई , म र अर्काे एकजना साथिको नाम भुलेँ । अन्नपुर्ण न्युरो हस्पीटलबाट ट्रमासेन्टरको दुरी अलिक बढी नै रहेछ । त्यसकारण त्यहाँ पु¥र्याउन अलिक समय लाग्यो । विचमा उनले भनेका कुराहरु याद आईरहन्छ ।

     

    उनले पटकपटक भनिरहन्थ्यो “अब कति समय लाग्छ त्यहाँ पुग्न, अहिले कहाँ आईपुगियो । अलिक छिटो कुदाउनु भन्न एम्बुलेन्स । ”अर्धचेतको मिलन राई एम्बुलेन्स भित्र चाँडो उपचार खोजिरहेको थियो अर्थात उनी बाँच्न खोजिरहेको थियो । केही समय पछि हस्पीटल पु¥याईयो । विडम्बना, ट्रमासेन्टर भर्ना गरिएको चौविस घण्टा पश्चात कमरेड मिलन राई अब हामीसँग कहिल्यै रहन नसक्न (माघ २७ गते) घोषणा डाक्टरबाट गरियो ।

    र, उनको लास अगाडि उभिएर एउटा स्टाटस लेखेँ  माफ गर साथी, कसै गर्दा पनि तँलाई बचाउँन सकिएन, आकाश पल्टिएर छाती थिचे जस्तै भईरहेको छ । प्रमोद श्रेष्ठ

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology