समायोजन खबर माघ/२६ खोटाङ,
खोटाङ रतन्छाको २७ बर्षिय रोशन बिक घाईंते अवस्थामा पनि कम्पनीको काम गर्न बाध्य बनेका छन् । मलेसियामा कम्पनीकै काम गर्ने क्रममा लडेर भाँचिएको खुट्टा ठीक नभएकै अवस्थामा पनि बिक काम गर्न बाध्य बनेका हुन् ।
लिंक स्टार म्यानपावरमार्फत ६ महिना अघि मलेसियाको मिनीउड कम्पनीमा कामदारको रुपमा गएको बिककोसोही कम्पनीमा काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो । मेनपावरबाट कार्पेण्टरको काम भनेर पठाए पनि पेण्टिङको काममा लगाएको बिकलाई खुट्टा भाँचिएपछि पनि ‘पैसा चाहिए काम गर्’ भन्दै आराम गर्न नदिने पीडित बिकको दुखेसो छ । काम नगरे भोकै बस्नुपर्ने अवस्था आउने रोशनले जनाएका छन् ।
शुरुमा उपचार नै नगराएको कम्पनीले सात दिनपछि अस्पताल लगेको र फर्काउन साथै कामगर्न लगाएको रोशन बिकले बताउनुभयो । राम्ररी उपचार समेत नभएको बताउने पीडित राईको अनुसार मेनपावरले मासिक एक हजार रिङ्गेट बेसिक तलब पाउनेभनेर पठाए पनि मलेसियाको कम्पनीले भने दैनिक ज्यालादारीमा काम लगाउने गरेका छन् । नेपालमा भएको सम्झौता पत्रमा कार्पेण्टरको काम उल्लेख भए पनि सो बमोजिमको काम र दाम नपाएको पीडितले जनाएका छन ।
घाईंते भएपछि मलेसिया पठाउने कम्पनी लिंक स्टार मेनपावरमा नेपाल फर्कनका लागि सम्पर्क गर्दा समेत बेवास्ता गरेको बताईएको छ । घर फर्कनका लागि पहल गरिमाग्दा उल्टै लेबी, भिषा लगायतको खर्च करिब पाँच सय रिङ्गेट कार्यरत कम्पनीलाई बुझाउनुपर्ने मेनपावरले सर्त राखेका छन् ।उता, काम गर्ने कम्पनीमा नेपाल फर्काईदिन आग्रह गर्दा ‘तेरो एजेण्टलाई भन्’ भन्ने जवाफ दिने गरेको रोशनले उल्लेख गर्नुभएको छ ।

दैनिक ज्यालादारी बापतको रकम पनि नदिने कम्पनीले खानाका लागि साप्ताहिक ६० रिङ्गेट दिने गरेको पीडितको भनाई छ । उक्त रकमले ४ दिन पनि खान नपुग्ने गरेको रोशनले जनाउनुभयो । काम भएको दिन जवरजस्ती काम गर्न बाध्य पार्ने उक्त कम्पनीमा प्रायः जसो कामै नहुने बताईएको छ । सोही कम्पनीमा काम गरेर बस्नलाई खाना समेत नपुग्ने भन्दै नेपाल फर्काई माग्न रोशनले गुहार खोजेका छन् ।
यता, मेनपावर कम्पनीमा कार्यरत तारामणी राईको भने मेनपावरको कुनै कमजोरी नभएको भनाई छ । रोशनलाई उपचार र खाना–बस्नको लागि अप्ठ्यारो भए आफुले रकम पठाईदिने भन्दा–भन्दै पनि नेपाल फर्कनमा जोड् गरेकाले समस्या भएको तारामणीको बताउनुहुन्छ । राईले आफुले पठाउँदा गरिएको प्रक्रिया र सम्झौता अनुसार नै काम भईरहेकोमा लडेर घाईंते भएपछि नेपाल फर्कन हत्तार गरेपछि समस्या आएको बताउनुभयो । आफुसँग कमजोरी नभएको ठोकुवा गर्दै सबै प्रमाण देखाउन सक्ने राईको तर्क छ । रोशन निकट बिश्वासिलो ब्यक्तिले समेत मेनपावरको कमजोरी नभएको बताएको अवस्था रहेको मेनपावरले खुलाएका छन् ।
हाल रोशनको आफन्तले मेनपावर कम्पनीले ठगी गरेको भन्दै वैदेशिक रोजगार बिभागमा कानुनी उपचारको लागि मुद्घा दर्ता गराएका छन् । भनेको काम र दाम नपाएको, उपचार पनि राम्रो नभएको भन्दै रोशनले सदरमुकाम दिक्तेलमा सञ्चालित सुरक्षित आप्रवासन सम्बन्धी निशुल्क परामर्श तथा उद्दार कार्यमा सहयोग गर्ने सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा उद्दारको लागि सम्पर्क गर्नुभएको छ ।
उद्दार तथा कानुनी उपचारको लागि आग्रह गरेपछि सूचना केन्द्रले परामर्श दिई बिभागमा मुद्घा दर्ता गराएको सुचना केन्द्रका परामर्शकर्ता अम्बिका दाहालले बताउनुभयो । हाल पनि रोशन निरन्तर सूचना केन्द्रको सम्पर्कमा आई चाँडो उद्दारको लागि पहल गरिदिन आग्रह गरिरहेको दाहालको भनाई छ ।
रोशन यसअघि पनि वैदेशिक रोजगारीका क्रममा साउदी गई फर्किएका हुन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology