समायोजन खबर माघ/२१ खोटाङ,
जिल्लामा सडक सञ्चालन भएसँगै कतिपय पुराना बस्ती तथा ऐतिहासिक बजार विस्थापित हुँदै गएका छन् । बसोबास गरीरहेको बजारभन्दा अन्यत्र स्थानबाट सडक सञ्चालन भएपछि स्थानीयवासीले सडकतिरै सरेर व्यापार–व्यवसाय गर्न थालेपछि पुराना बजार तथा बस्ती रित्तो बन्दै गएको हो ।
एक समय अतिनै चल्तीमा रहेको खोटाङको दिपु्रङ गाउँपालिका बतासेस्थित सुनकोशी किनारमै रहेको भण्डारेघाटमा स्थापित पुरानो बजार अहिले उराठलाग्दो देखिन्छ । त्यो समयको झकिझकाउ लाग्ने बजारको पसलहरु राखिएको घरभित्र हाल गाईगोठ, बाख्रा खोर, कुखुरा खोर र कतै सुँगुर राखेको देखिन्छ । अन्तैबाट सडक सञ्जाल जोडिएपछि कतिपय घरहरु संरक्षण नहुँदा भत्किसकेका छन् । स्थानीयवासी राजेन्द्र राईका अनुसार नून–तेलको जोहो गर्ने जिल्लावासी होस् या साहुको भारी बोक्ने भरिया सबै बास बस्नका लागि तथा एक बिसाउनी बिसाउन मात्र भए पनि सोही स्थानलाई केन्द्र बनाउने गर्दथे ।

गाईघाट हुँदै काठमाडौँ लगायतका शहर आवतजावत गर्ने यात्रु पनि भण्डारेघाटमा बसेर थकाइ मार्थे, खाजा, नास्ता खान्थे उस्तै परे बासै बस्थे । ठूलै विपत्तिमा परेर बसाइँ सरेको जस्तो लाग्ने यस स्थानका घरपरिवार हाल सडक पछ्याउँदै अलिकति माथितिर पर्ने सडक किनारमा स्थापित भएका छन् । महुरे–फोक्सिङ्टार सडकखण्डमा पर्ने सो स्थानमा पसल तथा होटल व्यवसायलाई नै निरन्तरता दिइरहेको स्थानीयवासी बताउँछन् । नेपाल सरकार र स्विस सरकारको आर्थिक लगानीमा २०६७ सालदेखि निर्माण शुरु गरिएको सडक २०७० देखि नै आंशिक रुपमा सञ्चालनमा आएको थियो ।

हाल कालोपत्रको तीव्र काम भइरहेको सो सडक सञ्चालनमा आएसँगै विकासको रेखा कोरिएको छ । बतासेको भण्डारेघाट मात्र होइन जिल्लामा निर्मित सडकलगायत अन्य नयाँ संरचनाका कारण कतिपय बजार तथा बस्ती नयाँ स्थानमा सर्न थालेका छन् । परापूर्वकालदेखि व्यापार–व्यवसाय गर्दै आएका कतिपय परिवार अन्यत्रबाट सडक सञ्चालन भएपछि विस्थापित भएका छन् । जयरामघाट, फोक्सिङटार लगायतका कतिपय व्यवसायी अन्यत्र लगानी गर्ने क्षमता नभएका कारण अन्य पेशा अँगाल्न बाध्य भएका छन् ।

समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology