चिसाङ शेर्पा पौष/२ खोटाङ,
खोटाङ नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो । एकिकरण गरी बृहद नेपाल बनाउनुपूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरूको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो । यो भुभागको मुख्य प्रशासन चौदण्डीगढीका सेनवंशी राजाबाट सञ्चालित थियो भने पहाडका स–साना गढी र थुमहरूमा किराँती राजाहरूले राज्य गर्दथे ।
चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङ्गमा राईलाई स्वशासन दिएका थिए । विभिन्न समयमा किराँती राजा र सेन राजाको विच मतभेद र कलह भइरन्थ्यो । यसको फाइदा उठाइ पृथ्वीनारायण शाहले नेपालको एकिकरणको पछिल्लो समयमा यो क्षेत्र माथि विजय गरेका थिए ।
राणाकालिन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरीएको थियो । यस समयमा हालको खोटाङको विच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाइ पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौडाले शासन गर्दथ्यो । स्थानीय तहमा भने मझुवा, आमचोक, खोटाङ, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेशी र रावाथुम प्रशासनिक एकाई कायम थियो । विशाल क्षेत्र भएकोले साप्सु दक्षिणमा खोटाङ इलाका अदालत र ऐशेलुखर्क इलाका अदालत स्थापना गरी न्याय प्रशासनका अतिरिक्त जग्गा रजिस्ट्रेशन गर्ने काम पनि गर्न थालियो ।
बिसं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिंदा तत्कालिन खोटाङद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङले हेर्नेगरी खोटाङबजारलाई सदरमुकाम बनाएर खोटाङ जिल्ला पनि एक जिल्ला कायम गरियो । त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोलादेखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए । तत्कालिन संविधान बमोजिम एक गाउँ पंचायतबाट एक जना जिल्ला सभा सदस्य चुनिन पाउने कानूनी प्राबधान भएकोले जिल्ला सभामा स्वतहः साप्सु उत्तरको बहुमत रह्यो ।
तत्कालिन पहिलो जिल्ला सभाको बैठकले नै खोटाङमा रहेको सरकारी अड्डाअदालत दिक्तेलमा स्थानान्तरण गर्न सरकारसँग माग गर्न बहुमतले निर्णय ग¥र्यो । खोटाङमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम वि.सं. २०२० सालमा दिक्तेलमा सारी विधिवत रूपमा खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा सारियो । २०२२ सालमा तत्कालिन सरकारले खोटाङ अदालत दिक्तेलमा र ऐशेलुखर्क अदालत सोलुसल्लेरीमा सार्ने निर्णय ग¥र्यो भने तत्पश्चात खोलिएका कार्यालयहरू क्रमशः दिक्तेलमा नै स्थापना भएका हुन् ।
नेपालको संविधान तेस्रो संसोधन २०३२ले खोटाङको सिमाना पुनः हेरफेर गरी भोजपुर जिल्लाका वोपुङ, भाज्याङखर्क, काहुले तथा सोलु जिल्लाको बाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुवे, माक्पा, राखाबाङदेल, ऐंशेलुखर्क, बादेल, दिप्सुङ, लगायत पन्ध्र गाउँ पञ्चायत खोटाङमा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो । यसरी बिस्तार भएको क्षेत्र नै हालसम्मको खोटाङ जिल्ला रहेको छ ।
कुनै समय यो भूभाग किराँती राजा “खोटे” द्वारा शासित कोटको रूपमा थियो र उनकै नामबाट खोटाङकोट हुदै “खोटाङ” नाम रहन गएको किंम्वदन्ती छ । अर्को एक जनश्रुती अनुशार हाल खोटाङ बजार रहेको स्थान वरपर प्रशस्त खोटे सल्लाहरू पाइने हुनाले यस क्षेत्रलाई खुटा भन्न थालियो यस क्षेत्रले त्यसबेला हालको खुटा भन्ने स्थान मात्र नभएर अरु बढी क्षेत्र ओगटेको थियो । यस क्षेत्रमा त्यसवेला “हाङ्ग” नाम गरेका प्रतापी राजा राज्य गर्दथे । उनकै नामबाट पछि “खुटाका हाङ” राजा भन्दै “खुटाहाङ” र अन्त्यमा “खोटाङ” शव्दको उत्पति भई यस जिल्लाको नाम “खोटाङ” रहन गएको भन्ने भनाई पनि रहेको छ ।
यस जिल्लाका मुख्य पर्यटकिय स्थलहरूमा बराहापोखरी, हलेसी महादेवस्थान, ट्याम्केडाँडा, मेरुङ डाँडा र सेल्मेडाँडा आदी पर्दछन । यसका साथै हलेसी मलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रूपाकोट डाँडा, मझुवागढी, ताराखसे डाँडा र सहदेउगढी आदि स्थल पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थलका रुपमा रहेका छन् ।
पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर
यस जिल्लाका प्रमुख तालर पोखरीमा बराहपोखरी,छिता पोखरी र इन्द्रेणीपोखरी मुख्य हुन्।
यस जिल्लाका प्रमुख व्यापारिक स्थानहरूमा दिक्तेल बजार, हलेसी, अर्खौले बजार, ऐंसेलुखर्क, बाक्सिला मानेभञ्याङ्ग, स्यलगौडे, चिसापानी, सिमपानी, रतन्छा बुइपा पञ्चरदोबाटो र खोटाङबजार पन्चमी बजार मंगलटार बजार मुख्य हुन् ।
दुधकोशी, सुनकोशी, रावाखोला, सावाखला, साप्सुखोला प्रमुख नदी अतिरिक्त जिल्ला भित्र बग्ने अन्य स–साना नदीहरूमा, दीखुवा खोला, तावाखोला, टुवाखोला, मेवाखोला, तापखोला, लैकुखोला, बुवाखोला, भानुमतीगंगा, छेपेखोला खरुवा खोला आदी रहेका छन् ।
मनमाया राई खानीडाँडा विमानस्थल, लामीडाँडा विमानस्थल, थामखर्क विमानस्थल
साभार : साझासबाल, सम्पादन, चिसाङ शेर्पा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology