• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

म्यादी प्रहरीको जागिर खाइदिने असईको धम्की : भन्छन्, ‘डीआईजी, एआईजीसँग संगत छ’

म्यादी प्रहरीको जागिर खाइदिने असईको धम्की : भन्छन्, ‘डीआईजी, एआईजीसँग संगत छ’


समायोजन खवर
  • बुधबार, मंसिर १३ २०७४

  • समायोजन खवर मंसिर/१३ खोटाङ,

    खोटाङको लामिडाँडा गाउँपालिका–४ डुम्रेधारापानी प्रहरी चौकीका असई हेमबहादुर अधिकारीले म्यादी प्रहरीलाई जागिरबाट निकाल्ने धम्की दिएका छन् । असई अधिकारीले म्यादी प्रहरीलाई गरेको भेदभाव सञ्चारकर्मीले थाहा पाएपछि उनीहरुलाई जागिरबाट निकाल्ने धम्की दिएका हुन् ।

     

    म्यादी प्रहरीमाथि भेदभाव गरेको समाचार पुष्टि गर्न सञ्चारकर्मीले टेलिफोन गरेपछि असई अधिकारीले सबै म्यादी प्रहरीलाई ‘सेटअप पोजिसन’ मा राखेर कसले पत्रकारलाई जानकारी गराएको हो भन्दै निकैबेर केरकार गरेका थिए । सोही प्रहरी चौकीमा रहेका ४८ वर्षीया म्यादी प्रहरी देवीमाया आचार्यलाई असई अधिकारीले बिदा दिएर घर पठाइसकेका छन् । सो विषयमा प्रश्न गर्दा उनले प्रश्नकर्ता म्यादी प्रहरीलाई समेत धम्क्याएका थिए ।

     

    असई अधिकारीले डुम्रेधारापानी प्रहरी चौकीमा रहेका म्यादी प्रहरीमाथि भेदभाव गर्दै आएका छन् । उनले पुरुष म्यादी प्रहरीलाई रातिको ड्युटीमा खटाए पनि महिला म्यादी प्रहरीलाई बेलुका आठ बजेअघिको सजिलो ड्युटीमा खटाउने गरेका छन् ।

     

    महिला म्यादी प्रहरीलाई खाना पकाउने काममा लगाएका उनले कतिपयलाई निःशुल्क खाना खुवाउने गरेका छन् । तर, पुरुष म्यादी प्रहरीलाई भने प्रति छाक ८० रुपैयाँ लिने गरेका छन् । ‘कसैलाई निःशुल्क खाना खुवाइन्छ, कसैलाई प्रति छाक ८० रुपैयाँ लिइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा डुम्रेधारापानी प्रहरी चौकीमा रहेका एक म्यादी प्रहरीले भने, ‘नुनथला, जाल्पा र ऐंसेलुखर्कमा रहेका हाम्रा साथीहरुलाई प्रति छाक ५० रुपैयाँमा खाना खुवाइँदोरहेछ । यहाँ भने मनपरी असुलिएको छ ।’

     

    महँगो खानाबारे जिज्ञासा राख्दा असई अधिकारीले भने, ‘२,२०० रुपैयाँ बोरा पर्ने चामलको भात खुवाएको छु । महँगो प¥यो भन्नेलाई होटलमा खान सक्छौ भनेको छु ।’ खाना मात्रै होइन, म्यादी प्रहरीलाई सुत्ने समस्या पनि त्यत्तिकै चर्को छ । उनीहरुमध्ये कतिपयलाई हिरासत, कसैलाई हुलाक त कतिपयलाई साबिक गाविसको सानो कोठामा कोचीकोची सुताउने गरिएको छ । नाम उल्लेख नगर्न अनुरोध गर्दै अर्का म्यादी प्रहरीले दुःखेसो पोखे, ‘लेकको ठाउँ । मंसिरको जाडो । यस्तो अवस्थामा पनि एकसरो ओढ्ने, ओछ्याउने नहुँदा राम्ररी निदाउन सकिएको छैन । कतिन्जेल यसरी ड्युटी गर्ने होला ।’

     

    असई अधिकारीका अनुसार, डुम्रेधारापानी प्रहरी चौकीमा दुई कोठा छन् । दुई कोठामा ६ वटा पलङ छन् । त्यति पलङमा नअट्ने भएकाले विभिन्न ठाउँमा सुत्ने व्यवस्था मिलाइएको खस्रो आवाजमा जवाफ दिए । भेदभाव गरिएपछि असई हेमबहादुर अधिकारी र म्यादी प्रहरीबीच मंसिर ११ गते राति भनाभन भएको स्थानीयले जानकारी गराए । सोही विषय सञ्चारकर्मीलाई जानकारी गराएपछि असई अधिकारी केही हच्केका थिए ।

     

    असईसँग टेलिफोनमा कुराकानी सक्ना साथ सिपाही कैलाश खड्काले ९८१७००५४४० नम्बरबाट पंक्तिकारलाई टेलिफोन गरेका थिए । असई अधिकारीले म्यादी प्रहरीलाई आइन्दा त्यसो नगर्न सुझाए छन् । ‘पत्रकार सत्रकारले के गर्छन् ? पत्रकार हुन् कि मानवअधिकारवादी मलाई के मतलब,’ असई अधिकारीले म्यादी प्रहरीलाई तर्साउँदै भनेका थिए, ‘हाम्रो पनि डीआईजी, एआईजीसँग संगत छ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology