समायोजन खवर मङ्सिर ७ खोटाङ,
पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदैछ ।
मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
पहिलो चरणको निर्वाचनका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रसारप्रसार जारी रहने छ । पहिलो चरणको निर्वाचनको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
निर्वाचन आचारसंहिता मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने तथा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ ।
मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । – रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology