सातदोवाटोस्थित एन्फा मैदानमा फिलिपिन्सबिरुद्ध खेल सकिएको जनाउ दिन रेफ्रीले अन्तिम सिठ्ठी बजाए लगतै नेपाली टोलीका कप्तान अनील गुरुङ एकाएक भावुक भए ।
१० वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्तिम पलमा रहेका उनी मैदानभित्रै टिममेटबाट घेरिए । नेपाली टोलीका गोलरक्षक बिकेश कुथुले त काँधमा राखेर मैदान परिक्रमा गराउँदाको क्षण साँच्चिकै अभूतपूर्व थियो, जुन ३१ वर्षे स्ट्राइकर अनील गुरुङका लागि जीवनभरको सम्झना हुनेछ ।
त्यसलगत्तै सेन्टरमा पुगेर उनले सम्मानपूर्वक मैदानमा ढोगे । ‘मेरो जीवन यही प्वाइन्टबाट सुरुभयो, सेन्ट्रल लाइन, आज मैले यो प्वाइन्ट र मैदानलाई यति श्रद्धा गर्छु कि यसले मलाई सबथोक दियो, नाम, दाम र सबैकुरा ।’
अनीलले राष्ट्रिय टिम आफूले सधैं मिस गर्ने बताए । उनले आफूलाई साथ र सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे । अनीलको विश्राम घोषणा यसअर्थमा भव्य बन्यो कि उनले अन्तर्राष्ट्रिय खेल खेल्दै विदा लिने मौका पाए । अन्तर्राष्ट्रिय खेललगतै अखिल नेपाल फुटबल संघ एन्फाले आफ्ना खेलाडीलाई बिदाई गरेको यो पहिलो पटक हो ।
‘मैले फुटबल खेल्दै गर्दा यो सोचेको थिइनँ कि मैले यस्तो बिदाई पाउँछु, अहिले खुसी र दुखी दुवै छु’ भावुक अनीलले भने । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले उनको औपचारिक बिदाई गरेका थिए । मैदानमा उपस्थित समर्थकमाझ अन्तर्रा्ष्ट्रिय खेलपछि भव्य बिदाइको सौभाग्य कुनै नेपाली खेलाडीलाई जुरेको थिएन ।
अन्तिम अन्तर्राष्ट्रिय खेलमा उनले करिव १० मिनेमात्रै खेले । सुजल श्रेष्ठलाई रिप्लेस गरी ८२ औं मिनेटमा मैदान छिरेका अनीलको जोशमा कुनै कमी देखिएको थिए, जुन १० वर्ष अघि ११ कात्तिक २०६४ मा थियो । त्यो त्यही दिन हो, जुन दिन उनले दशरथ रंगशालामा विश्वकप छनोट अन्तर्गत ओमानविरुद्ध डेब्यू गरेका थिए । मंगलबार राष्ट्रिय टिमबाट ५० अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पूरा गरी उनले सन्यास लिएका छन् ।
अन्तरर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि फुटबलबाट टाढिने छैनन् । घरेलु लिगमा अहिले मनाङ मर्स्याङदीमा आवद्ध छन् । ‘सकुन्जेल फुटबल खेल्ने’ आफ्नो योजना रहेको उनले सुनाए । ३१ वर्षीय अनील गुरुङ फुटबलको शहरकै रुपमा स्थापित भएको पोखराले जन्माएको उत्कृष्ट फुटबलरमध्येका एक हुन् । उनी पोखराको प्रतिष्ठित सहारा एकेडेमीका उत्पादन हुन् ।
साहारा फुटबल क्लवबाटै १३ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका उनी पछिल्ला दश वर्ष अधिकांश समय राष्ट्रिय टोलीमै छन् । सन् २०१४ मा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासँगै अन्य सिनियर खेलाडी म्याच फिक्सिङ प्रकरणमा परेपछि उनले नेपालको कप्तानीको जिम्मेबारी पनि निर्वाह गर्दै आएका थिए ।
पछिल्ला दुई वर्ष उनी राष्ट्रिय टिममा स्थान बनाउन संघर्षरत थिए । ढल्किँदो उमेर र फिटनेस समस्याका साथै टिममा युवा स्ट्राइकरहरुको आगमनले राष्ट्रिय टिममा उनको स्थान केहि खुम्चिएको थियो । यसलाई सकारात्मक रुपमा लिँदै उनले सन्यास लिने घोषणा गरे । ‘नयाँ भाइहरुले राम्रो खेलेका छन्, म फुटबलबाट टाढिए पनि नेपाली फुटबलले मेरो समयमा भन्दा राम्रो गर्नेछ’ जाँदाजाँदै उनी आशावादी देखिए ।
१० वर्षअघि राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । पाकिस्तानबिरुद्ध घरेलु शहर पोखरामै २००८ मा भएको मैत्रीपूर्ण खेलमा उनले पहिलो अन्तर्रा्ष्ट्रिय गोल गरेका थिए । सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतबिरुद्ध गोल गरेयता उनी गोलबिहीन छन् । संयोग त अझ के छ भने उनले गोल गरेको कुनै पनि खेल नेपालले हारेको छैन ।
१० वर्षअघि भारतीय क्लब सिलोङ लाजोङमा तीन वर्षका लागि ६३ लाख रुपैयाँमा अनुबन्धित भएका अनील त्यस समयका सबैभन्दा महंगा नेपाली खेलाडी समेत बनेका थिए । अनीलको यस उपलब्धीले त्यतिबेला नेपाली फुटबलका लागि बेञ्चमार्क नै बनेको थियो ।
२०६० सालमा ब्रिगेड ब्वाइज क्लवबाट ए डिभिजन लिगमा डेब्यू गरेका अनीलले २०६३ सालको ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दीबाट सर्बा्धिक गोलकर्ताको पुरस्कार पाए । मनाङले जितेको त्यस लिगमा उनले ३२ गोल गरेका थिए । त्यसअघिको एक सिजन उनले थ्रीस्टारबाट पनि खेले ।
त्यसयता न्युरोड टिम एनआरटी र भारतीय क्लव सिलोङ लाजोङ हुँदै २०६८ सालमा पुनः मनाङ मर्स्याङदी फर्किए । उनकै कप्तानीमा मनाङले २०७० सालको ए डिभिजन लिगको उपाधी जितेको थियो । त्यसयता नेपालमा ए डिभिजन लिग फुटबल आयोजना भएको छैन ।