हेम कुमार राई (सुरबीर) एमाले-माओबादी गठबन्धनको तर्फबाट सोलुखुम्बु प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का उम्मेद्धार हुन् । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्जसमेत रहेका राई जिल्लाको सशक्त नेताको रुपमा परिचित छन् । राईको जन्म विसं २०४० साल पुस १५ गते नेचासल्यान गाउँपालिका वडा नं. ४ मा बुवा नरध्वज राई र आमा स्व. मुगाधनी राईको कोखबाट भएको हो । स्थानीय केदार माविमा कक्षा नौसम्म अध्ययन गर्दै गर्दा २०५६ सालमा माओवादी पार्टीमा आवद्ध भएका उनले त्यसयता सर्वहारा जनताको मुक्ति र देशको रुपान्तरणको अभियान आफुलाई उभ्याइरहेका छन् । पार्टीमा होलटाइमर भएदेखि नै जनमुक्ति सेनाको रुपमा जोडिएका उनले २०५७ साल असारमा ११ सदस्यीय गुरिल्ला स्क्वायर्डमध्ये एक सदस्यको रुपमा जिम्मेवारी सम्हाले । त्यहि सालको मंसिरमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र रामेछापको १५ गाविस जोडेर बनाइएको जिल्ला प्लाटुन सदस्य, २०५८ सालमा पूर्वाञ्चल एक नम्बर कम्पनी प्लाटुन सेक्सन भिसी हुँदै सेक्सन कमाण्डर र प्लाटुन भिसी भए ।
२०५९ सालमा बेथान स्मृति पाँचौं ब्रिगेट कम्पनी सहायक कमाण्डर भएका उनी २०६० सालमा सोही कम्पनीको कम्पनी कमाण्डर भए भने २०६१ सालमा १४औं बटालियन भिसी हुँदै बटालियन कमाण्डरको जिम्मेवारी सम्हाले । आफ्नो अविचलित मिहेनत, लगनशिलता र इमान्दारिताले पार्टीमा निरन्तर पदोन्नत्ति हुँदै आएका उनी २०६२ सालमा सोलुसल्लेरी स्मृति ब्रिगेट भिसी, २०६५ सालमा ब्रिगेट कमाण्डर भएर जनमुक्ति सेनाभित्रको महत्वपूर्ण पदीय हैसियत कायम गर्न सफल भए । यसबीचमा सानो ठूलो गरेर पाँच दर्जनभन्दा बढि प्रत्यक्ष लडाई लडेका राई चार पटक घाइते भएका थिए । २०५८ मा चैनपुर सशत्र बेसक्याम्प आक्रमणको क्रममा पहिलो पटक घाइते भएका उनी २०६९ साल कात्तिकमा रुमजाटार युनिफाइट बेसक्याम्प आक्रमणमा एसल्ट कमाण्डर भएर लड्दैगर्दा गम्भिर घाइते भए । त्यसपछि २०६० सालमा खोटाङ ऐसेलुखर्क भिडन्तमा पुन घाइते भएका उनी बारा जिल्लाको जंगलमा पनि घाइते भएका थिए ।
देश र जनताको मुहार फेर्नका लागि भूमिका खेल्ने तीब्र चाहानाका साथ अघि बढेका उनले जागिर खानुभन्दा जनताकै घरदैलोमा गएर सेवा गर्छु भन्ने संकल्पका साथ सेना समायोजनपछि स्वेच्छिक अवकास लिए । र अब सुरु भयो उनको पार्टी राजनीतिक यात्रा । २०७० सालसम्म आइपुग्दा उनलाई पार्टीले सोलुखुम्बु जिल्लाको संयोजकको जिम्मेवारी दियो । त्यसपछि बीचमा उपचारका लागि केही समय घरमै बसेका उनी २०७३ सालमा जिल्ला इन्चार्जसँगै पछि पार्टीको पोलिटव्यूरो सदस्य भएर क्रियाशिल राजनीति गरिरहेका छन् । निश्चित मुल्य र मान्यताको परिधिमा रहेर राजनीति गर्नुपर्ने धारणा उनको छ । अहिले सुरु भएको वामएकतालाई तार्किक निष्कर्षमा पुर्याएर मुलुकलाई साम्यावादतर्फ उन्मुख गराउन यूवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भन्दै नेता राईसंग गरिएकेा अन्तर्वार्ताको सम्पादित अंशः
आसन्न निर्वाचनका लागि टिकटको व्याग्र प्रतिक्षामा हुनुहुन्छ । खास के कारणले टिकट रोक्ने काम भइरहेको हो ?
दुई वटा ठूलो वामशक्तिहरुको जो कार्यगत एकता भएको छ । त्यसपश्चात दुईटा पार्टीको आकांक्षी उम्मेद्धारहरुको व्यवस्थापन गरेर टिकट वितरण गर्नुपर्ने भएकोले केही समय लागेको हो । दशै तिहार जस्तो महत्वपूर्ण चाडपर्व र आआफ्नो पार्टीको तर्फबाट समानुपातिक उम्मेद्धारी छनोटलगायतका लागि छलफलको आवश्यकता थियो । जसले गर्दा टिकट वितरणमा केही ढिला भएको हो, अरु त्यस्तो खास कारण छैन ।
केन्द्रबाट वाम तालमेलको आह्वान भएपछि सोलुखुम्बु जिल्लामा पनि एमाले र माओवादी केन्द्रबीच सहयात्रा गर्ने प्रयास जारी छ । जिल्लाको सन्दर्भमा चुनावी तालमेल गर्ने आधारहरु चाही के के हुन् ?
मुल कुरा त केन्द्रीय स्तरबाट दुई पार्टीबीच वामपन्थी, प्रगतिशिल शक्तिहरुको एकता र धु्रवीकरण आवश्यक छ । यो समाजलाई परिवर्तन र गति प्रदान गर्नका निम्ति र मुलत राजनीतिक स्थायित्व कायम गर्नका लागि प्रगतिशिल र वाम शक्तिहरु एक ठाउँमा रहनुपर्छ । त्यसले मात्रै नेपालमा अहिलेसम्म प्राप्त उपलब्धिहरु जस्तो संविधानको कार्यान्वयन र समग्रमा देशलाई छोटो समयमा विकासको गति प्रदान गर्न सक्छ भन्ने भावका साथ तालमेल र एकताको मार्गप्रशस्त भयो । यो कसैको विरुद्ध र खिलापमा नभई जनताको जनआकांक्षाको उपज हो । नेपालमा धेरै वटा राजनीतिक पार्टी भन्दा पनि मजबुद्ध एउटा पार्टी आवश्यक छ भन्ने उद्देश्यका साथ माथिबाट एकताको बाटो तय भयो । त्यसको सकारात्मक प्रभाव सोलुखुम्बु जिल्लामा पनि परेको छ । यसबाट सिंगो नेता, कार्यकर्ता र जनतामा उत्साह छाएको छ । यो धु्रवीकरणपछि अहिलेसम्म सोलुखुम्बुमा हुन नसकेका जनसेवा र विकासका कामहरु अब पूरा हुने विश्वास गरिएको छ ।
तालमेलको कुरा भइरहँदा आफ्नै पार्टीकोतर्फबाट उम्मेद्धार छनोट गरिनुपर्छ भनेर धुम्बराही र पेरिसडाँडामा धर्ना र डेलिगेसन त जारी नै छ नि ?
हामीले सुरुमा उम्मेद्धारीका लागि प्रस्ताव गरेकोले सोलुमा वाम एकतापछि पनि संघ र प्रदेश एक नम्बर निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाउनुपर्छ भनेर एमालेका साथीहरुलाई भन्दै आएका हौं । तर, तपाईले भनेजस्तो हामीले टिकटको लागि पार्टी कार्यलय धाउने, धर्ना दिने काम गरेका छैनौं ।
माओवादीले सोलुखुम्बुमा प्रतिनिधि सभा र प्रदेश एक पाउनुपर्छ भन्ने आधार चाँही के ?
यसको आधार के हो भन्दाखेरी सोलुखुम्बु जिल्ला बामहरुकै वर्चश्व जिल्ला हो भन्ने सबैलाई थाहा छ । गत स्थानीय तहको निर्वाचनमा प्राप्त जनमत र समग्र परिवर्तनको आन्दोलनमा जिल्लाका न्यायपे्रमी जनसमुदायको जुन किसिमको साथ सहयोग छ । समग्र मुलुकको परिवर्तनको सम्वाहक शक्ति र आजको जो राजनीतिक उपलब्धिहरु हसिल भएका छन् त्यसमा हाम्रो भूमिका अग्रस्थानमा रहेको थियो । जसले गर्दा अबको समाजबादी व्यवस्थाका लागि आधारहरु तय गर्दै समाजवादी व्यवस्था लागु गर्न पनि हाम्रो नेतृत्वको आवश्यकता छ र त्यसको नेतृत्वदायी भूमिका हामीले खेल्न सक्छौं भन्ने विश्वासका साथ हामीले उम्मेद्धारीको दाबी गरेका छौं ।
त्यो तपाईहरुको मागदाबी भयो । तर, माथिबाट आउने निर्णयलाई चाही सहज रुपमा स्वीकारेर जाने परिस्थिति बन्छ ? प्रष्ट भन्दिनुस् ।
विल्कुल केन्द्रले गरेको कुरालाई मान्ने कुरा हुन्छ । हामी एउटा राजनीतिक संस्कार बसाल्न चाहान्छौं । छलफलमा आआफ्ना मागदाबी हुन्छन् । तर, अन्तत फेरीपनि व्यापक छलफल बहसबाट नेतृत्वले आवश्यक र त्यहाँको परिस्थितिअनुरुप बैज्ञानिक निर्णय गर्नेछ भन्ने हामीले विश्वास गरेका छौं । र हाम्रै नाममा परेपनि नेकपा एमालेका साथीहरुले दत्तचित्त भएर यो गठबन्धनलाई सफल तुल्याउनका निमित्त लाग्नुहुनेछ र एमालेले पाएपनि हामी पनि पूर्ण भरोसा, विश्वास र दृढताका साथ साझा उम्मेद्धारको रुपमा जिताउनका निम्ति कटिबद्ध छौं ।
समानुपातिक उम्मेद्धारका लागि पनि आकांक्षीहरुको सूची लामै थियो, त्यसको अन्तिम टुंगो लागेको हो ?
हो, प्रत्यक्षमा गठबन्धनको साझा उम्मेद्धार बनाइएपनि समानुपातिकमा आआफ्नै उम्मेद्धार बनाउने भन्ने सहमतिअनुसार हाम्रो पार्टी माओवादी केन्द्रको तर्फबाट महिलाबाट सुनिता किराती, जो सहिदपरिवार पनि हुनुहुन्छ र अर्को गोम्बु शेर्पा (कज्र्याङ)को नाम पठाएका छौं । जिल्लाबाट धेरै जना साथीहरुको नाम सिफारिस भएकोमा दुई जनाको नाम बन्दसूचिमा परेको छ । यो सर्वसम्मत निर्णय हो ।
वाम तालमेलको निर्वाचन कार्यक्रम कसरी अघि बढाउनुहुन्छ ?
यस विषयमा अनौपचारिक रुपमा छलफल गर्ने काम भएको छ । संघको लागि जसले टिकट पाउँछ, टिकट नपाउने पार्टीलाई चुनावी कार्यक्रमको नेतृत्व दिएर जाँदा प्रभावकारी हुन्छ भन्ने हाम्रो पक्षको धारणा छ । संघको उम्मेद्धारी टुंगो लागेपछि दुईटै पार्टीबीच छलफल गरेर चुनावी योजना कार्यक्रम बनाउनेछौं । सोलुखुम्बु जिल्लाको सन्दर्भमा भन्दा अहिलेसम्म दुईटा पार्टीबीच अनौपचारिक रुपमा मात्रै छलफल भएको छ । जसले टिकट पाएपनि गठबन्धनको साझा उम्मेद्धार भएको हुनाले कुनैपनि कसर बाँकी नराखी सहयोग गर्ने वातावरण बनाउनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौं ।
प्रदेशको लागि त सहमति भइसक्यो नि होइन ?
हो, प्रदेश सभाको लागि एक नम्बर क्षेत्र एमालेले र दुई नम्बर मओवादी केन्द्रले लिने सहमति भइसकेको छ ।
प्रदेश सभा सदस्यका लागि दुई नम्बर क्षेत्रबाट तपाईको नाम निश्चित भएको छ । तपाईको जित्ने अधार भन्दिनुस् त ?
म जित्ने आधार भनेको पहिलो नम्बरमा हाम्रो पार्टी र सिंगो गठबन्धनकै संगठन राम्रो छ । त्यहाँको भूगोल अनि त्यहाँ बसोबास गर्ने जनताको भावनात्मक प्रतिनिधित्वको हिसाबले र विपक्षी कांगे्रसको उम्मेद्धारभन्दा हाम्रो गठबन्धनको साझा उम्मेद्धार म नैतिक रुपमा, राजनीतिक रुपमा माथि छु । जो हाम्रो गठबन्धनको विपक्षी उम्मेद्धारको रुपमा उठाइएका व्यक्ति त्यहाँको जनताले जनताको सेवक भन्दा पनि एक जना व्यापारीको रुपमा चिन्दछ । जनताको भावना, सेवा, पीडा र विकास निर्माणको लागि उहाँलाई केही थाहाँ छैन । अझ भनौं, राजनीतिमा व्यापारीहरु अवसरको लागि आउँछन्, तर निरन्तर राजनीति गर्दै आएको एउटा राजनीति कार्यकता भनेको जनताको हरदुख, भावना र पीडासँग सदैव जोडिने भएकोले म नैतिक रुपमा माथि छु । मैले आजको मितिसम्मको विसौ वर्षको राजनीतिक जीवन त्यहीको जनताको दुख, सुखमा सँगै जोडिएर जनताकै पक्षमा प्रत्यक्ष लगानी गरेको हुनाले जनताको सहानुभूति ममाथि छ भन्ने मेरो विश्वास छ । अर्को कुरा हाम्रो गठबन्धनको माहोल राम्रो छ । स्थानीय तहको निर्वाचनकै कुरा गर्दा पनि यो निर्वाचन क्षेत्रमा पर्ने चारै वटा गाउँपालिका र अधिकांश वडाहरु जितेको छ । त्यो जनमतले त्यहाँका जनताले पुरानो यथास्थितिवादी शक्ति नेपाली कांगे्रसलाई चाही नरुचाएको देखाउँछ । तसर्थ, हामी वामपन्थी र प्रगतिशिल शक्तिहरुले जित्नुपर्छ भन्ने तीब्र जनआकांक्षा छ । र हामी जित्छौं । हामीसँग जित्ने धेरै आधारहरु छन् । गठबन्धनको विचार र साझा उम्मेद्धार जित्छ भन्नेमा पूर्ण विश्वास, भरोसा छ ।
तपाईले आफ्नो चुनावी एजेण्डाहरु चाँही के के समेट्नुभएको छ ?
हाम्रो बाम गठबन्धनको लागि केन्द्रबाटै संयुक्त घोषणा पत्र आउँदैछ । चुनाव जितेपछि हामी के के गर्छौ, यो समाजलाई रुपान्तरण गरेर सम्बृद्धशाली बनाउन मिमित्त हाम्रो राजनीतिक, सामाजिक एजेण्डा के के हुने त ? आदिवासी, जनजाति, उत्पिडित, महिला, दलित समुदायको अधिकार सुनिश्चितताका सन्दर्भमा हामी के गर्छौ र समग्र मुलुकको प्राकृतिकस्रोत साधानलाई कसरी परिचालन गरेर देशलाई सम्बृद्ध बनाउछौं भन्नेलगायतका कुराहरु त्यो घोषणापत्रमा आउनेछ । त्यसलाई कार्यान्वयन गर्नकै लागि हामी जनताको प्रतिनिधि रुपमा उभिएका छौं । र हाम्रो क्षेत्रको सन्दर्भमा पनि त्यहाँको आम जनताहरुको समस्याहरु, विकास निर्माणका सन्दर्भमा प्रत्येक वडाहरुमा सडक सञ्जाल जोड्ने, जलस्रोतको लागि तीब्र रुपमा अघि बढेका र अध्यायनका शिलशिलामा रहेका प्रोजेक्टहरुलाई जनहितसँग जोड्ने, स्थानीय कृषिलाई आधुनिकीकरण गर्दै जनताको जीवनस्तर परिवर्तन गर्ने विषयहरु, पर्यटन र सञ्चारसँग जोडिएका विषय अनि त्यहाँका अन्य थुप्रै जलजमिन तथा प्राकृतिक स्रोतसाधनहरुको भरपूर सदुपयोग गरेर सम्बृद्ध समाज निर्माणका लागि छुट्टै योजनाबद्ध कार्यक्रम बनाउँदैछौं । अब छिट्टै यी विषयहरुलाई जोडेर बुदागत रुपमा ठोस कार्यक्रम जनताको बीचमा ल्याउनेछौं ।
स्थानीय तहको निर्वाचनबाट उत्पन्न पार्टीभित्र र अहिलेको गठबन्धनभित्रको अन्तर पार्टीबीचको तिक्तता र असमझदारीहरु अझै कायमै छन् । त्यसलाई व्यवस्थापन गर्दै आसन्न निर्वाचनमा खुल्ला दिलले आपसी सहयोग र सहकार्य गर्ने वातावरण निर्माण होला ?
मुख्य कुरा त के हो भने पार्टी केन्द्रले छ बुदामा समझदारी गरेर आइसकेपछि केन्द्रको कार्यक्रम, नीतिलाई कार्यान्वयन गर्ने दायित्व हामी तलको नेता कार्यकर्ताको काँधमा छ । र अर्को कुरा उम्मेद्धारका लागि हिजो आकांक्षा राख्ने धेरै साथीहरु एमालेभित्र पनि र हाम्रो पार्टीभित्र पनि थिए । तर, अहिले दुईटै पार्टीले साझा उम्मेद्धारको रुपमा अगाडि सारिसकेपछि सबै साथीहरु पार्टीको नीति र आदेश हो भनेर सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास र भरोसा छ । कि हामी एउटा पार्टीको सिपाही भइसकेपछि पार्टीको निर्णयलाई मान्नुपर्ने दायित्व र जिम्मेवारी हुन्छ । अब आफ्नो जिल्ला, क्षेत्रमा जाँदाखेरी तलको दुईटै पार्टीका कार्यकर्ता र उम्मेद्धारका लागि आकांक्ष राख्नुभएका साथीहरुलाई म कुनै पार्टीको उम्मेद्धार नभएर गठबन्धनले उभ्याएको साझा प्रतिनिधि भएको हुँदाखेरी विनापूर्वाग्रह र कुनैपनि इगो नराखीकन सम्पूर्ण हिसाबले मलाई सहयोग गर्नुहुनेछ आग्रह गर्दछु ।
सत्ता राजनीतिका लागि तपाईहरुले आआफ्नै तरिकाबाट वार्गेनिङ गरिरहनुभएको छ । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकीकरणसम्मको बहस चलिरहेको सन्दर्भमा पार्टी राजनीति चाँही कसरी अघि बढ्ला ?
हो, मुलुकको परिवर्तन र सर्वहारा जनताका लागि हामी एक हातमा मृत्यु र अर्को हातमा परिवर्तनका लागि दृढ संकल्प बोकेर लडाईमा हिडेका थियौं । यसबीचका स्थिति परिस्थितिहरुमा कतिपय असन्तुष्टीहरु पनि निश्चय पनि यथावत छन् । तर, त्यसलाई पूरा गर्नका लागि अघि बढ्ने क्रममा आजको आवश्यकताअनुरुप हामी सत्ता राजनीतिमा अहिले होमिएका छौं । अहिलेको तालमेल र पार्टी एकीकरणसम्मको बैचारिक बहस त्यसको एउटा माध्यम हो । पार्टी राजनीति होस् या सत्ता राजनीति, मुल कुरा विचार सिद्धान्तको कुरा हो । त्यसैले तालमेलमात्रै नभएर पार्टी एकीकरणको चरणसम्म जाँदाखेरी कसले कुन पद पाउने भन्दा पनि बैचारिक सिद्धान्त र समयको आवश्यकताका आधारमा हामी अघि बढ्छौं । सत्ता राजनीति र पार्टी राजनीति नितान्तै फरक हो ।
@shikharpost